ब्याजदर नघटाए आन्दोलनमा उत्रिने चेतावनी

Read Time = 4 mins

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध देशभरका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । ब्याजदर नघटाए आन्दोलनमा उत्रिने पोखराका होटल व्यवसायीले चेतावनी दिएका छन् । ब्याजदर नघटाए राष्ट्र बैंक र अर्थ मन्त्रालयमा धर्नाका साथै तालाबन्दी गर्ने होटल संघ पोखराले शुक्रबार पत्रकार पत्रकार सम्मेलन गरी चेतावनी दिएको छ । संघले वित्तीय संस्थाद्वारा एकतर्फीरूपमा वृद्धि गरिएको ब्याजदर एक अंकमा झार्न राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई आग्रह गरेको छ ।

संघका अध्यक्ष लक्ष्मण सुवेदीले कोरोना संक्रमण केही मत्थर हुँदै गर्दा पर्यटन व्यवसाय लयमा फर्कने प्रयासमा रहे पनि होटल क्षेत्रको २०-२५ प्रतिशत ‘अकुपेन्सी’ले सञ्चालन खर्च पनि धान्न सक्ने अवस्था नभएको बताउनुभयो । पर्यटक अपेक्षितरूपमा बढ्न नसकेको अवस्थामा होटलहरूले बैंकले प्रदान गरेको कर्जाको किस्ता तथा ब्याज तिर्न सक्ने अवस्थामा नरहेको उहाँको भनाइ थियो । तिर्नुपर्ने दायित्व अर्को वर्षका लागि सारिदिन राष्ट्र बैंकमार्फत् अनुरोध गरिए पनि सम्बोधन नभएको सुवेदीको भनाइ थियो ।

बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज सात प्रतिशतबाट १५ प्रतिशत हुँदै २० प्रतिशतसम्म पुगेको व्यवसायीले बताएका छन् । बैंक तथा वित्तीय संस्थाले ४० प्रतिशतसम्म लाभांश बाँड्दा घाटामा रहेको होटल क्षेत्रलाई भने तर्साउने काम भएको संघका सल्लाहकार बच्चुराम तिवारीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो विषयमा हामी चुप लागेर बस्दैनौं, यस्तै भए अब हामी राष्ट्र बैंक र अर्थ मन्त्रालय घेर्न बाध्य हुनेछौं, राष्ट्र बैंकले गरेको कामका बारेमा हिसाब खोज्छौं ।’ संघका सदस्य भरतराज पराजुलीले चर्को ब्याजदरको मारमा बढी होटल व्यवसायी नै परेको बताउनुभयो । भ्रमण वर्षका नाममा सरकारले नै होटल व्यवसायीलाई लगानी गर्न उक्साएको तर लगानी गरेपछि कोरोना फैलिएर व्यवसाय ठप्प भएकाले बैंकबाट लिएको ऋणको किस्ता र ब्याज तिर्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

संघ गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैरेले व्यवसायी बैंकर हुँदा पनि समस्या आएकोे भन्दै बैंकलाई आधुनिक सामन्तको आरोप लगाउनुभयो । संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले कोरोनाका बेला सरकारले नै दुई वर्ष पर्यटन क्षेत्र बन्द गराएकोमा र अहिले एकतर्फी ब्याज बढाएर वित्तीय आतंक सिर्जना गरिएको आरोप लगाउनुभयो । भक्तपुरका उद्योगी व्यवसायीले पनि ब्याजदर घटाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापनपत्र बुझाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?