चुनावपछि सरकारको नेतृत्वलाई लिएर बहस सुरु

आगामी प्रधानमन्त्री देउवा नै हो-कांग्रेस, माओवादी भन्छ-अब देशमा प्रचण्डको सरकारले नेतृत्व गर्छ

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । आगामी निर्वाचनपछि सत्ता गठबन्धनबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व दाबी गर्ने भएका छन् । गठबन्धनमा आबद्ध प्रमुख दुई दल कांग्रेस-माओवादीले चुनावपछि सरकारको नेतृत्व दाबी गर्ने भएका हुन् । दुवै पार्टीका नेताहरूले चुनावपछि आफ्नो पार्टीको सरकार बन्ने दाबी गर्न थालेका छन् । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चुनावपछि सरकारको नेतृत्व कांग्रेसले गर्ने बताउनुभयो । चुनावपछि कांग्रेसले सबैभन्दा धेरै सिट ल्याउने दाबी गर्दै सरकारको नेतृत्वसमेत कांग्रेसले गर्ने उहाँको भनाइ छ । डा. महतले १६५ सिटमध्ये ९१ सिटमा नेपाली कांग्रेसका उम्मेदवार भएकाले अन्य पार्टीभन्दा धेरै सिट ल्याउने दाबी गर्नुभयो ।

‘मिश्रित निर्वाचन प्रणालीका कारण कुनै एक दलले बहुमत ल्याउन कठिन छ । प्रतिनिधिसभाका ९१ सिटमा कांग्रेसका उम्मेदवार भएकाले सबैभन्दा बढी सिट कांग्रेसले नै जित्छ,’ बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘सरकारको नेतृत्व पनि कांग्रेसले गर्छ ।’ नेकपाकालीन सरकारमा नागरिकले धेरै दुःख पाएको भन्दै उहाँले गफ लगाउनेलाई विश्वास गर्नुभन्दा नबोलेर काम गर्नेलाई मूल्यांकन गर्नुपर्ने बताउनुभयो । सबैलाई मिलाएर जाने कांग्रेसको नेतृत्व देशले खोजेको महतको भनाइ छ । नेता महतले अहिलेको निर्वाचनमा लोकतन्त्र एवं संविधान संरक्षण पक्ष र विपक्ष गठबन्धन भएको भन्दै निर्वाचनमा लोकतन्त्र पक्षधरकै जित हुने पनि दाबी गर्नुभयो ।

कांग्रेस प्रवक्ता महतले चुनावपछि सरकारको नेतृत्व कांग्रेसले गर्ने बताइरहँदा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको भनाइ भने भिन्न छ । उहाँले चुनावपछि सरकारको नेतृत्व माओवादीले गर्ने दाबी गर्नुभयो । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने बताउनुभयो । ‘हामीले सरकारको नेतृत्व गर्छौं । तर, कति र कसरी हुन्छ गठबन्धनमा सहमति गरेर गर्छौं,’ उहाँले भन्नुभयो, ‘हामीले सामाजिक र आर्थिक रूपान्तरणमा नेतृत्वदायी भूमिका खेल्छौँ ।’ उहाँले पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा पार्टी पुनर्गठन गर्ने दाबी गर्नुभयो । पार्टी रूपान्तरण र पुनर्गठन गरेर सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य पूरा गर्ने उहाँको भनाइ थियो । समाजवादी क्रान्ति हाँक्न सक्ने सबै क्रान्तिकारीलाई समेटेर जाने उहाँले उद्घोष गर्नुभयो । उहाँले शान्ति प्रक्रियालाई पूरा गर्दै नयाँ नेपाल बनाउने खाका पूरा गर्नेसमेत बताउनुभयो । अहिलेसम्मको उपलब्धिको रक्षाका लागि सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने उहाँको भनाइ थियो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आफूलाई प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्नुभएको छ । ‘अवसर आयो भने देशको नेतृत्व गर्नुपर्छ र एकचोटि आर्थिक विकासबारे प्रचण्डको धारणा के रहेछ भन्ने स्थापित गर्नुपर्छ’ भन्ने उहाँको भनाइ छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत चुनावपछि माओवादी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने बताउनुभएको छ । गत आइतबार भट्टराईले गोरखा पुगेर चुनावपछि सरकारको नेतृत्व प्रचण्डले गर्ने बताउनुभएको थियो । गठबन्धनमा आबद्ध कांग्रेस-माओवादीबाहेक नेकपा (एकीकृत समाजवादी)ले भने अहिलेसम्म सरकारको नेतृत्व गर्नेबारे केही बोलेको छैन । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले भने देउवा-प्रचण्डले नै आगामी सरकारको नेतृत्व गर्ने संकेत गर्नुभएको छ । ‘वर्तमानका त प्रधानमन्त्री हुँदै हुनुहुन्छ, भविष्यका पनि प्रधानमन्त्रीहरू यहीँ छन्,’ देउवा-प्रचण्डलाई देखाउँदै असोज अन्तिममा काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले भन्नुभएको थियो ।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अब चुनापपछि बन्ने सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने दाबी गर्नुभएको छ । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सत्ता गठबन्धन दलमा सबैभन्दा ठूलो दल कांग्रेस भएको हिसाबले अबको प्रधानमन्त्री कांग्रेस सभापति देउवा नै बन्नेमा कसैले रोक्न नसक्ने जिकिर गर्नुभयो । कांग्रेसभित्र देउवा प्रधानमन्त्री बन्ने कुरामा सर्वसम्मत निर्णय हुने उहाँको दाबी छ । ‘अब एमालेको नेतृत्वमा सरकार बन्दैन । ओलीजी प्रधानमन्त्री बन्नुहुन्न । गठबन्धन दलबाट जोसुकै नेता अघि सरे पनि जनमत बढी भएको दलको हिसाबले अबको प्रधानमन्त्री शेरबहादुर नै बन्नुहुनेछ,’ उहाँले भन्नुभयो, ‘कांग्रेसको नेतृत्वमा सरकार बन्छ ।

शेरबहादुरजी बन्ने कुरामा कुनै दुईमत छैन । कांग्रेसभित्र पनि उहाँलाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न सक्दैन ।’ तत्कालीन नेकपाको करिब दुईतिहाइ बहुमतको सरकार भंग भएपछि बनेको नेपाली कांग्रेस नेतृत्वको सरकार गठन भएपछि कोभिड नियन्त्रणलगायत काम गरेको उहाँले बताउनुभयो । एमालेको घोषणापत्रमा पाँच वर्ष अगाडिकै योजना भएको भन्दै महतले घोषणापत्रमा समेटिएका बुँदाहरू जनतालाई झुक्याउनेभन्दा नयाँ केही नभएको टिप्पणी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?