बलिउड अभिनेत्री सुलोचना लाटकरको निधन

Read Time = 3 mins

एजेन्सी । बलिउडकी दिग्गज अभिनेत्री सुलोचना लाटकरको ९४ वर्षको उमेरमा आइतबार राति निधन भएको छ । गत मे ८ मा रेस्पिरेटरी इन्फेक्सन भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । सुलोचनाले सन् १९४० बाट फिल्मी करियर सुरु गर्नुभएको थियो । उहाँले हालसम्म करिब २५० हिन्दी र मराठी चलचित्रमा अभिनय गर्नुभएको थियो ।

बलिउडमा उहाँले धर्मेन्द्र र अमिताभ बच्चनका अनस्क्रिन आमाको रूपमा अभिनय गरेर चर्चा पाउनुभएको थियो । उहाँको वास्तविक नाम नगाबाई थियो । प्रख्यात मराठी निर्देशक भालजी पेढारकरले उहाँलाई सुलोचना नाम दिनुभएको थियो ।

उहाँले १४ वर्षको उमेरमा कोल्हापुरका एक जमिन्दार आबासाहेब चव्हाणसँग विवाह गर्नुभएको थियो । करियरको सुरुवातमा सुलोचनाले कैयौं हिन्दी र मराठी चलचित्रमा प्रमुख अभिनेत्रीका रूपमा अभिनय गर्नुभयो । यी चलचित्रमा उहाँको अपोजिटमा अशोक कुमार, त्रिलोक कुमार र नाजिर हुसेनजस्ता कलाकारको अभिनय थियो । उहाँले आफ्नो करियरमा कैयौं प्रख्यात अभिनेता र अभिनेत्रीकी आमा अथवा हजुरआमाको भूमिकामा अभिनय गर्नुभयो ।

सन् १९६० देखि ९० को दशकको सुरुवातमा देव आनन्द, सुनिल दत्त, अमिताभ बच्चन, धर्मेन्द्र र राजेश खन्ना जस्ता सुपरस्टारको आमाको भूमिकामा अभिनय गर्नुभयो । उहाँले सन् १९९९ मा पद्मश्री र २००४ मा फिल्मफेयर लाइफ टाइम अचिभमेन्ट अवार्ड पाउनुभयो । सन् २००९ मा महाराष्ट्र सरकारले उहाँलाई प्रतिष्ठित महाराष्ट्र भूषण अवार्ड प्रदान गर्नुभएको थियो ।

उहाँले ‘आए दिन बहार के’, ‘गोरा और काला’, ‘देवर’, ‘जोनी मेरा नाम’, ‘मुकद्दरका सिकन्दर’, ‘तलाश’, ‘आजाद’ जस्ता हिन्दी चलचित्रमा अभिनय गर्नुभएको छ । सन् २००७ मा सिनेमाघरमा आएको चलचित्र ‘परीक्षा’ उहाँको अन्तिम चलचित्र थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?