सन् २०२४ मा फेरि राष्ट्रपतिको चुनाव लड्ने ट्रम्पको बलियो संकेत

हिमालय टाइम्स
Read Time = 5 mins

वासिङटनडिसी । डोनल्ड ट्रम्पले उनी फेरि ह्वाइट हाउसमा फर्कन चाहेको हालसम्मकै सबभन्दा प्रस्टमध्येको एक संकेत दिएका छन्। आयोवा राज्यको सु सहरमा आयोजित र्‍याली सम्बोधन गर्दै उनले सन् २०२४ मा आफू ‘फेरि (लड्ने) एकदमै, एकदमै, एकदमै सम्भावना’ भएको बताए।

अमेरिकी संसद सदस्य तथा कैयन् सिनेट सदस्यहरू चुनिने आगामी साताको निर्वाचनका निम्ति तय भएका चारमध्ये पहिलो र्‍यालीलाई सम्बोधन गर्दै उनले उक्त भनाइ राखेका हुन्।

कडा टक्कर

सो निर्वाचनमा आफ्ना दलका उम्मेदवारका पक्षमा समर्थन जुटाउन राष्ट्रपति जो बाइडन पनि देशभरि घुमिरहेका छन्।

आगामी मंगलवारको निर्वाचनमा न त बाइडन न त ट्रम्प उम्मेदवार छन् तर त्यसको नतिजाले भने अमेरिकी कङ्ग्रेस तथा महत्त्वपूर्ण राज्य गभर्नरका पदहरूमा फेरबदल ल्याइ शक्ति सन्तुलन बदल्दिन सक्छ।

दुई वर्षपछि हुने राष्ट्रपतिय निर्वाचनको निम्ति उक्त परिणामले नौलो अमेरिकी राजनीतिक परिदृश्य स्थापित गरिदिनेछ।

बिहीवार राति रिपब्लिकन दलका नेता ट्रम्पले सन् २०२० को राष्ट्रपति निर्वाचनमा व्यापक धाँधली भएको भन्ने उनका पुराना दाबी पुनः दोहोर्याए।

‘मैले दुई पटक चुनाव लडेँ,’ उनले भने। ‘दुवै पटक मैले जितेँ। दोस्रो पटक त अझ पहिलो पटकभन्दा मेरो प्रदर्शन राम्रो थियो। सन् २०१६ मा भन्दा २०२० मा दशौँ लाख धेरै भोट पाएको थिएँ।’

‘साथै मैले हाम्रो देशको इतिहासमा कुनै पनि सत्तासीन राष्ट्रपतिले भन्दा धेरै भोट पाएँ।’ ‘र अब हाम्रो देशलाई सफल, सुरक्षित र गौरवशाली बनाउन मैले त्यो फेरि गर्ने एकदमै, एकदमै, एकदमै सम्भावना छ।’ ‘अब चाँडै नै,’ उनले भिडलाई भने। ‘तयार हुनुस्।’

सन् २०२० मा ट्रम्पले सत्तासीन राष्ट्रपतिहरूको तुलनामा सबभन्दा धेरै भोट पाएका थिए। तर उनले पाएको ७ करोड २० लाख भोटभन्दा धेरै उनका डेमोक्र्याटिक दलका प्रत्याशी बाइडनले ८ करोड १० लाख भोट पाएका थिए।

बाइडनको पनि तयारी

बिहीवार न्यू मेक्सिको र क्यालिफोर्नियामा प्रचार र्‍यालीमा सामेल बाइडनले सन् २०२४ को निर्वाचनमा आफू पुनस् उम्मेदवार हुनेबारे वरिष्ठ सल्लाहकारहरूसँग कुराकानी थालेका विवरण आएका छन्।

त्यसो भयो भने सन् २०२४ मा पनि सन् २०२० मा जस्तै ट्रम्प र बाइडनबीच टक्कर हुनेछ।

महिनौँदेखि ट्रम्पले फेरि राष्ट्रपतिको उम्मेदवार हुने कि नहुने भन्नेबारे उनको प्रस्ट भनाइ नराखिकन केवल सानातिना सङ्केतमात्रै दिँदै आएका थिए।

अक्टोबरमा टेक्ससमा एउटा र्‍याली सम्बोधन गर्दै उनले ‘शायद मैले फेरि लड्नुपर्छ’ भनेका थिए। सेप्टेम्बरमा पेन्सलभ्यानियामा पनि उनले त्यस्तै टिप्पणी गरेका थिए।

ट्रम्पकी पूर्व वरिष्ठ सल्लाहकार केल्यान कन्वेले बिहीवार वाशिङ्टन डिसीमा आयोजित एक कार्यक्रममा ट्रम्पले यसबारे चाँडै नै घोषणा गर्ने बताइन्। तर सन् २०२४ मा यदि उनले लड्ने विचार गरे भने उनको दलभित्र उनी चुनौतीविहीन भने हुने छैनन्।

रिपब्लिकन दलबाटै उक्त पदका अन्य आकाङ्क्षीमा पूर्व उपराष्ट्रपति माइक पेन्स तथा फ्लोरिडाका गभर्नर रन डे सान्टिस रहेका छन्।

 

  • स्रोत : बीबीसी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?