म्याग्दीका १५ वटा मतदानस्थल अति संवेदनशील

हिमालय टाइम्स
Read Time = 4 mins

ध्रुवसागर शर्मा/हिटा
म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा हिमाली जिल्ला म्याग्दीका १५ वटा मतदान स्थललाई अति संवेदनशील र ५८ वटालाई संवेदनशील वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाका ८२ मतदान स्थलमध्ये १५ वटालाई अति संवेदनशील, ५८ वटालाई संवेदनशील र नौ वटालाई सामान्य समूहमा राखेर सुरक्षा तयारी गरेको जनाएको हो ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले मतदान स्थलको संवेदनशीलताको आधारमा सुरक्षा योजना बनाइएको जानकारी दिनुभयो । ‘मतदान पूर्व, मतदान र मतदानपछिको तीन चरणको सुरक्षा योजना तयार छ ।’ उहाँले भन्नुभयो, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका जनशक्ति र म्यादी प्रहरी परिचालन गरिनेछ ।’

भौगोलिक अवस्था, सञ्चार र यातायातको सुविधा, विगतका चुनावमा भएको घटनाको आधारमा मतदान स्थलहरूलाई वर्गीकरण गरिएको छ । यसैगरी, चुनाव बहिष्कारको घोषणा गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको प्रभाव क्षेत्रलाई पनि सुरक्षाका दृष्टिले संवेदनशील मानिएको छ ।

धवलागिरि गाउँपालिकाको-१ मा पर्ने गुर्जाको जनकल्याण मावि, वडा नम्बर ४ को धवलागिरि आधारभूत विद्यालय बगर र चन्द्रज्योति माविको मतदान केन्द्रमा यातायातको सुविधा पुगेको छैन । रघुगंगा गाउँपालिका-८, घ्यासीखर्कमा सञ्चार सुविधा पुगेको छैन ।

निर्वाचन सुरक्षाका लागि म्याग्दीमा ७३२ जना म्यादी प्रहरी भर्ना भएका छन् । मतदान स्थलको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी, दोस्रोमा सशस्त्र र बाहिरी घेरामा नेपाली सेना रहने गरी नक्सांकन गरिएको छ ।

६ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ११९ वटा मतदान केन्द्र छन् । एक प्रतिनिधि र २ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीनजना पदका लागि १९ जना उम्मेदवारको प्रतिस्पर्धामा छन् । जिल्लामा कुल मतदाता ८६ हजार १२० जना रहेका छन् । प्रदेश १ मा ४८ हजार ४७२ जना र प्रदेश २ मा ३७ हजार ६४८ जना मतदाता रहेका छन् । यसैबीच, जिल्ला म्याग्दीमा निर्वाचन सामग्री आइपुगेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ५८ प्रकारका सामग्री जिल्ला निर्वाचन कार्यालयमा ल्याइपु¥याइएको हो ।

जिल्लामा आइपुगेको निर्वाचनका लागि आवश्यक मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्रीहरू मतदान केन्द्रमा पठाउनका लागि पोका पारिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?