पुस्तक : त्रिलोचनको मुक्तकसंग्रह ‘विनासर्त’

✍️ सुशीला घिमिरे

साहित्यकार त्रिलोचन आचार्यको नवीनतम् कृति मुक्तकसंग्रहका रूपमा हालै सार्वजनिक भएको छ । आचार्य मूलतः पद्यकविताका सर्जक हुनुहुन्छ । उहाँ गतिशील साहित्यकार हुनुहुन्छ, उहाँको लेखनमा निरन्तरता छ । त्यसैले यसो भनिएको हो । नेपाल सरकारको कर्मचारी भएर पनि साहित्यलाई निरन्तर समय दिने स्रष्टामा उहाँ पर्नुहुन्छ । उहाँको हालै सार्वजनिक भएको कृति चाहिँ मुक्तकसंग्रह हो र यसको शीर्षक ‘विनासर्त’ छ । पवित्रा आचार्य प्रकाशक रहनुभएको संग्रहको यो पहिलो संस्करण हो । हालैमात्र अर्थात् २०७९ सालमा प्रकाशित भएको छ । आवृत्ति छापाखाना प्रालि, काठमाडौं यसको मुद्रक छ । पुस्तक डिएमआई साइजमा रहेको छ ।

यस पुस्तकमा सेतो तौलयुक्त कागजको प्रयोग भएको छ । भूमिका खण्डका आठ र पाठ्यखण्डका ८० गरी पुस्तकमा जम्मा ८८ पृष्ठ छन् । पुस्तको मूल्य २५० रुपैयाँ छ । पुस्तकको छपाइ स्तरीय छ र अशुद्धिहरू कमै मात्र छन् । पुस्तकको आवरण आकर्षक छ जुन वसन्तराज अज्ञातले तयार पार्नुभएको छ । आवरण गाढा नीलो पृष्ठभूमिमा रहेको छ । माथि सेतो कुनै अमूर्त कला राखिएको छ र सेता चराहरू उडिरहेको देखाइएको छ । आवरणको केन्द्रीय भागमा पुस्तकको शीर्षक ‘विनासर्त’ ठूला अक्षरमा रहेका छन् ।

त्रिलोचन आचार्यका मुक्तक बढी बौद्धिक छन् र यिनले बौद्धिक पाठक नै खोजेका छन् । यिनले विविधता बोकेका छन् । छन्दमा लेखिएका स्तरीय उच्च कोटिका उहाँका यी मुक्तक पठनीय छन् र ‘विनासर्त’ शीर्षकको उहाँको यो पुस्तक संग्रहणीयसमेत छ ।

शीर्षक सुन्तला रङमा छ । आवरणको तल साना अक्षरमा सेतो रङमा मुक्तककार आचार्यको नाम दिइएको छ ‘त्रिलोचन आचार्य’ भनेर । पृष्ठ आवरणमा मुक्तककार आचार्यको फोटोसहितको परिचय छ । जसबाट उहाँको जन्म २०२१ साल चैत १० गते इन्द्रावती गाउँपालिका १० को सिपाबडहरे सिन्धुपाल्चोक हो भन्ने थाहा हुन्छ । हाल उहाँ बूढानीलकण्ठ १२ काठमाडौंको कपनमा बस्तै आउनुभएको जानकारी पाइन्छ । हमालसम्म उहाँका चारवटा कवितासंग्रह, दुईवटा खण्डकाव्य, एउटा निबन्धसंग्रह र यो मुक्तकसंग्रह गरी आठवटा पुस्तकहरू प्रकाशित भएको थाहा हुन्छ ।

उहाँले हालसम्म विभिन्न आधा दर्जन जति मानसम्मान तथा पुरस्कार प्राप्त गरिसक्नु भएको जानकारी यही पृष्ठ आवरणबाट पाउन सकिन्छ । पुस्तकको भूमिका खण्डमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको ‘शुभकामना’, साहित्यकार नारायण नेपालको ‘मनसाँगु’ र मुक्तककार आचार्यको ‘आफ्नै कुरा’ रहेका छन् । यसपछि मुक्तकहरूको क्रम सुरु हुन्छ ।

मुक्तककार आचार्यभन्दा अगाडि विभिन्न मुक्तककारहरूका मुक्तकसंग्रह धेरै संख्यामा प्रकाशित भइसकेका कारण यसलाई नौलो भन्न नमिल्ने भए तापनि उहाँको ‘विनासर्त’ शीर्षकको मुक्तकसंग्रह हालसम्म प्रकाशित भएका मुक्तकसंग्रहभन्दा नितान्त फरक छ, यसका कारण दुईवटा छन् । पहिलो यो कृतिमा समावेश भएका सबै २४० वटा मुक्तक छन्दका हुन् । यो नै उहाँको फरक प्रयोग हो भने अर्को उहाँले सुरुमा साना र छोटा मुक्तक समावेश गर्नुभएको छ । क्रमशः तिनको आकार छन्दका आधारमा बढाउँदै गएर अन्त्यमा ठूला आकारका मुक्तकहरू समावेश गर्नुभएको छ । यसकारण यो पुस्तकले छुट्टै मौलिक स्वरूप ग्रहण गर्न पुगेको छ ।

मुक्तक कविताको लघुत्तम रूप हो । छोटो छरितो रूपमा प्रस्तुत गर्न सकिने र भाव संप्रेषणका दृष्टिले सहज रूप भएको हुँदा वर्तमानमा मुक्तक कविताको लोकप्रिय उपविधा मानिन्छ । मुक्तकलाई चतुष्पदी पनि भनिन्छ । किनकि यसमा चार पाउ हुन्छन् । पहिलो पाउ र दोस्रो पाउमा अनुप्रास हुन्छ । तेस्रो पाउलाई अनुप्रासविहीन बनाइन्छ र फेरि चौथो पाउमा पहिलो र दोस्रो पाउसँगको अनुप्रासको समन्वय गराइन्छ । यसो गर्नाले मुक्तक आकर्षक बन्छ र भावसबलता पनि पैदा हुन्छ । लेख्न र भावाभिव्यक्तिका लागि सहज भएकाले हालका दिनमा मुक्तक लेखन बढी नै भइरहेको उपविधा हो ।

सामाजिक सञ्जालमा संप्रेषण गर्न सहज हुँनेहुँदा मुक्तक हालका दिनमा प्रसस्तै लेखिने गरेका छन् । तर, त्रिलोचन आचार्यका मुक्तकहरू बढी बौद्धिक छन् र बौद्धिक पाठक नै खोजिएका छन् । उहाँले आफ्ना मुक्तकमा सबै प्रभावको भावाभिव्यक्ति दिनुभएको छ । त्यसैले विविधता यिनले बोकेका छन् । छन्दमा लेखिएका स्तरीय उच्च कोटिका यी मुक्तक पठनीय छन् र ‘विनासर्त’ शीर्षकको उहाँको यो पुस्तक संग्रहणीयसमेत छ । कृतिका लागि मुक्तककार आचार्यलाई बधाई तथा कृतिको सफलताको शुभकामना । साथै अन्यान्य कृतिका लागि उहाँलाई अग्रिम शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?