पुस्तक : ‘काला बादलमा उज्याला पाइला’ दाहालको कविता–किस्ती

✍️ सुशीला घिमिरे

वरिष्ठ पत्रकार, लेखक तथा साहित्यकार, पुरुषोत्तम दाहालको ‘काला बादलमा उज्याला पाइला’ कविता किस्ती हालै प्रकाशनमा आएको छ । प्राध्यापक तथा मानव अधिकारकर्मी दाहाल बहुव्यक्तित्वका धनी हुनुहुन्छ । उहाँको यो पुस्तक डिएमआई साइजमा प्रकाशित भएको छ । यस कवितासंग्रहको प्रकाशक शिखाबुक्स रहेको छ भने यसको वितरक ज्ञानज्योति बुक्स प्रालि रहेको छ । पुस्तक पाहेलो हलुका कागजमा छापिएको छ र यसको छपाइ पनि स्तरीय रहेको छ । पुस्तकमा अशुद्धिहरू कमै मात्र भेटिन्छन् । यसको कम्प्युटर साजसज्जा खड्ग खनालले गर्नुभएको छ । आवरण तथा अन्य तस्वीरहरू अनिमेष दाहालका रहेका छन् । पुस्तकको यो पहिलो संस्करण हो जुन यही असोज महिनामा प्रकाशित भएको छ ।

यस पुस्तकमा भूमिका खण्डमा २० र पाठ्य खण्डमा १५८ गरी जम्मा १७८ पृष्ठ रहेका छन् । यसको मूल्य ३६० रुपैयाँ छ । पहिलो संस्करणमा ११०० प्रति प्रकाशित भएको छ । एलायन्स प्रिन्टर्स एण्ड मिडिया हाउस प्रालिबाट यसको मुद्रण भएको छ । पुस्तकको आवरण आकर्षक छ । पृष्ठभूमिमा समुद्रमा उदाइरहेको सूर्य देखिन्छ । माथि आकाश रहेको छ र त्यसमा काला बादलका थेग्लाथेग्ली देखिन्छन् । आवरणको तल्लो किनारमा मानिसका पाइलाहरू देख्न सकिन्छ । माथि ठूला सेता अक्षरमा पुस्तकको नाम ‘काला बादलमा उज्याला पाइला’ भनिएको छ र त्यहीनेर साना अक्षरमा कोष्ठकमा ‘कविता–किस्ती’ भनिएको छ । तल कविको नाम सेता साना अक्षरमा ‘पुरुषोत्तम दाहाल’ भनेर दिइएको छ ।

पुस्तकको भूमिका खण्डमा प्राडा कुमारप्रसाद कोइरालाको ‘पुरुषोत्तम दाहालका शक्तिशाली कविता’ शीर्षकमा मन्तव्य राखिएको छ । भूमिका खण्डमै कवि कलानिधि दाहालको ‘शुभेच्छाका केही शब्द’ शीर्षकमा यस पुस्तकका बारेमा लेखिएको विचार रहेको छ ।

पुस्तकको पृष्ठ आवरणमा कवि दाहालको तस्वीरसहित उहाँको छोटोमा परिचय दिइएको छ । जसअनुसार उहाँ माता टुककुमारी र पिता पं. रत्नप्रसाद दाहालका छोरा हुनुहुन्छ । उहाँ ओखलढुंगाको हालको सिद्धिचरण नगरपालिका–७ (साविक बिगुटार गाविस–७) मा सन् १९५८ मा जन्मिनुभएको र हाल काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१० कपनमा बस्तै आउनुभएको छ । राजनीति शास्त्रको एम.ए उहाँ केही वर्ष पहिले प्रध्यापक पदबाट सेवा निवृत्त हुनुभएको छ । हाल उहाँ हिमालय टाइम्स राष्ट्रिय दैनिकको प्रधानसम्पादक तथा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ । नेपालका ७५ जिल्ला र विभिन्न ११ वटा मुलुकको भ्रमण गरिसक्नु भएका दाहालका यसपूर्व संयुक्त र एकल गरी नौवटा पुस्तकहरू प्रकाशित भइसकेका छन् । जसमा कविता, कथा, निबन्ध, उपन्यास तथा आत्मकथा र विचारप्रधान लेखनहरू रहेका छन् ।

पुस्तकको भूमिका खण्डमा प्राडा कुमारप्रसाद कोइरालाको ‘पुरुषोत्तम दाहालका शक्तिशाली कविता’ शीर्षकमा मन्तव्य राखिएको छ । उहाँले कवि दाहाल र यस पुस्तकमा संगृहीत कविताहरूका बारेमा यहाँ विस्तारमा चर्चा गर्नुभएको छ । यस अगाडि कवि दाहालले आफ्नो नातिको मुस्कुराइरहेको फोटो दिनुभएको छ र त्यहाँ ‘अर्कै भूगोलमा मुस्कुराइरहेको यौटा तारा नाति श्रीयमलाई मेरो सिर्जनाको यो कोसेली’ भन्नुभएको छ । भूमिका खण्डमै कवि कलानिधि दाहालको ‘शुभेच्छाका केही शब्द’ शीर्षकमा यस पुस्तकका बारेमा लेखिएको विचार रहेको छ । त्यसपछि कविको ‘आभारका केही शब्द’ रहेको छ । त्यसपछि विषय सूची रहेको छ र विषयसूचीपछि कविताक्रम सुरु हुन्छ ।

यस किवतासंग्रहमा ४० वटा कविता संगृहीत छन् । यस कविताको बाहृय पक्षलाई हेर्दा उहाँले धेरै छोटा पनि होइन र धेरै लामा पनि होइन बीचका अथवा मझौला लम्बाइमा कविताका शीर्षकहरू चयन गर्नुभएको छ । उहाँका ४० वटा कवितामा एक शब्दको शीर्षकका तीन, दुई शब्दका १४, तीन शब्दका ११, चार शब्दका ६, पाँच शब्दका पाँच र छ शब्दका शीर्षकका एकवटा कविता रहेका छन् । यसबाट उहाँको मझौला आयामका शीर्षक छनौट गर्ने प्रवृत्ति देखा पर्दछ ।

यसैगरी उहाँको कविताको फैलावट वा आयाम हेर्दा एक पृष्ठका चार, दुई पृष्ठका आठ, तीन पृष्ठका आठ, चार पृष्ठका सात, पाँच पृष्ठका पाँच, छ पृष्ठका एक, सात पृष्ठका तीन, आठ पृष्ठका दुई र नौ पृष्ठका दुईवटा कविता रहेका छन् । यसबाट उहाँका केही पद्य तथा गीति शैलीका कविताबाहेक अन्य मुक्तलयका कविता वा गद्य कविताहरू अलिक लामै छन् भन्नुपर्ने हुन्छ । फैलावटका आधारमा लामा भन्नुपर्ने भए तापनि एक लहरमा सरर अगाडि बढेका यी कविताहरू पढ्दा धेरै समय लाग्दैन । कविता सुललित तथा अर्थपूर्ण छन् ।

त्यसैले पनि कविताहरू पढ्दा रमाइला छन् र पढिरहन मन लाग्ने खालका छन् । कविता प्रतिपला नयाँ लाग्छन्, योग्यता अब के भयो ?, समय र सम्बन्ध, आजको नायक, डनडन डमरु धनधन भकारी, फरक रहर, मैले भोगेको कोरोना, कोरोनाको बन्दी, घाटको भरिया घट्टे, मान्छे, विचार बेच्नेहरू बढे, यौटा रुद्र यहाँ आऊ, नेता सधैँ मालिक शीर्षकका कविताहरू गीति लयमा तथा छन्दमा रहेका छन् । संग्रहका बाँकी कविताहरू मुक्त लयमा अथवा गद्यमा छन् । यस संग्रहका कविताहरूको आन्तरिक पक्षलाई ध्यान दिँदा संग्रहमा समेटिएका सबै कविता भावपूर्ण र पठनीय छन् । बोधगम्य र लाक्षणिक अर्थ प्रदान गर्ने चरित्र सबै कवितामा छ । ‘ऋतुचक्र’ कविता पनि उहाँको एउटा लषणामा लेखिएको कविताको दृष्टान्त हो । कविता यस्तो छ :
मुना भएर उदाउँदा
परबाट
हिमाल मुस्कुराइरहेको थियो
प्रसवपीडा अनुभव गरेर
विशालकाय वृषले
म वर्षभरि पात भएँ
र अहिले
पहेंलिँदै झर्नै लागेको छु
दिन
र रातहरूसँग
ऋतुहरू घुमि नै रहन्छन् चक्र जस्तै
यात्रा चलिरहेछ
र आज फेरि
मुना भएर पलाउन खोजिरहेछु ।
यस कवितामा मानव जीवनको गति प्रतिबिम्बित भएको पाइन्छ । यो त एउटा नमुना किवितामात्र हो । यस्ता लाक्षणिक भावका कविताहरू यस संग्रहमा अरू पनि धेरै पाउन सकिन्छ ।

बालवात्सल्य, प्रकृति चित्रण, राजनीति र राजनीतिक व्यंग्य, मानवता, मानवीय संवेदना, समाज चित्रण, प्रेम, आशावादी सोच, चिन्तन दर्शन, निराशा, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विसंगति र विकृतिको प्रकटीकरण उहाँका कवितामा पाइन्छ । यसका साथै वियोग, अन्तरविरोध, विचलित विचार, वैमनस्यता, भय तथा क्रोध जस्ता भावबाट पनि यस संग्रहका कविता संप्रेषित छन् । कविताहरूमा मानवीय संवेग छ, जीवनमुखी र समाजमुखी छन् यी कविता । मानवीय चेतनाको आक्रोसपूर्ण अभिव्यक्ति पनि कवितामा पाउन सकिन्छ ।

बालवात्सल्य, प्रकृति चित्रण, राजनीति र राजनीतिक व्यंग्य, मानवता, मानवीय संवेदना, समाज चित्रण, प्रेम, आशावादी सोच, चिन्तन दर्शन, निराशा, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विसंगति र विकृतिको प्रकटीकरण यस संग्रहका कवितामा पाइन्छ ।

यहाँ संगृहति कवितामा निराशाभित्र पनि आशावादी सोच रहेको छ । त्यसैले त कवि दाहाल भन्नुहुन्छ, ‘दलीय विकृत राजनीतिबाट हामी मुक्त हुनुपर्छ ।’ कवि दाहादबाट एउटा पठनीय पुस्तक सिर्जना भएको । यो कृति पठनीय र संग्रहणीय बनेको छ । कवि दाहाललाई कृतिका लागि बधाई तथा कृतिको सफलताको शुभकामना । साथै उहाँको सहित्यिक सिर्जनशीलताका लागि पनि अग्रिम शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?