पुस्तक : ‘आयान कुर्दी’ : फरक स्वाद र शीर्षकको कवितासंग्रह

हिमालय टाइम्स
Read Time = 7 mins

✍️ सुशीला घिमिरे

‘आयान कुर्दी’ शीर्षकको कवितासंग्रह छ अहिले मेरा हातमा । यो शीर्षक मलाई अनौठो लागिरहेको छ । यो यस कविता संग्रहको शीर्ष कविता पनि हो र कविले यस कवितालाई संग्रहको अन्तिम कविता बनाउनु भएको छ । यो पुस्तक डिएमआई साइजमा छ । भृकुटी एकेडेमिक पब्लिकेसन प्रकाशक रहेको यो पुस्तक पब्लिकेसनको २५औं वर्ष सन्दर्भ पारेर छापिएको छ । पुस्तक प्राज्ञिक उन्नयनमा समर्पित छ । यसपछि भृकुटी प्रकाशनका अन्य प्रकाशनहरूको सूची दिइएको छ । सर्बाधिकार कविमै रहेको यस कविता कृतिको वितरक भृकुटी पुस्तक रहेको छ भने आवरण प्राची अधिकारीले तयार पार्नु भएको छ ।

स्पिन्टर प्रालि बालाजुमा मुद्रण भएको यस पुस्तको आवरणमा हल्का पानी रंगमा समुद्र, समुद्र किनार र त्यसको किनारमा मृत आवस्थाको एक जना शिशु रहेको छ । यो यथार्थ घटनामा आधारिक चित्र हो र यही हृदयविदारक घटनामा मृत्यु वरण गर्न पुगेको शिशुकै नामबाट यस कृतिका एउटा कविता रहेको छ ‘आयान कुर्दी’ र यही पुस्तकको पनि शीर्षकका रूपमा आएको छ । पुस्तक भूमिका खण्डसहित ११२ पृष्ठको छ । पहेंलो हल्का कागजमा छापिएको यस पुस्तको मूल्य २९५ रुपैयाँ र विदेशमा १५ युएस डलर छ ।

पुस्तकको छपाइ स्तरीय छ र अशुद्धिहरू कमै मात्र पाइन्छन् । पृष्ठ आवरणमा फोटोसहित कविको छोटकरीमा चिनारी दिइएको छ । जसमा उहाँको साहित्यिक योगदानको उल्लेख भएको छ । पेशा प्राविधिक भएर पनि रुचि साहित्यमा राख्दै आउनु भएका अधिकारीका यसपूर्व पनि केही पुस्तकहरू प्रकाशित भएका छन् । स्थूल कृतिबाहेक उहाँका फुटकर लेख रचनाहरू पनि बाक्लै प्रकाशित भएका देखिन्छन् । यसका साथै उहाँले केही पत्रिकाहरूमा स्तम्भ लेखन र सम्पादनको जिम्मेवारी पनि पूरा गरिसक्नुभएको पाइन्छ । यस पृष्ठको तल पुछारमा प्रकाशक भृकुटी एकेडेमिक पब्लिकेसनको लोगोसहित ठेगाना न्यूप्लाजा पुतलीसडक उल्लेख गरिएको छ । दायाँतिर बारकोडसहित पुस्तकको मूल्य उल्लेख गरिएको छ ।

पुस्तकमा ४४ वटा कविताहरू समेटिएका छन् । कविताका शीर्षकहरू हेर्दा एक शब्दका छोटादेखि सात शब्दका लामा शीर्षकसमेत पुस्तकका रहेका छन् । एक शब्दका १३ वटा दुई शब्दका चारवटा, तीन शब्दका सातवटा चार शब्दका ११ वटा, पाँच शब्दका पाँचवटा, छ शब्दका दुईवटा र सात शब्दका दुईवटा शीर्षकहरू यस संग्रहमा रहेका छन् । कवि अधिकारीका कविताहरू अलिक भिन्न स्वादका पाइन्छन् । उहाँले फरक खालका विषय वस्तु समेट्नु भएको छ । लेखन शैली र शिल्प पनि उहाँको अलिक पृथक नै छ ।

उहाँका कविताको फैलावटलाई हेर्दा उहाँका धेरैजसो कविताहरू छोटा छन् । एक पृष्ठमा र केही दुई पृष्ठमा समेटिएका छन् । कुनै-कुनै कविताहरू तीन पृष्ठमा समेटिएका छन् भने चार पाँच पृष्ठसम्म फैलिएका कविता कम छन् । एक पृष्ठको फैलावटमा पाँच, दुई पृष्ठमा २४, तीन पृष्ठमा ११, चार पृष्ठमा तीन र पाँच पृष्ठको फैलावटमा एकवटा कविता छन् । कविमा अन्तर्राष्ट्रिय चासो र अध्ययन बढी छ । कविले प्रकृति, यौन, प्रेम, सामाजिक संगतिविसंगति, व्यंग्य, विद्रोह, चेतना, निर्देशन, सुझावजस्ता कुरालाई कविता लेखनका विषय बनाउँछन् ।

तर, कवि अधिकारीले भने अन्र्ताष्ट्रिय घटना र परिवेशलाई पनि कविता लेखनको विषय बनाउनु भएको छ । यसलाई कविको अध्ययनको दायरा फराकिलो भएको मान्न बाध्यय हुनुपर्छ । उहाँको यस संग्रहका केही कविताहरू पूर्वप्रकाशित हुन् । यस संग्रहमा संगृहीत हुनुपूर्व उहाँका कविताहरू परिवर्तन, आजको आकाश, मधुपर्क, संसार, जनमत, विपुल, साहित्य सन्ध्या (कविता आन्दोलन), वेदना, शब्दसंयोजन, शारदालगायत पत्रिकाहरूमा प्रकाशित भएका तथा साहित्यिक संस्थाहरूद्वारा आयोजित कार्यक्रममा वाचन गरिएका कविता हुन् ।

उहाँद्वारा सिर्जना भएका यहाँका कविता रचना गर्दाको स्थान पनि उहाँले यस संग्रहमा उल्लेख गर्नुभएको छ । त्यतिमात्र होइन रचना साल र सन्दर्भसमेत उल्लेख गर्न उहाँले छुटाउनु भएको छैन । क्यानडा, पोखरा, हेटौंडामा पनि केही कविता रचना भएका छन् तर कवि स्थायी रूपमा काठमाडौंमा बस्नुभएका कारणले हुनसक्छ उहाँका अधिकांश कविताहरू काठमाडौंमा रचना भएका छन् । २०३८ सालदेखि २०७२ सालको साढे तीन दशकको लामो अन्तरालमा रचना भएका कविता यहाँ समेटिएका हुँदा कविको बीस वर्षे उमेरदेखि पचपन्न वर्षे उमेरसम्मका भावाभिव्यक्तिका कविता यहाँ छन् ।

क्रान्तिचेत, विद्रोह, जीवनजगत, अग्रजप्रति आस्था र सम्मान, समसामयिक समयचेत, राजनीतिप्रतिको छेडछाड, राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशलाई समेट्न सक्ने सामथ्र्य आदि जस्ता कविका लेखकीय प्रवृत्ति तथा विशेषताहरू कवि अधिकारीको ‘आयान कुर्दी’ शीर्षकको यस कविता संग्रहमा पाइन्छ । कविलाई बधाई तथा शुभकामना । यसका साथै यस्तै अन्य कृति सिर्जनाका लागि पनि उहाँलाई शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?