पुस्तक : सहकार्य र सहकारितामा जोड दिने ‘अभ्यास’

हिमालय टाइम्स
Read Time = 10 mins
A A- A+

✍️ डा. शिवजी सापकोटा

नयाँ पुस्तक ‘अभ्यास’ आफ्नो पृथक पहिचान र फरक स्वादसहित बजारमा आएको छ । पुस्तकमा मानवजीवन र जगतका विभिन्न पक्षहरूको चर्चा गरिएको छ । मानव समाजको विगतदेखि वर्तमानसम्मको अवस्थाको चित्रणसँगै मानव अन्तर सम्बन्धको विविध स्वरूपहरूको चर्चा गरिएको छ । बहुविधालाई समेटेको यस पुस्तकलाई विज्ञान, दर्शन, शिक्षा, विकास, अध्यात्म, समाजशास्त्र, मानवशास्त्र, राजनीतिक अर्थशास्त्र जस्ता फरक-फरक आयामबाट हेर्न सकिनेछ ।

मानव प्राणीले अपेक्षा गरे जस्तो परिवर्तन कसरी सम्भव होला भन्ने विषयमा खोजी गर्ने क्रममा लेखक बाबुराम भुसालले यस्तो अपेक्षित परिवर्तनका लागि मानवपदार्थले आफ्नो पदार्थीय पहिचान र पदार्थीय कार्य विशेषता अनुसार कार्य गर्न उक्त पदार्थले आफ्नो जैविकयन्त्रमा अपेक्षित सक्रिय क्षमताको उत्पादन गर्ने खास अभ्यासका उपायहरू अवलम्बन गर्नुपर्ने चर्चा गरेका छन् । साथै त्यस्ता अभ्यासका उपायहरू बारे उल्लेख गरेका छन् । अभ्यासका विभिन्न उपायहरू बारे चर्चा गर्ने क्रममा संगठनात्मक अभ्यासको विषयमा उल्लेख गरेका छन्, जसमा सहकार्य र सहकारितालाई विशेष जोड दिने अभ्यासमा विषयवस्तु केन्द्रित गरेका छन् ।

हरेक व्यक्तिको आफ्नो आफ्नो जीविकोपार्जनसँग सहकारी संगठनात्मक क्रियाकलापको अपरिहार्य सम्बन्ध किन छ भन्ने कुराको बोध यस पुस्तकको अध्ययनबाट हुनसक्छ । समग्रमा यस पुस्तकबाट हरेक व्यक्ति व्यक्तिमा सहकारी जागरण पैदा गर्न सक्ने देखिन्छ ।

त्यसो त विद्यमान अवस्थामा पनि सहकारी अवधारणा आफैँमा नौलो होइन । सहकारीको अर्थ, मर्म, परिभाषा, सहकारीका सिद्धान्तहरू, सहकारी सञ्चालनप्रक्रिया, सहकारीले दिने सेवासुविधा, सहकारी व्यवस्थापन, सहकारी लेखाप्रणाली, सहकारीको संस्थागत सुशासन जस्ता विषयमा विभिन्न पुस्तक, लेखहरू, प्रतिवेदनहरू प्रकाशन हुँदै आएका छन् साथैसाथै तालिम र गोष्ठीहरूमा पनि यिनै विषयमा चर्चा परिचर्चा हुँदै आएका छन् । पछिल्लो समयमा वित्तीय साक्षरता, उद्यमशीलता तथा सीप विकाससम्बन्धी तालिम पनि सहकारी संस्थाका सरोकारवालाका लागि सञ्चालन हुँदै आएको पाइन्छ ।

सँगसँगै सहकारी क्षेत्रसम्बन्धी ज्वलन्त जिज्ञासाहरू थपिँदैछन् । हरेक व्यक्तिको जीवन र जगतको परिवर्तन प्रवाहमा ती हरेक व्यक्तिले गर्ने सहकारी संस्थागत क्रियाकलापको के सम्बन्ध छ ? कतिपय देश वा समाजमा सहकारी क्षेत्रभन्दा निजी क्षेत्रले अर्थतन्त्रको मुख्य हिस्सा ओगटेको छ भन्नुको मतलव सहकारी क्षेत्रको महत्व निजी क्षेत्रभन्दा कम भएको हुनाले हो ? कतिपय देश वा समाजमा सहकारी क्षेत्र संकटमा रहेको वा सहकारी क्षेत्रमा विचलन आएको छ भन्नुको मतलव सहकारी क्षेत्र नै खराब हो ?

सहकारी क्षेत्र हरेक व्यक्ति, समाज, देश वा मानवजगतको अभिन्न अंग बन्न किन जरुरी छ ? सहकारी क्षेत्रको विद्यमान सञ्चालन, नियमन र नीतिगत व्यवस्थाको आधारमा सहकारी क्षेत्र साँच्चै उभो लाग्ने अवस्था छ ? सहकारी क्षेत्रका नियामक, सञ्चालक तथा जिम्मेवार को हुन् ? उनीहरूको भूमिका के हो ? सहकारी क्षेत्रबाट हरेक व्यक्तिका अधिकांश आवश्यकताहरू परिपूर्ति हुन सम्भव छ कि छैन ? सहकारी क्षेत्र अगाडि बढ्दा यसले उद्यमशीलता, जीविकोपार्जन तथा अर्थतन्त्रलाई जगैदेखि बलियो बनाउन कसरी सहयोग पुग्छ ?

सहकारी क्षेत्रले मानव अन्तरसम्बन्धलाई कसरी जोड्छ ? समाज व्यक्तिवादिता, परनिर्भर सम्बन्ध, अस्वस्थ प्रतिस्पर्धा, व्यक्तिगत स्वार्थमा आधारित सम्बन्ध, व्यक्तिगत तथा वर्गीय वर्चश्व कायम राख्ने सोचतर्फ अगाडि बढिरहँदा सहकारिता कसरी जीवन्त रहन सक्ला ? अभ्यास पुस्तकमार्फत यस्ता जिज्ञासा, चिन्ता तथा चासोको तथ्यपरक जवाफ खोज्ने प्रयास गरिएको छ ।

नेपाल जस्ता अल्पविकसित मुलुकमा सहकारी क्षेत्रको महत्व र मूल्य कम भएकोले अर्थतन्त्रमा निजी क्षेत्र हावी भएको होइन । सहकारी क्षेत्रले अर्थतन्त्रमा आफ्नो उपस्थितिलाई मजबुत बनाउन नसक्दा निजी क्षेत्र अगाडि देखिएको हो । निजी क्षेत्रमुखी अर्थतन्त्रलाई किन सहकारीमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्नेछ र यो कसरी सम्भव छ भन्ने कुरा यस अभ्यास पुस्तकमा स्पष्ट पारिएको छ ।

विद्यमान अवस्थामा सहकारी संस्थामा हुने गरेका नियमित गतिविधिमा तथा सहकारी संस्थाहरूले जुनसुकै अप्ठ्यारासँग जुधिरहेको अवस्थामा त्यस संस्थाका पदाधिकारी तथा कर्मचारीले चिन्ता तथा चासो लिने गरेका हुन्छन् तर शेयर सदस्यहरू ती गतिविधि तथा अप्ठ्याराबारे बेखबर रहेको देखिन्छ । विद्यमान अवस्थामा पनि तरलता अभाव, कर्जा जोखिम जस्ता अप्ठ्यारा सहकारी संस्थाहरूले भोग्दै आएको देखिन्छ ।

सहकारी संस्थाको कारोबार अवस्था स्वस्थ रहे शेयर सदस्यहरू ती सहकारी संस्थाहरूमा आबद्ध रहन्छन् तर केही दूरावस्थाको संकेत देखिए शेयर सदस्यहरूले आफ्नो शेयर आबद्धतासमेत त्यागिदिन्छन् । दूरावस्थाको हल गर्ने जिम्मेवारीको भार सञ्चालक तथा कर्मचारीले बोकेको देखिन्छ । शेयर सदस्यहरूलाई आफू आबद्ध भएको सहकारी संस्थामा निर्णायक, नियामक र जिम्मेवार बनाउन सकिएमा कतिपय अप्ठ्याराहरू आउँदै नआउने वा आए पनि छिटो समाधान हुन सक्ने देखिन्छ । अभ्यास पुस्तकको अध्ययनले यस विषयमा गहिरो अन्तर्दृष्टि प्रदान गर्न सक्छ ।

सहकारी संस्थामा आबद्ध शेयर सदस्यहरूबीच समेत विद्यमान अवस्थामा परनिर्भर सम्बन्ध, व्यक्तिगत स्वार्थमा आधारित सम्बन्ध, सामूहिक भावनाको कमी, आपसी प्रतिस्पर्धा, जितहार अर्थात् आफ्नो वर्चश्वको लागि जस्तोसुकै क्रियाकलाप गर्ने प्रवृत्ति तथा अवस्था देखिन्छ । कस्तो प्रकृतिको संगठनात्मक अभ्यास गर्दा यस्ता अवस्थाहरू स्वतः निस्तेज हुन्छन् भन्ने कुराको बोध गर्न अभ्यास पुस्तक फलदायी हुनसक्छ ।

सामान्यतया धेरैजसो सहकारी संस्थाहरूमा शेयर सदस्यहरू बचत तथा कर्जा कारोबारका लागि मात्र आबद्ध भएको देखिन्छ । शेयर सदस्यहरूले आफू आबद्ध रहेको सहकारी संस्थामार्फत आवश्यक अन्य वस्तु तथा सहजीकरण सेवा प्राप्त गरी उद्यम सञ्चालन गर्न र उद्यमबाट उत्पादित वस्तु तथा सेवा पनि आफू आबद्ध सहकारी संस्थामा रहेका शेयर सदस्यहरूले नै खपत गर्ने गरी एक अर्कामा अन्तरनिर्भर सम्बन्ध स्थापित गर्न सम्भव छ ।

शेयर सदस्यले आफ्ना अधिकांश आवश्यकता आफू आबद्ध रहेको सहकारी संस्थामार्फत नै परिपूर्ति गर्न सम्भव छ । यो कसरी सम्भव छ भन्ने कुरा अभ्यास पुस्तकमा विस्तृत रूपमा उल्लेखित छ । हरेक व्यक्तिको आफ्नो आफ्नो जीविकोपार्जनसँग सहकारी संगठनात्मक क्रियाकलापको अपरिहार्य सम्बन्ध किन छ भन्ने कुराको बोध यस पुस्तकको अध्ययनबाट हुनसक्छ । समग्रमा यस पुस्तकबाट हरेक व्यक्ति व्यक्तिमा सहकारी जागरण पैदा गर्न सक्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?