छोराको बोली सुन्न प्रतीक्षा गरिरहेकी एउटी आमा

आमा तपाईंको इच्छा के छ अहिले ?
मीठो खान चाहनुहुन्छ कि राम्रो लुगा लाउने हो कि ? कतै तीर्थाटनमा जाने छ कि ? राम्रो मोटर चढ्ने र भव्य घरमा बस्ने के इच्छा छ ?
मेरो त्यस्तो केही इच्छा छैन । मलाई मेरा छोराहरूले ढोकामा आएर एक वचन आमा भनेर बोलाइदिऊन् त्यतिमात्रै सुन्ने इच्छा छ । अरू छोरीहरू पनि आएर मलाई आमा भनेर बोलाए पुग्छ ।

आफ्नो घरमा जान मन छैन ?
अहँ म अब जान्न । मलाई यो ढोकाबाट बाहिर जाने मन छैन । मलाई मेरी जेठी छोरी र ज्वाइँले राम्रो स्याहार गरेका छन् । अरूले यसरी मेरो स्याहार गर्न सक्दैनन् । तिनीहरूमा यस्तो ल्यागत र सोच नै छैन ।

तपाईंका कति सन्तान छन् त ?
मेरा कोखका एक छोरा तीन छोरी । अर्को पनि छोरा छ ।

अनि छोराले तपाईंको रेखदेख गर्दैनन् ?
रेखदेख गरेका भए म किन यहाँ बस्थेँ र ? मेरो त्यत्रो सम्पत्ति थियो, मेरा श्रीमान्ले कमाएको । तर यो अशक्त भएर वृद्धत्वमा पुगेका समयमा त्यसको मलाई केही काम भएन । छोराहरूले नै उपभोग गरिरहेका छन् त्यो सम्पत्ति । मलाई केही काम लागेन ।

चैरासी वर्ष पुगेर उहाँ अहिले पचासीमा हिँड्दै हुनुहुन्छ तर उमेर र समय जति कुदे पनि उहाँको शरीरले हिँड्न छाडेको, पाइला नटेकेको धेरै भयो ।

म घट्टेकुलोस्थित नइप्रकाशनको घरमा पुग्दा ढोका खोल्नासाथ एक जना श्वेत शुभ्र वृद्धासँग भुइँतलामा नै मेरो भेट हुन्छ । मैले उहाँका विषयमा यसअघि कतिपय सन्दर्भमा साहित्यकार द्वय नरेन्द्रराज प्रसाईं र इन्दिरा प्रसाईंका आलेख र सामाजिक सञ्जालहरूबाट सामान्य जानकारी पाएको थिएँ तर मेरो भेट त्यसरी होला भनेर सोचेको थिइन ।

समयको चक्र विचित्र हुन्छ । प्रत्येक मान्छेको जीवन अनेक घुम्ती पार गर्दै आफ्नो अन्तिम समयको अन्तिम प्रतीक्षा गरिरहेको हुन्छ । चक्रवत् परिवर्तन्ते सुखानी च दुखानी च । तर वृद्धाको अनुहारमा अद्भूत आकर्षण छ, कष्टको लेषमात्र देखिँदैन । सबै चीज पाएर, गुमाएर र नपाएर पनि आजको यो अवस्थाप्रति कुनै गुनासो छैन ।

मैले बिस्तारो उहाँका विषयमा केही जानकारी लिने प्रयास गरेँ । करिब एक घण्टा म उहाँको सामिप्यमा बस्ता मेरी आमालाई सम्झिरहेँ । तर फरक अवस्थामा हुनुहुन्छ मेरी आमा । हामी आर्थिक रूपले विपन्न परिवारका । जे सकेका छौँ आमा त्यसैमा सन्तुष्ट रहनुभएको छ । आमाले केही गुमाउनु भएको छ भने पिताजीको छत्रछायाँ मात्र । अरू हामी सबै नौ सन्तान र नातिनातिनासहित आमाको पनाती पुस्तासम्म छ । मेरी आमा र यी आमाको जन्म एउटै साल रहेछ । महिनामात्रै फरक तर हाम्री आमा अक्षर चिन्नुहुन्न । यी आमा पुस्तक लेख्नुहुन्छ । उहाँका दुईवटा कृति प्रकाशित छन् : बगेको खोला र उनैको माया ।

बगेको खोला आत्मजीवनी हो, आफ्नो भोगाइ हो । उनैको माया आफ्ना श्रीमान्प्रतिको स्नेह, प्रेम काव्य ।
बगैंचा नै उजाड भयो
मेरो माली हिँडेपछि
मेरो मन्दिर रित्तो भयो
देवताले छोडेपछि
उनैको मायाको यो अन्तिम हरफ अन्तिम सत्यपछि जीवन बाँच्न बाध्यहरू सबैको अनुभूति हो । कस्तो हुन्छ एक्लो हुँदाको मानसिक पीडा ?
आफ्नो भन्नु झुठ रै छ
जता हेर्छु विराना छन्
मतलक्री हुँदा रै छन्
(दुर्गादेवी नेपालकृत उनैको माया, सम्पादन इन्दिरा प्रसाईं प्रकाशित २०७० नई प्रकाशन)

मानिसहरू विवेकशील जति हुन्छ त्योभन्दा बढी स्वार्थी, लोभी र विवेकहीन । श्रीसम्पत्तिको कुनिउमा चढ्न पायो वा पद र शक्तिको शिखरयात्रामा लाग्यो भने अपवादबाहेक अहंकारी परपिडक बन्नपुग्छ मानिस । पसिनाले, श्रमले, योग्यताले र इमानदारीताले यस्तो हैसियतमा पुगेको मानिसमा विवेक हुन्छ । विनम्रता हुन्छ । ऊ ज्ञान जस्तै गरी आफ्नो पसिनालाई पनि उदारतापूर्वक अरूको सहयोगी बनाउँछ ।

मानिसहरू विवेकशील जति हुन्छ त्योभन्दा बढी स्वार्थी, लोभी र विवेकहीन । श्रीसम्पत्तिको कुनिउमा चढ्न पायो वा पद र शक्तिको शिखरयात्रामा लाग्यो भने अपवादबाहेक अहंकारी परपिडक बन्नपुग्छ मानिस । पसिनाले, श्रमले, योग्यताले र इमानदारीताले यस्तो हैसियतमा पुगेको मानिसमा विवेक हुन्छ ।

उहाँका पति सबैका गणेश गुरुको पसिनाले आर्जन गरेको श्रीसम्पत्ति र योग्यताबाट धेरै मानिसहरू लाभान्वित भएका छन् । गणेश गुरु अर्थात् विराटनगरमा विसं २०३० सम्मका चर्चित प्राध्यापक गणेशप्रसाद शर्मा नेपाल । उहाँको जन्म धनकुटाको ज्योतिषी परिवारमा भएको थियो । उहाँ इतिहासका, कानुनका उपाधिधारीमात्र हुनुहुन्थेन, शास्त्रीय संस्कृतिको विशेषज्ञ नै हुनुहुन्थ्यो । गणेश गुरु आध्यात्मिक चेतना र मानवताको एक छहारी जस्तै हुनुहुन्थ्यो । तर उहाँका पिताजी नेत्रप्रसादको असाध्य सामन्तवादी परम्परावादी सोचका सामु छोरीबुहारीले भोगेको प्रताडना कहालीलाग्दो छ । सायद बगेको खोलाको प्रेरक पृष्ठभूमि पतिगणेश गुरुको प्रेम र ससुराको प्रताडना हुनुपर्छ भन्ने मलाई लाग्यो कृति पढिसकेपछि ।

पाँचथर जिल्लामा पर्ने विकट पहाडी गाउँ लिम्बाको सम्पन्न परिवारमा विसं १९९५ माजन्मेकी दुर्गादेवीको माइती घिमिरेहरू हुन् । पिताजी पद्मलाल घिमिरे र माताजी चित्ररेखा घिमिरेकी कान्छी छोरी सबैकी प्रिय भएर उहाँको बाल्यकाल बित्यो । आधा बाल्यकाल भन्नु उचित होला । उहाँ सिटो नबोकी, सिन्को नभाँचिकन हुर्कनु भएको हो । दाजुभाइलाई पढाउन राखेका गुरुबाट उहाँले अक्षर सिक्नुभयो, अक्षर लेख्न जान्नुभयो र तीन कक्षासम्म अध्ययन गर्नुभयो । तर उहाँ कक्षाभन्दा पनि स्वाध्यायनको पाठशाला र अनुभवको विश्वविद्यालयबाट खारिनु भएको छ् र उहाँले आफ्नो जीवनवृत्तको मर्मस्पर्शी अनुभव आगामी पुस्ताका लागि ‘बगेको खोला’ कृतिगत धरोहरका रूपमा प्रदान गर्नुभएको छ ।

पूर्वका चर्चित राजनीतिक परिवार नगेन्द्रप्रसाद रिजाल र राधाप्रसाद घिमिरे दुर्गादेवीका मावली र माइती हुन् । दुर्गादेवीका कान्छो दाजु राधाप्रसाद मन्त्री हुनुभएको थियो कुनै समयमा । नगेन्द्रप्रसाद रिजाल पनि कुनै समयमा प्रधानमन्त्री हुनुहुन्थ्यो यस देशको । अत्यन्त भलाद्मी मानिनुहुन्थ्यो नगेन्द्रप्रसाद रिजाल । मैले पनि पत्रकारिताको सन्दर्भमा उहाँलाई निकै पटक भेटेको थिएँ । उहाँका छोरा राजेन्द्र राम्रो गीतकार, सर्जक हुनुहुन्थ्यो । ती हस्तीहरूको परिवारकी सदस्य दुर्गाको विवाह दश वर्षको उमेरमा नै धनकुटाका नेपालसँग भयो ।

त्यो विवाह, विहापश्चात् भोगेको कहालीलाग्दो अनुभव बगेको खोलाका पानाभरि छरपष्ट छन् । त्यसो त लिम्बाका घिमिरेहरूको पुख्र्यौली थलोदेखि रिजाल परिवार अनि नेपाल परिवारका केही हाँगाहरूको र नाताकुटुम्बसमेतको जानकारी कृतिमा छ ।

मैले सोधेँ : आमा, तपाईंको स्वास्थ्य यस्तो छ कसरी लेख्नुभयो किताब ?
मलाई लेख्ने र किताव पढ्न असाध्य रुचि छ । सावा अक्षर र अंग्रेजी अक्षरहरू फुटाउन त म लिम्बादेखि नै सक्थेँ । पछि मेरा पतिसँग दार्जिलिङ र कलकत्ता बस्नु पर्दा उहाँकै प्रेरणाले मैले पुस्तकहरू पढ्ने र केही कोर्ने अवसर पाएकी थिएँ । तर, यो किताब भने मैले मेरा जेठा ज्वाइँ र नातिनी अनुकृतिकाको आग्रहमा लेखेकी हुँ । मलाई २०६४ सालमा नातिनी गीताञ्जलिले अमेरिका बोलाइन् तर अमेरिकामा के गरेर बस्नु ? मलाई चिन्ता लाग्यो । अनुकृतिकाले के गरेर बस्नुहुन्छ हजुर आमा भनेपछि मलाई लाग्यो मेरो आफ्नै भोगाइ लेख्नुपर्छ होला र भनेँ, म मेरै जीवनी लेख्छु र बस्छु । किताबको नाउँ पनि ज्वाइँ नरेन्द्रले ‘बगेको खोला’ भनेर राखिदिनु भयो र उहाँले डायरी र कलम पनि तुरुन्तै दिनुभयो ।

ज्वाइँ र नातिनी प्रसन्न भए मेरो उत्तरले । मैले अमेरिका जानेक्रममा ट्रान्जिटमा बस्दासमेत पुराना स्मृति जोडेर लेखिरहेँ । नेपाल फर्केपछि मेरी छोरी इन्दिराले सम्पादन गरिन् र जेठा ज्वाइँले नइ प्रकाशनबाट २०७० सालमा प्रकाशित गरिदिनुभयो । नइ मेरा जेठो ज्वाइँ नरेन्द्र र जेठी छोरी इन्दिराको नामबाट बनेको छ ।

दुर्गादेवीको विभिन्न रोगका कारण बाह्र पटक अप्रेसन भएको छ । उहाँको शरीरले हर्निया, ग्ल्याण्ड टिबी, सेतो दुवी, मोतीबिन्दु, रक्तचाप, कोलेस्टर, उच्च रक्तचाप, पिसाबसम्बन्धी अनेक रोगको सामना गरिरहेको छ । औषधि सेवन गर्दा गर्दा अब त सबै हड्डी मक्किइसकेका छन् । उहाँका आँखाले बेला बेला त्यति राम्ररी देख्न सक्दैनन् तर कान सक्रिय छन् र बोल्न सक्नुहुन्छ । अहिले पनि स्मृतिशक्ति अद्भूत छ । पुराना अनेक कुराहरू मलाई सुनाउनु हुँदा कुनै अभ्यस्त पुराण वाचिक जस्तो लाग्थ्यो । खुट्टा चल्दैनन्, एउटा हात थोरै चल्छ । दिशापिसाब गराउनु पर्छ, उठाउनु सुताउनुपर्छ । खुवाउनु, चुठाउनु सबै पर्छ । नुहाउनु र औषधि नियमित खुवाउनुपर्छ तर कत्ति पनि झर्को नमानी छोरी इन्दिरा र ज्वाइँ नरेन्द्रले गरिरहनु भएको छ र कृतज्ञता प्रकट गर्नु हुन्छ आमा ।

यस्तो रुग्ण अवस्थामा पनि उहाँ प्राणायम गर्न भुल्नुहुन्न । मानिसको अन्तिम अवस्था कस्तो पनि हुन्छ ? मानिस कृतघ्न कसरी हुनेरहेछन् ? त्यस समयको सामन्ती प्रचलन कस्तो थियो ? सरल र गाउँले जीवन धनीहरूको घरमा समेत कस्तो हुन्थ्यो ? आध्यात्मिक ज्ञान र उपयोग कसरी हुन्थ्यो ? दुर्गादेवीको केही अनुभवलाई म विनाटिप्पणी बगेको खोलाबाट साभार गर्दैछु :
पन्ध्र जना छोराछोरी जन्माए पनि मेरो पिताजीको अन्तिम अवस्थामा उहाँलाई सेवा गर्ने जेठा छोराकी साहिली पत्नी ढकालकी छोरी दुलही भाउजू (इन्द्रकुमारी ) र माइली पत्नीको छोरो ठूले (विश्वराज) मात्रै थिए । (पिताजी पद्मलालको देहावसान प्रसंग)
.........
मेरी आमालाई मकैको पीठोको ढिँडो, सिस्नुको फाँडो, तोरीको साग, बाक्लो मोही साह्रै मीठो लाग्थ्यो । (आमा कति सरल हुनुहुन्थ्यो जानकारी) मेरा हजुरबा बलभद्र रिजाल तत्वज्ञानी हुनुहुन्थ्यो । उहाँले आफ्नो अन्तिम कालको पूर्वघोषणा गरेर एकहप्ताअघि नै वनारसमा पुगेर दाहसंस्कारका लागि चाहिने सम्पूर्ण सामग्री आफैँ किनेर आफ्ना लागि चिता पनि आफ्नै निगरानीमा तयार गराउनु भएको थियो । (अध्यात्म ज्ञानको उदाहरण हजुरबाको मृत्यु दर्शन)

त्यतिबेला ज्योतिषी बाजेद्वारा बधुका रूपमा मलाई माग्न आउँदा भन्नुभएको थियो : मेरो छोरो सुनको टुक्रा हो । मेरा घरमा सुनको लिस्नु छ । मलाई त्यो लिस्नुमा टेक्ने लक्ष्मीका रूपमा हजुरकी छोरी चाहिएको हो । तर चारोटी सासू भएको र उनीहरूको गोडा मिच्नुपर्ने, नन्दआमाजूहरूको सेवा गर्नु पर्ने, देवरहरूको समेत सुश्रूषा गर्नुपर्ने हुनाले पिताजीले ज्योतिषीको मागलाई अस्वीकार गर्नुभयो । पछि विराटनगरमा ठूलादाजुलाई ज्योतिषीले फकाएछन् र कुरो छिनिए छ ।
........
र, त्यो सपनाको घर विपनाको नर्क भयो । तीन दिनसम्म हिँडेर आएकी तेह्र वर्षकी मैतालुले पन्धैबीस जनालाई पकाएका भाँडा र थाल कचौरा माझ्ने, सबै सासूका गोडा मोल्नै पर्ने, सासुहरूका बीचमा सुतेका सुसुराको समेत खुट्टा छोइएला कि भन्ने संत्रासमा हुनुपर्ने, खेतबारीबाट घाँस दाउरा नगरी नहुने, बुहारीले मकैको खोले खानुपर्ने । बेलुका राति बाह्र-एक बजेसम्म काम गरे पनि बिहानै चार बजे उठ्नै पर्ने नत्र सुसराको क्रूर कर्कश हप्काइखानुपर्ने, अवस्था भयो । (घर पुग्नासाथ भोगेको पीडाको संक्षिप्त)
.........
दार्जिलिङ र कलकत्तामा भोगेको होस् कि चार सन्तानकी सुत्केरी हरेक अवस्थाले मानिसलाई आद्र्र बनाउँछन् । आफन्तहरूको स्वार्थ पूरा भएपछि कसरी उनी मुख फर्काएर आफ्नो स्वार्थवशीभूत हुन्छन् मार्मिक अनुभव छ आमाको । म यहाँ ती सबै प्रसंग प्रस्तुत गर्न सक्दिन । यस्तो कारुणिक जीवनलाई विद्वान्, विवेकी र बुद्धिमान श्रीमान् गणेशप्रसादको परिश्रमले रूपान्तरित हुनपुग्यो । कलकत्ता र दार्जिलिङको अध्ययन पूरा गरी विराटनगरको महेन्द्र मोरङ कलेजमा अध्यापनमा लागेको गणेश गुरुले दश वर्षमा नै जागिर छाड्नुभयो तत्कालीन सत्ताको खेलका कारण ।

उहाँ वकालतमा लाग्नुभयो तर झूठलाई समेत सही भन्नुपर्ने र विवेक बन्धक बनाउनु पर्ने पेसा भएको हुनाले यो पेसा चटक्क परित्याग गरी जग्गा व्यवसायमा लाग्नुभयो गणेश गुरु । यहीँबाट गणेश गुरुले समृद्धिको अन्नपूर्ण छुनुभएको थियो तर उहाँको असमयमा नै निधन भयो २०४६ साल जेठमा । त्यसपछि आफ्नी जेठी छोरीको सहयोगले उहाँले श्रीमान्को व्यवहार सबै सम्हाल्नु भयो दुर्गादेवीले ।
.......
उहाँ बडो भावुक भएर यहाँनेर प्रस्तुत हुनुभएको छ, ‘श्रीमान्ले आफन्त र इष्टमित्रलाई सापटी दिएको जग्गा, रुपैयाँ आदि फिर्ता भएन । सबैले आफैँ खाए तर जे बचेको थियो त्यो पनि प्रशस्तै थियो । त्यसैबाट जीवन चल्यो । अंशबण्डा बापतको जग्गा पनि भोग्न नदिने मेरा ससुरासँग मैले नै देवरहरूसँग मिलेर मुद्दा गर्नु प¥यो । पन्ध्र वर्ष जति मुद्दा लडेपछि इटहरीको राजमार्गसँग जोडिएको जग्गा पनि जितेर मैले सम्पत्ति बढाएकी थिएँ ।’
......
दुर्गादेवीका इन्दिरा, कल्पना, अल्पना नामका तीन छोरी र शोभन र स्वस्तिक नामका छोरा छन् । सबैले घरव्यवहार चलाएका छन् । नातिनातिनीहरू पनि छन् तर जीवनको अन्तिममा सेवा गर्ने त्यो सम्पत्ति र ती अरू आफन्त छैनन् यतिखेर जेठी छोरी र जेठो ज्वाइँबाहेक । अप्रसन्नता यसैमा छ उहाँमा ।

कति आमाहरूको यस्तै अवस्था होला ? त्यस्ता सन्तान वा आफन्तहरू कति होलान् जो आफ्ना वृद्ध हजुरबा हजुरआमा, परिवारका अरू अशक्त सदस्यहरू, अथवा बुआआमालाई सेवा गर्दा खुसी हुन्छन् ? कति बुहारी वा ज्वाइँहरू होलान् जो आफ्ना सासूससुराहरूको सेवा गर्न पाउनुलाई गौरव अनुभव गर्दछन् ?

श्रीमान्ले कमाएको श्रीसम्पत्तिबाट नै अहिलेको एक करोड रुपैयाँ बराबरको एक कठ्ठा घडेरी प्रदान गरी विराटनगरमा गणेश पुस्तकालयको स्थापना गर्नुभएको छ । दशलाख रुपैयाँको मुद्दति खातबाट एक लाख रुपैयाँ हर साल प्रदान गरिने नइगणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार स्थापना गरिएको छ । उहाँले अनेक धार्मिक कार्यहरू गरी आफ्नो सांस्कृतिक आध्यात्मिक मनलाई शान्त पार्नुभएको छ ।

अब उहाँको अन्तिम इच्छा छ : आफ्ना श्रीमान्को शालिक राख्ने तर यो इच्छा कसले र कसरी पूरा गर्ने ? पति र आफूले कठोर मिहिनेतका साथ आर्जन गरेको सबै सम्पत्ति छोराहरूसँग छ, आफू छोरीज्वाइँको सेवा लिएर बस्नु परेको छ । एकजना नाति (माहिली छोरीको छोरा) ले हजुरआमाको सेवा गर्छु भनेर करिब डेढ करोडको सम्पत्ति लियो तर केही महिनापछि त्यो पैसा त सकियो भन्दै फेरि जेठी छोरीकै घर काठमाडौं नै मलाई फिर्ता पठायो ।

दुर्गा आमाको शालिक निर्माणको त्यो इच्छा पूरा हुन्छ कि हुँदैन ? विद्यमान प्रश्नको उत्तर नपाएसम्म उहाँको मनले शान्ति पाउला जस्तो लाग्दैन । आजका दिनमा करोडौं पर्ने श्रीसम्पत्तिका मालिक सन्तानले ढोकामा आएर एक शब्द ‘आमा’ भनेर बोलाउने दिन आउँछ कि नआइकन उहाँको शरीरले मुक्ति खोज्ने हो ? मलाई पनि यो प्रश्नले मन तरंगित गराइरहेको छ ।

अन्तमा मलाई लागिरहेछ : कति आमाहरूको यस्तै अवस्था होला ? त्यस्ता सन्तान वा आफन्तहरू कति होलान् जो आफ्ना वृद्ध हजुरबा हजुरआमा, परिवारका अरू अशक्त सदस्यहरू, अथवा बुआआमालाई सेवा गर्दा खुशी हुन्छन् ? कति बुहारी वा ज्वाइँहरू होलान् जो आफ्ना सासूससुराहरूको सेवा गर्न पाउनुलाई गौरव अनुभव गर्दछन् ? अनि कति होलान् यस्तो मानवीय सेवाबाट आफूलाई कठोरतापूर्वक वा घृणाका साथ अलग राखिरहेका छन् ? विराटनगरमा बस्ने आदर्श गुरु गणेशका छोरा बुहारीहरू जस्ता कति छन् होला र इन्दिरा नरेन्द्र जस्ता छोरी र ज्वाइँ कति होलान् ? यस्ता अनेक प्रश्न मनमा खेलाउँदै म नइ प्रकाशनको पुस्तकालयबाट बाहिरिएँ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?