हुम्लामा गठबन्धन ढुक्क, एमाले विरासत तोड्ने दाउमा

छिरिङ दम्डुुल लामा र दलबहादुर रावल भिड्दा जीवनबहादुर शाहीलाई चुनौती दिँदै छक्कबहादुर लामा

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 13 mins

हुम्ला । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तीन दलीय गठबन्धनको तर्फबाट हुम्लाबाट प्रतिनिधिसभाका उम्मेदवार माओवादी केन्द्रका छिरिङ दम्डुुल लामा (कार्चेन), नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वसामाजिक विकासमन्त्री दलबहादुर रावलबीच रोचक प्रतिस्पर्धा देखिने भएको छ ।

रावल २०७० सालमा दोस्रो संविधानसभा सदस्यमा आफ्नो प्रतिस्पर्धी हालका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग पराजित हुनुभएको थियो । रावल २०७४ को हुम्ला निर्वाचन क्षेत्र ‘क’ प्रदेशसभा सदस्यबाट विजयी हुनुभएको थियो । त्यो चुनावमा उहाँ पाँच हजार ३१३ मतसहित विजयी हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी कांग्रेसका ठानबहादुर रोकायले तीन हजार ११३ मत ल्याउनुभएको थियो । रावलले विजयी भएर कर्णाली प्रदेशको तीन वर्ष सामाजिक विकास मन्त्रीसमेत चलाइसक्नु भएको छ । अहिले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएर चुनावी प्रचारका साथ मैदानमा उत्रिनुभएको छ । तर, अहिले परिस्थिति फेरिएको छ । त्यसबेला नेकपा एमाले विभाजित भएको थिएन भने माओवादी केन्द्र पनि एमालेसँगको गठबन्धनमा थियो । अहिले भने एमाले फुटेर बनेको एकीकृत समाजवादी, माओवादी दुवै र कांग्रेस गरी हुम्लामा तीन दलीय गठबन्धन छन् । सोही कारण नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र साझा गठबन्धन दलको समर्थन पाउनुभएका माओवादीका उम्मेदवार लामालाई पन्छाएर जित निकाल्नु रावलका लागि सहज देखिँदैन । गठबन्धनले गर्दा बरु लामा रावलभन्दा तुलनात्मक रूपमा बलिया प्रतिस्पर्धी बन्नुभएको छ ।

रावलले योपटक आफू प्रदेश सरकारमा भइरहँदा हुम्लीको समस्या नजिकबाट नियालेको बताउनुहुन्छ । उहाँले विकासका धेरै कामहरू अधुरा रहेकाले पूरा गर्नको लागि प्रतिनिधिसभाको उम्मेदवारी दिएको बताउनुभयो । तीन वर्ष प्रदेश सरकारको सामाजिक विकास मन्त्री भइरहँदा आफूले हुम्लाको मात्रै नभएर प्रदेशका दशवटै जिल्लामा स्वास्थ्य, शिक्षा, सडक लगायतका क्षेत्रमा प्रत्यक्ष काम गरेको उहाँको दाबी छ । आफू सरकारमा हुँदा २० वर्षसम्मका लागि छोरी बिमा, स्वास्थ्य भवन निर्माण लगायतको काम गरेको उहाँले बताउनुभयो ।

उहाँले योपटक यहाँका जनताले प्रतिनिधिसभा सदस्यमा आफूलाई बहुमतले जिताएमा दुई वर्षभित्र राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको सदरमुकाम सिमकोटलाई जोड्ने बताउनुभयो । रावलले यो पटकको चुनावी प्रचारमा सदरमुकामलाई सडकमा जोड्ने, तीन वर्षदेखि बन्द रहेको हिल्सा नाका खोल्ने, कवाडीदेखि हिल्सासम्म सडक छोएर गाडी गुडाउने आश्वासन दिनुभएको छ ।

छिरिङ दम्डुुल लामा (कार्चेन) ले आफ्नो राजनीतिक जीवनमा पहिलो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको हो । कार्चेन ६ महिनाको लागि कर्णाली प्रदेशको गैरसांसदबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीसमेत बन्नुभएको थियो । लामा मन्त्री भएपछि उहाँको मुद्दा खारेजी भएको थियो । पहिलो पटकमा निर्वाचित हुँदै सांसद बन्ने उहाँको प्रयासलाई गठबन्धन दलहरूले सघाउने भएका छन् । तीन दशकभन्दा बढी समय कम्युनिष्ट आन्दोलनमा बिताउनुभएका लामा पूर्णकालीन राजनीतिमै सक्रिय भएको पनि दुई दशकभन्दा बढी भइसक्यो । लामा जिल्लाको माओवादी पार्टीका राजनीतिमा संस्थापक र स्थापित नेता हुनुहुन्छ । पूर्णकालीन राजनीतिक कार्यकर्ता भएर हुम्लामै कार्यक्षेत्र बनाएर करिब दुई दशक बिताएको उहाँले बताउनुभयो । कार्चेन भन्नुहुन्छ, ‘यहाँका हरेक समस्यासँग परिचित छु ।

हुम्लाको सम्भावना बारेमा नजिकैबाट जानकार छु । जनताका पीर मर्का नजिकबाट नियालेको छु ।’ हुम्लालाई विकासको बाटोमा द्रुत गतिमा अघि बढाउन आफू प्रत्यक्षमा उम्मेदवार बनेको उहाँको भनाइ छ । उहाँले यातायात, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, सिँचाइ, जडीबुटी लगायतको विकास गर्ने तथा सार्वजनिक सेवा सुविधा सुधार गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।

‘सडक नपुगेको जिल्ला हुम्ला हो ।’ उहाँले भन्नुभयो, ‘आफू निर्वाचित भइसकेपछि पहिलो प्राथमिकता सडकलाई राख्नेछु । यस्तै, पर्यटन, जडीबुटी र जलस्रोतमा धनी जिल्ला पनि हुम्ला भएकोले हाइड्रोसम्बन्धी योजनाहरू बनाउने योजनामा लाग्नेछु ।’ उहाँले हुम्लाका पर्यटकीय गन्तव्यको विकास गर्ने कुरालाई पनि प्रमुखताका साथ अगाडि सारेको बताउनुभयो ।

हुम्लामा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि जिल्लाको कुल मतदाताको संख्या ३२ हजार ८५७ रहेको निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ । पुरुष १७ हजार १२८ र महिला १५ हजार ७२९ रहेको छ ।

हुम्लाका मतदाता भने यो पटकको निर्वाचनमा युवा र नयाँको अनुहार नदेखिँदा त्यति सन्तुष्ट भने देखिँदैनन् । हुम्ला सिमकोट-२ का कर्ण बोहराले भन्नुभयो, ‘आफूले थाहा पाएदेखि हुम्लालाई दुर्गम भनेर चिनाउने खाली सडक, स्वास्थ्य, शिक्षा र रोजगारीलाई पहिलो प्राथमिकतामा राख्ने जितेर गएपछि काम नगर्ने चलन छ ।’ योपटक गाउँमा आएका उम्मेदवारप्रति जनताले विगतको जस्तो चासो नदिएको उहाँको भनाइ थियो । जो नेता आए पनि चुनावको समय हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा मात्रै जोड्ने आश्वासन दिने तर अहिलेसम्म कोही कसैले पु¥याउन नसकेको बोहराको गुनासो थियो । सडकले नछुँदा हुम्लीले महँगो हवाई भाडा तिरेर जिल्ला जानुपर्ने बाध्यता छ ।

विधासम्पन्न अस्पताल नहुँदा सुत्केरी, गर्भवतीलगायत अन्य रोगका बिरामीले अकालमै ज्यान गुमाउनुपरेको छ । उपचार गर्न पनि जिल्लाबाहिर जाँदा खर्च बढी लाग्ने गर्छ । कम आयस्रोत भएका गरिब नागरिकलाई रोग लागेमा थप समस्या निस्किन्छ । यस्तै, यहाँका बालबालिकाले नयाँ शैक्षिकसत्र सुरु भएदेखि परीक्षा सकिँदासम्म पाठ्यपुस्तक नपाउने गरेको समस्या यहाँ नयाँ भने होइन । यो वर्ष पनि अधिकांश जिल्लाका विद्यालयमा विद्यार्थीले पुस्तक पाएका छैनन् ।

यस्तै, प्रदेशसभा सदस्यमा बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही र प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका छक्कबहादुर लामाको कडा प्रतिस्पर्धा देखिने भएको छ । शाही र लामा दुवै जनाले हुम्ली जनताको आनीबानी बुझिसक्नु भएको छ । २०४६ सालबाट राजनीतिमा लाग्नुभएका शाही २०५५ सालमा जिल्ला विकास समितिको सभापतिसमेत हुनुभएको थियो भने २०७० सालमा दोस्रोे संविधानसभा निर्वाचनमा विजयी भएर २०७३ सालमा उहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र खानेपानी मन्त्रीसमेत बन्नुभएको थियो । शाही कर्णालीमा बौद्धिक छवि भएका नेताका रूपमा चिनिनुहुन्छ । २०७४ सालमा वाम गठबन्धलाई पछि पार्दै हुम्ला निर्वाचन प्रदेश ‘ख’ बाट निर्वाचित भएर उहाँ कांग्रेस कर्णालीको प्रत्यक्ष एक्ला निर्वाचित मुख्यमन्त्री हुनुहुन्छ ।

दुवै उम्मेदवारले जित आफ्नो पोल्टामा कसरी पार्ने भनेर गम्भीर रणनीति साथ योजना बनाइरहनु भएको छ । स्थानीय तहको चुनाव, नेताहरूको बढ्दो पार्टी प्रवेश जस्ता कारणले पनि यस क्षेत्रलाई एकदमै महत्वका साथ हेरिएको छ ।

लामाले भने २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सबैलाई छक्क पार्दै विजयी हुनुभएको थियो । लामाले योपटक हुम्ला निर्वाचन क्षेत्र प्रदेशसभा ‘ख’ बाट उम्मेदवारी दिनुभएको छ । उहाँ दुई महिना अगाडि माओवादीबाट एमाले प्रवेश गरेर प्रदेशसभा सदस्यको उम्मेदवार बन्नुभएको हो । उहाँले तत्कालीन जनमोर्चाको तर्फबाट उम्मेदवार भएर २०४८ सालमा चक्रबहादुर शाहीलाई आठ मतले पराजित गर्नुभएको थियो भने राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकाल २०६१ मा स्थानीय विकास सहायक राज्यमन्त्री र पछि भौतिक योजना तथा निर्माण राज्यमन्त्रीको समेत भूमिका निर्वाह गर्नुभएको थियो । २०७० को संविधानसभाको दोस्रो निर्वाचनमा तत्कालीन नेकपा माओवादीका तर्फबाट उम्मेदवार बन्नुभएका लामा पार्टीभित्रकै असहयोगका कारण मुख्यमन्त्री जीवनबहादुर शाहीसँग पराजित हुनुभएको थियो । २०७४ सालको निर्वाचनमा उहाँले स्वतन्त्रबाट विजयी हासिल गर्नुभएको थियो ।

यस्तै, प्रदेश ‘क’ मा माओवादी कांग्रेसको गठबन्धनबाट रणसिंह परियार चुनावी मैदानमा उत्रिनुभएको छ भने एमालेबाट दल फडेरा हुनुहुन्छ । प्रदेश ‘क’ लाई समेत निकै रोचकका साथ हेरिएको छ । सत्ता गठबन्धनकै मंगलबहादुर शाही र हस्त शाहीले विद्रोही उम्मेदवारी दिएर गाउँघरमा चुवानी प्रचारमा गएपछि गठबन्धलाई धक्का पुग्ने देखिएको हो । गठबन्धनबाट विद्रोही उम्मेदवारी दिनुभएका मंगलबहादुर शाही पनि बलियो उम्मेदवार हुनुहुन्छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा १८ हजार ८३० मतदाता रहेका छन् । जसमा पुरुष नौ हजार चार र महिला नौ हजार २६ रहेका छन् । प्रदेश निर्वाचन ‘ख’ मा १४ हजार २७ मतदाता रहेको निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । जसमा पुरुष सात हजार ३२४ र महिला ६ हजार ७०३ जना रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?