पुनर्बीमा कम्पनीलाई बीमा प्राधिकरणको चेतावनी

Read Time = 4 mins

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीलाई साता दिनभित्र निर्णय सच्याउन चेतावनी दिएको छ । कोरोना बीमा दाबी भुक्तानी रकम थप नगर्ने नेपाल पुनर्बीमा कम्पनीलाई निर्णय सच्याउन निर्देशन दिँदै अन्यथा कारबाही हुने चेतावनी दिएको हो । कोरोना दाबी रकममध्ये बाँकी रहेको रकम भुक्तानीका लागि अर्थ मन्त्रालयले गत महिना एक अर्ब रुपैयाँ निकासा गरेको छ । बीमा प्राधिकरणको प्रस्तावअनुसार उक्त रकमलाई ५५ प्रतिशत मानिएको छ भने बाँकी रहेको ४५ प्रतिशत प्राधिकरण, नेपाल पुनर्बीमा कम्पनी र बीमा कम्पनीबाट संकलन गर्ने निर्णय भएको थियो । सोहीअनुसार पुनर्बीमा कम्पनीको हिस्सामा १२ प्रतिशत अर्थात् २१ करोड ८१ लाख रुपैयाँ परेको छ ।

नेपाल पुनर्बीमा कम्पनीले यसअघि नै आफ्नो हिस्साको एक अर्ब २० करोड रुपैयाँ भुक्तानी गरिसकेको उल्लेख गर्दै थप रकम भुक्तानी गर्नुनपर्ने प्राधिकरणलाई पत्राचार गरेको थियो । तर, प्राधिकरणले कोरोना बीमा दाबी रकम भुक्तानी नगर्दा आममानिसमा बीमाप्रतिको विश्वसनीयता गुम्दै गएको भन्दै कारोना बीमा भुक्तानी बीमा कम्पनीको पनि दायित्व भएको जनाएको छ । भुक्तानीको जिम्मेवारी नलिएमा बीमा ऐन, २०७९ को दफा १२३ र १२४ बमोजिम कारबाही गरिने प्राधिकरणको चेतावनी छ ।

कोरोना बीमा दाबी भुक्तानी गर्न निर्देशन
नेपाल बिमक संघले बाँकी कोरोना दाबी भुक्तानी रकम भुक्तानी गर्न निर्जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । संघले शुक्रबार सम्बन्धित सबै कम्पनीलाई यस्तो निर्देशन दिएको हो ।

संघले कोरोना बीमा मापदण्ड निर्देशिका, २०७७ ले तोकेको सीमाभन्दा बढी भुक्तानी आकस्मिक बीमाकोषबाट मिलान गरी सञ्चित मुनाफामा सार्न सकिने जनाएको छ । उक्त खर्च वास्तविक खर्चका रूपमा स्वीकार गर्न कर विभागमा समेत सहजीकरण गरिदिने बीमा प्राधिकरणले आश्वासन दिएकाले बिमकहरूको वित्तीय विवरणमा खासै ठूलो असर नपर्ने संघको भनाइ छ ।

संघले कोरोना बीमा दाबी भुक्तानी गर्दा व्यक्ति तथा परिवारको मात्रै दाबी भुक्तानी गर्न भनेको छ । समानुपातिकरूपमा बाँडफाँट गर्दा व्यक्ति तथा परिवारलाई तिर्नुपर्ने दाबी संख्याभन्दा बढी रकम नदिनसमेत निर्देशन दिएको छ ।

बाँडफाँट भई बाँकी रहने रकमलाई जुन कम्पनीको व्यक्ति तथा परिवारका संख्या बढी छन्, तिनै कम्पनीमा पुनः स्वीकृत दाबी संख्याको अनुपातमा बाँडफाँट गरिनेछ । दाबी भुक्तानी गर्ने व्यक्ति तथा परिवारको नाम कम्पनीहरूले बिमक संघबाट सहिछाप गराई आ–आफ्नो वेबसाइटमा प्रकाशित गर्नसमेत संघले कम्पनीहरूलाई ध्यानाकर्षण गराएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?