दाङमा ६० प्रतिशत मतदान, भोलिबाट गणना

Read Time = 3 mins

घोराही । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दाङमा ६० प्रतिशत मत खसेको छ । ४ लाख १४ हजार ९ सय ५६ मतदाता रहेको दाङ जिल्लामा ६० दशमलव ३७ प्रतिशत अर्थात २ लाख ५० हmजार ५ सय ४३ मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

कार्यालयका अनुसार दाङ निर्वाचन क्षेत्र नं. १ मा १ लाख ४३ हजार ७ सय ३३ मतदाता रहेकोमा ८० हजार ७ सय मत मत खसेको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा १ लाख ३३ हजार ७ सय ४८ मतदाता रहेकोमा ७९ हजार ४ सय ४६ र निर्वाचन क्षेत्र नं. ३ मा १ लाख ४६ हजार ४ सय ७५ मतदाता रहेकोमा ९० हजार १ सय ५० मत खसेको छ ।

यसैगरी जिल्लाका दुई वटा अस्थायी मतदान केन्द्रबाट २ सय ४७ मत खसेको छ । अस्थायी मतदान केन्द्र कारागार कार्यालय तुलसीपुरमा रहेका ३१४ मतदाता मध्य १ सय ३६ जना र घोराही कारागार कार्यालयमा रहेका ४ सय २८ मतदाता मध्य १ सय ११ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

मतगणना भोली विहानबाट

३ प्रतिनिधिसभा र ६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा भोली (सोमवार) विहानबाट मात्रै मतगणनाको काम सुरु हुने भएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका मतदानस्थलबाट मतपेटिका संकलनको काम ढिला हुने भएकाले सोमवार विहान मतगणनाको काम सुरु गर्ने तयारी गरिएको हो ।

मतपेटिका संकलन गर्न समय लाग्ने भएपछि सोमबार बिहानबाट मात्रै मतगणना गर्ने तयारी गरिएको प्रमुख निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभएको छ । ‘अहिले मतपेटिका संकलनको काम जारी छ । मत पेटिका संकलनको काम अझै केही समय लाग्छ,’प्रमुख निर्वाचन अधिकृत कार्कीले भन्नुभयो,‘आज रातीसम्म मत पेटिका संकलन गरेपछि भोली विहान राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेर मतगणनाको काम सुरु गर्ने सहमती भएको छ ।’

दाङमा क्षेत्र नं. १ को लमहीमा रहेको लमही नगरपालिकाको हल, क्षेत्र नं.२ को घोराहीस्थीत जिल्ला समन्वय समितिको हल र क्षेत्र नं. ३ को तुलसीपुरस्थीत भु तथा जलाधार व्यवस्थापनको कार्यालयमा मतगणना हुने भएको छ । जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि ४३ जना र प्रदेशसभा सदस्यका लागि ४६ जना उम्मेदवार रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?