चुनावपछिका आशा र अपेक्षा

रत्न प्रजापति
Read Time = 14 mins

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछिको दोस्रो आमनिर्वाचन मंसिर ४ गते देशैभर एकै चरणमा सम्पन्न भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा पटक-पटक मतदान गरिसकेका मतदातामा उत्साह थियो भने पहिलो पटक मतदान गर्दै गरेका युवामा पनि उत्सुकता थियो । देशभरका १८ वर्षका युवादेखि ११३ वर्षका ज्येष्ठ नागरिकसम्मले उल्लास, उत्सुकता र उत्साहपूर्वक मतदान गरेका छन् । आमनिर्वाचनले देशलाई समृद्धितर्फ डोर्‍याउन मार्गप्रशस्त गर्छ भन्ने आमअपेक्षा छ ।

चुनावअघि चुनावी प्रतिस्पर्धामा उत्रेका विभिन्न राजनीतिक दलका उम्मेदवारहरू विभिन्न आशा र सपनाका पुलिन्दा बोकेर जनताका घरदैलामा पुगेका थिए । जनताका आशा र अपेक्षा पूरा गर्ने वाचा पनि गरेका थिए । नेताका आश्वासनलाई विश्वास गरेर पटक-पटक धोका खाइसकेका जनतालाई आश्वस्त पार्न उम्मेदवारहरूले प्रशस्त कसरत पनि गरेका थिए । फेरि पनि जनताले उम्मेदवारका आश्वासनलाई मानेर आआफ्नो रोजाइका उम्मेदवारलाई मत दिएका छन् । जनताले आफ्नो विवेक प्रयोग गरेका छन् र आफ्नो जिम्मेवारी पनि पूरा गरेका छन् । अब त्यस्तै विवेक र जिम्मेवारी पूरा गर्ने पालो विजयी हुने उम्मेदवारको हो ।

चुनावअघि धेरै कुरा ‘चुनावपछि’ भनेर थाती राखिएका छन् । अनि धेरै कुरा ‘चुनावपछि’ भनेर जनतालाई तीव्र आशा र अपेक्षासहित प्रतीक्षा गराइएको छ । चुनाव सम्पन्न भएको छ । अब जनताका आशा र अपेक्षासहितको त्यो प्रतीक्षा पूरा हुनुपर्छ ।

राजनीतिक पार्टीका घोषणापत्र अथवा प्रतिबद्धतापत्रका साथै व्यक्तिगत प्रतिबद्धताहरू बोकेर उम्मेदवार घरदैलामा आइपुग्दा जनताले केही असन्तुष्टिका वावजुद जयजयकारसहित स्वागत गरेकै हुन् । आआफ्ना आवश्यकता र मागका पुलिन्दा आआफ्ना क्षेत्रका उम्मेदवारसामु खोल्ने काम पनि जनताले गरेकै हुन् । उम्मेदवारहरूले जनताका ससाना माग र आवश्यकतादेखि देशनिर्माणका ठूल्ठूला सपना बाँडेका छन् । अब तिनले विजयको माला पहिरेसँगै जनतालाई बाँडेका आशा र सपना पूरा गर्ने प्रतिबद्धता गर्नुपर्छ । फेरि पनि जनतालाई निराश पार्ने काम कुनै प्रतिनिधिबाट हुनु हुँदैन ।

निश्चितरूपमा निर्वाचन भनेको आफ्ना प्रतिनिधि चुन्ने औपचारिक प्रणाली त हो नै, जनताको विवेक मापन गर्ने अवसर हो । अनि देश र जनताको भाग्य र भविष्य निर्धारण गर्ने अवसर पनि हो । पाँच वर्षपछि आएको यो सुनौलो अवसरलाई जनताले हार्दिकतापूर्वक स्वागत र विवेकपूर्ण ढंगले त्यसको उपयोग पनि गरिसकेका छन् । निर्वाचनलाई नेतृत्वका लागि आफ्ना प्रतिनिधि चुन्ने औपचारिक प्रणालीको रूपमा बुझेका र नेतृत्वबाटै नीतिनिर्माण र कार्यान्वयन हुने हुँदा मुलुकको विकासको लागि निर्वाचन अपरिहार्य प्रक्रिया हो भन्ने बुझेका जनताले आफ्नो मताधिकारको प्रयोग गरिसकेका छन् । निर्वाचनबाट मात्रै देशमा परिवर्तन सम्भव हुन्छ भनेरै जनतामा निर्वाचनप्रति उत्साह र उत्सुकता बढेको हो ।

यो उत्साह र उत्सुकतालाई सधैं कायम राख्ने जिम्मेवारी जनताले विजयी हुने प्रतिनिधिको काँधमा सुम्पेका छन् । क्रान्तिको इतिहासले होइन विकास र निकासले मात्रै देश समृद्ध हुन्छ भन्ने यथार्थ अब जनताले बुझ्न थालिसकेका छन् । त्यसैले जनता देशलाई निकास दिने र विकासको सपना साकार पार्ने प्रतिनिधि चुन्नकै लागि उत्साह र उत्सुकतापूर्वक निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गरेका हुन् । अब त्यो निकास र विकासको सपनालाई साकार पार्ने दायित्व जनताले चुनेका प्रतिनिधिकै हो ।

चुनावअघि धेरै कुरा ‘चुनावपछि’ भनेर थाती राखिएका छन् । अनि धेरै कुरा ‘चुनावपछि’ भनेर जनतालाई तीव्र आशा र अपेक्षासहित प्रतीक्षा गराइएको छ । चुनाव सम्पन्न भएको छ । अब जनताका आशा र अपेक्षासहितको त्यो प्रतीक्षा पूरा हुनुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, सुशासन कायम गर्न, शासन प्रणालीको उचित व्यवस्थापन गर्न, शासकीय सुधार गर्न, कानुनी राज्यको सुनिश्चितता गर्न, संविधानको कार्यान्वयन गर्न, दण्डहीनताको अन्त्य गर्न र जनताका आशा र अपेक्षा पूरा गर्न भन्दै निर्वाचनमार्फत जनताको प्रतिनिधि चुन्ने काम भएको छ ।

अब जनताबाट अनुमोदन भएका प्रतिनिधिहरूले यी जिम्मेवारी पूरा गर्नुपर्छ । जुन जोगी आए पनि कानै चिरेका भन्ने उखानलाई फेरि फेरि दोहोर्‍याइरहनु नपरोस् भन्ने जनअपेक्षा हो । व्यवस्था बलियो होस् र जनताको अवस्थामा सकारात्मक रूपान्तरण होस् भनेर मतदान गरेका जनताको आशा र अपेक्षालाई मतदानको मसी नसुक्दै नबिर्सिदिए जनता खुशी हुनेछन् र सुखी हुनेछन् ।

चुनावपछि सबै थोक चलायमान हुन्छन् । त्यसैले चुनावपछि देशको अर्थतन्त्रले तीब्र गति लिन्छ भन्ने आकलन गरिन्छ । थाती राखिएका सबै काम एकाएक हुन थालेपछि आर्थिक क्रियाकलाप हृवात्तै बढ्छ भन्ने अपेक्षा पनि छ । उद्योगहरूको क्षमता उपयोग बढ्छ । उत्पादन बढ्छ । आपूर्ति बढ्छ । आपूर्ति सहज भएपछि मूल्यवृद्धि रोकिन्छ । मूल्यवृद्धि रोकिएपछि आमउपभोक्तालाई राहत मिल्छ । गरिबको पनि दैनिकी सहज बन्छ । उपभोग बढ्छ । उपभोग बढेपछि खर्च बढ्छ । अर्थबजारमा नगद प्रवाह बढ्छ । बजारमा भएको नगद प्रवाह बैंकिङ प्रणालीमै जोडिन्छन् । जसले गर्दा बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको समस्या पनि निराकरण हुन्छ । अनि अर्थतन्त्रको जोखिम घट्छ । चुनावपछि यस्ता धेरै सकारात्मक गतिविधि हुन्छन् । त्यसैले चुनावलाई अत्यन्तै आशाको नजरले हेर्ने गरिन्छ ।

चुनावपछि सबै कुरा सकारात्मक बन्छ भन्ने जनताको अपेक्षा हो । मान्छेको जीवननिर्वाह सहज हुन्छ । देशको राजनीति सकारात्मक दिशमा अघि बढ्छ । अनि देशको अर्थतन्त्र पनि सहज हुन्छ र सकारात्मक दिशामा अघि बढ्छ । नेताहरूले भनेजस्तै देशले अग्रगमनको गति लिन्छ । जनता सुखी हुन्छन् । देश समृद्ध बन्छ । देशमा कोही भोका-नाङ्गा बाँकी रहँदैनन् । कोही अशिक्षित रहँदैनन् । कोही बेरोजगार रहँदैनन् । रोजगारीका लागि कसैले विदेशिनुपर्ने छैन । कोही रातो बाकसमा बन्द भएर आउने छैन । विदेशिएका पनि आफ्नै देशमा केही गर्ने उत्साहले स्वदेश फर्कने छन् । आफ्नै गाउँठाउँमा रमाउने छन् । आफ्नै माटोमा पसिना बगाउने छन् । आफ्नै माटोमा सुन फलाउने छन् । आफ्नै परिवारसँग सुखले बाँच्ने छन् ।

गाउँका मान्छेले जे कामका लागि शहर धाउनुपर्ने छैन । शिक्षा, स्वास्थ्य र न्यायनिसाफ आफ्नै गाउँ-ठाउँबाट पाउने छन् । शहरका जस्ता विद्यालय र विश्वविद्यालय गाउँमा खुल्ने छन् । जनताका छोराछोरीले उच्च शिक्षाका लागि लाखौं खर्चेर विदेश जानुपर्ने छैन । शहरका जस्ता अस्पताल गाउँमा पनि खुल्ने छन् । साहुसँग ऋण लिएर उपचारका लागि शहर वा सदरमुकाम धाउनुपर्ने छैन । न्यायको मन्दिर गाउँमा पनि बन्ने छन् । न्यायका लागि सिंहदरबार अथवा माइतीघर मण्डलामा धर्ना बस्नुपर्ने छैन । जनताले शान्तिपूर्वक बाँच्न पाउने छन् र गरिखान खोज्नेले गरिखान पाउने छन् ।

चुनावपछि सबै कुरा सकारात्मक बन्छन् भन्ने जनताको अपेक्षा हो । मान्छेको जीवननिर्वाह सहज हुन्छ । देशको राजनीति सकारात्मक दिशमा अघि बढ्छ । अनि देशको अर्थतन्त्र पनि सहज हुन्छ र सकारात्मक दिशामा अघि बढ्छ । नेताहरूले भनेजस्तै देशले अग्रगमनको गति लिन्छ ।

देशमा उद्योग-व्यवसायमैत्री वातावरण निर्माण हुनेछ । लगानीमैत्री वातावरण बन्नेछ । लगानीको ढोकाहरू खुल्नेछन् । स्वदेशी लगानी बढ्नेछ । विदेशी लगानी पनि आउनेछ । औद्योगिकीकरणले गति लिनेछ । पुँजी लगानी बढ्नेछ र थप पुँजी निर्माण हुनेछ । आर्थिक क्रियाकलाप सहज हुनेछ । गाउँगाउँमा उद्योगधन्दा खुल्ने छन् । जनताका छोराछोरीले रोजगारी र आयआर्जनको अवसर पाउने छन् । उत्पादन बढ्नेछ । आपूर्ति बढ्नेछ । उपभोग सहज हुनेछ । उपभोक्ता रमाउने छन् । देश आत्मनिर्भरोन्मुख हुनेछ । देशको स्वाभिमान बढ्नेछ । वस्तु निर्यात बढ्नेछ । आयात घट्नेछ । व्यापारघाटा कम हुनेछ । भुक्तानी सन्तुलन कायम हुनेछ । शोधनान्तर बचत हुनेछ । अर्थतन्त्रको जोखिम कम हुनेछ । आर्थिक संकटको भय हट्नेछ । अर्थतन्त्त सुदृढ बन्ने छ ।

देशमा सुशासन कायम हुनेछ । देश भ्रष्टाचारमुक्त बन्नेछ । नागरिकले कानुनी राज्यको अनुभूति गर्नेछन् । कसैले अन्याय सहनुपर्ने छैन । कसैले कुनै प्रकारको भेदभाव सहनुपर्ने छैन । जातीय छुवाछूत हट्नेछ । सामाजिक सद्भाव बढ्नेछ । राजनीतिक दलीय दुश्मनीको अन्त्य हुनेछ । सहकार्यको सुरुवात हुनेछ । राष्ट्रिय हित र स्वाभिमानको रक्षाका लागि मात्रै दलीय गठबन्धन हुनेछ । फेरि सत्तास्वार्थका लागि गठबन्धन हुने छैन । दिगो राजनीतिक स्थिरता कायम हुनेछ । स्थायी सरकार बन्नेछ । जनता गरिबी र अभावसँगसँगै दुःख, सास्ती र हैरानीबाट मुक्त हुनेछन् । जनताले साँच्चै नै देशमा लोकतन्त्र आएको अनुभूति गर्नेछन् ।

अनि लोकतन्त्रको सौन्दर्यलाई आफैँले साक्षात्कार गर्नेछन् । देशको शासन व्यवस्थामात्रै होइन, जनताको अवस्था पनि बदलिने छ । राजनीतिक दलहरूले दलभन्दा देश ठूलो हो भन्ने सोच्ने छन् । देशका कुनाकाप्चाका जनताले पनि राज्यको उपस्थिति महसुस गर्नेछन् । सबै नेपालीले आफूलाई नेपालको नागरिक हुनुमा गर्व गर्नेछन् । यिनै हुन् चुनावपछि आमनागरिकका आशा र अपेक्षा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?