राजनीतिक परिदृश्य फेरिँदै

A A- A+

गणतन्त्र नेपालको वर्तमान संविधान लागू भएपछिको दोस्रो आमनिर्वाचन हो यो । नेपालमा लोकतान्त्रिक गणतन्त्र ल्याउन नेपालीहरूले धेरै ठूलो संघर्ष गरेका छन् । धेरै ठूलो त्याग समर्पण र बलिदानीपछि प्राप्त भएको प्रणाली हो नेपालमा विद्यमान वर्तमान लोकतान्त्रिक गणतन्त्र । तर, यो राज्यव्यवस्था प्राप्त भएको छोटो अवधिमै यस प्रणालीप्रति जनताको वितृष्णा बढ्दै गएको जस्तो देखिएको छ । जनताले दिएको मत वास्तवमा समेटिएका छैनन् । ती मद्धतहरू अस्थिर किसिमले छरिएका छन् । रवीन्द्र मिश्र र राजेन्द्र लिंगदेनहरूले पाएको मत हेर्दा कांग्रेस र कम्युनिष्टहरूप्रतिको वितृष्णा त्यहाँ पोखिएको हो कि भन्ने देखिन्छ । यो एउटा सामान्य दृष्टान्तमात्र हो ।

उनीहरूका निर्वाचन क्षेत्रका जनताले दिएको मत उनीहरूको राजनीतिक विचारधार प्रभावित मत हुन् भनौँ भने अरू ठाउँमा पनि राप्रपाका राम्रा नेताहरू उठेका थिए तर तिनले प्राप्त गरेको मत उल्लेख गर्न योग्य नै लाग्दैन । केही ठाउँमा उनीहरूले यसरी पाएको मत व्यक्तिलाई हेरेर दिएको हो भन्न सकिएला तर तिनीहरूसँग प्रतिस्पर्धा गरिरहेका नेपाली कांग्रेस वा अन्य पार्टीका नेताहरूको व्यक्तित्व निकै उच्चस्तरकै थियो । यसरी हेर्दा मतदाताले केही परिवर्तन खोजेको तर परिवर्तन गर्नसक्ने व्यक्ति वा ठाउँ नपाउँदा बाध्यताले तिनै पुरानै नेतालाई मत दिएको जस्तो देखियो । रवीन्द्र मिश्र र राजेन्द्र लिङ्देनका हकमा उहाँहरूको ख्यातिकै कारण उल्लेख्य मत आएको मान्नुपर्छ, उहाँहरू दोहोरिएर उम्मेदवार बन्नुभएको पनि हो । तर, यसपटकको निर्वाचनको परिदृश्य सोचेको जस्तो देखिएन ।

पुरानाहरूको विषयमा जे जति टीकाटिप्पणी र आलोचना भएको भए पनि तिनै पुराना नेताहरूको विजयको घोषणा धमाधम भइरहेको छ । केही पुरानै अनुहार अगाडि आइरहेका छन् । यसलाई जनताको विरोधले पन्साउन सकेन विरोध गर्ने तिनै जनताले तिनै बुढा पुराना नेताहरूलाई मतदान गरेको देखियो । तर यति भन्दाभन्दै नयाँहरूले समेत विजय यात्रा तय गर्दै गरेको पाइएको छ । केही युवाहरू पार्टीकै टिकटबाट अगाडि आएका छन् भने केहीले नयाँ पार्टीको स्थापना गरी त्यसका माध्यमबाट अगाडि आएको पाइएको छ ।

को कसरी कति ठाउँमा विजय भएर आउलान् त्यो पछिमात्र भन्न सकिने विषय हो, तिनले ल्याएको मतसंख्या हेर्दा त्यही अनुपातमा समानुपातिक मत पनि ल्याएका खण्डमा ती पार्टी स्थापित बन्न सक्ने अवस्था सिर्जना भने भएको छ । यसको दृष्टान्तका रूपमा नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीलाई लिन सकिन्छ । यस पार्टीले केही सिट प्रत्यक्षबाट जित्ने देखिएको छ । पछिपरेको ठाउँमा पनि यस पार्टीले पाएको मत संख्या उल्लेख्य छ । जसले गर्दा भोलि थ्रेसहोल्ड पुर्‍याउन सकेको र समानुपातिकमा प्रत्यक्षमै जसरी मत ल्याएको खण्डमा यो पार्टी राष्ट्रिय पार्टी बन्नसक्ने सम्भावना देखिएको छ । यो भनेको परिवर्तनको संकेत हो ।

माओवादी पार्टीले आफूलाई पार्टीका रूपमा स्थापित गर्न ठूलो सशस्त्र विद्रोहको बाटो समाउनु परेको थियो । एक दशकभन्दा बढी विद्रोह गरी धेरै ठूलो संख्यामा मानिसहरूको हताहती भएपछि शान्ति प्रक्रियामा आएर संविधानसभाको निर्वाचन गराउँदा पहिलोपटक सबैभन्दा ठूलो पार्टी भएको थियो तर आफ्नो साख जोगाउन नसक्दा छ वर्षपछि २०७० सालमा संविधानसभाको दोस्रो निर्वाचनमा उक्त पार्टी तेस्रो बन्नपुग्यो । २०७४ सालमा एमालेसँग पार्टी एकीकरण गरेर अगाडि आयो र हाल सत्ता गठबन्धनमा छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टीले आपूmलाई स्थापित गर्न त्यत्रो मिहिनेत गरेको छैन र चर्चामा आइरहेको छ ।

उसको सम्भावना पनि देखिएको छ । यो जनताको परिवर्तनप्रतिको आकांक्षा हो भन्न करै लाग्छ । संसद्मा विजयी बनेर जे जति पार्टी वा व्यक्ति पुग्छन् तिनले जनताको संवेदनालाई केन्द्रीय प्राथमिकतामा राखेर काम नगर्ने हो भने निश्चित छ, अबको पाँच वर्षपछि हुने निर्वाचनमा निक्कै उथलपुथल हुनेछ । नयाँहरूको सघन उपस्थिति संसद्मा हुने सम्भावना छ, त्यसलाई कसैले रोक्न सक्दैन । यसैगरी पुरानाहरूले आफ्नो साख जोगाउन धेरै ठूलो मिहिनेत गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?