फेरि पनि सरकार बनाउन गाह्रो, बनाए टिकाउन झन गाह्रो : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 3 mins

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अत्याधिक मतले विजयी भएपश्चात निर्वाचित प्रमाणपत्र लिन झापा आइपुग्नुभएको छ । उहाँसहित झापा ५ बाट विजयी प्रदेशसभाका सांसदलाई आज निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले प्रमाणपत्र दिनुभयो ।

अध्यक्ष ओलीले राजनीतिमा युवाको आकर्षण नभएको भन्ने भनाइ पछिल्लो निर्वाचनको मतपरिणामले गलत साबित गरिदिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘जानेर नजानेर वा भवितव्यले कतिपय विजयी भएका छन् । राजनीति रमाइलोको रुपमा नलिऔं, यो गम्भीर विषय हो ।’ उहाँले धेरैजसो स्थानमा निश्पक्ष र शान्तिपूर्ण ढंगमा निर्वाचन गराउन सफल निर्वाचन आयोग र सम्बन्धित सबैलाई धन्यवाद पनि दिनुभयो ।

सो अवसरमा उहाँले आम मतदाताले पनि मतदान गर्दा ख्याल गर्नु पर्ने बताउनु भयो। मतदाताप्रति नै आशंका गर्दै उहाँले भन्नुभयो, ‘यसपटक मतदाताले नबुझेको हो की, हामीले बुझाउन नसकेका हौ की । मतदाता सुध्रिनु पर्ने हो की जस्तो लागेको छ ।’

उहाँले निर्वाचन पाँच वर्षको लागि मात्रै नभएर यसको परिणाम लामो समयसम्म रहने बताउनु भयो । यही पाँच वर्षमा गलत काम भए पुस्ता पुस्तासम्म असर पर्ने उहाँको भनाइ छ ।

उहाँले मतदाताले यस निर्वाचनमा कसैलाई पनि बहुमत नदिएको बताउनु भयो । मतदाताकै कारण अब फेरि सरकार गठनमा मोलतोल, भागबण्डाको खेल सुरु हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘फेरि पनि मोलतोल, भागबण्डाको अवस्था रहने निर्वाचन परिणामले देखाएको छ । अब हरेकले आफ्नो मोल बढाउने अवस्था छ ।’ फेरि पनि सरकार बनाउन गाह्रो, बनाए टिकाउन झन गाह्रो हुने अवस्था आउने उहाँको भनाइ छ । यसले देश थप अस्थिरतातर्फ जाने उहाँले अशंका गर्नुभयो ।

उहाँले सरकार आफैँले कतिपय ठाउँमा बुथ क्याप्चर गरेको आरोप पनि लगाउनु यभो। चुनाव जित्न घरमा बसेका मान्छे तानेर लगेर मार्ने काम सरकारले गरेको आरोप लगाउनु यभो । उहाँले, ‘लोकतन्त्र भन्ने व्यवहारमा अपराधतन्त्र देखाउनु हुँदैन । हामी शान्ति र लोकतन्त्रमा विश्वास गर्छौ । यो हामीले कार्यान्वयन पनि गरेका छौं । लोकतन्त्र मन्त्र होइन यो जीवन पद्धति हो ।’ उहाँले लोकतन्त्रको पवित्रतालाई जोगान आग्रह गर्नुभयो ।

कार्यक्रममा बुथ क्याप्तर र धाधली भएका स्थानमा पुनः मतदान गराउन निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?