सिरहामा कांग्रेस शून्य, हार्नुको प्रमुख कारण पार्टीभित्रको कलह

Read Time = 8 mins

सिरहा । सिरहाका चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि तथा प्रदेशसभातर्फ नेपाली कांग्रेस शून्य भएको छ । प्रतिनिधिसभाका चार र प्रदेशसभाका आठवटा निर्वाचन क्षेत्रमा कांग्रेस शून्य बनेको हो । कांग्रेसको किल्ला मानिने सिरहाका चारवटै क्षेत्रमा एमाले र जसपा विजयी भएका छन् । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको उदय पनि कांग्रेस पराजित हुनुको एउटा कारण मानिएको छ । त्यसबाहेक पार्टीभित्रको अन्तरकलह नै मुख्य रहेको नेताहरू बताउँछन् ।

वाम–लोकतान्त्रिक गठबन्धनबीच सिट बाँडफाँट हुँदा सिरहामा प्रतिनिधिसभामा दुईवटा क्षेत्र कांग्रेसको भागमा परेको थियो । जसमा चित्रलेखा यादव र पद्मनारायण चौधरीले उम्मेदवारी दिनुभएको थियो । दुईवटा क्षेत्र एकीकृत समाजवादी र माओवादीका भागमा परेको थियो ।
स्थानीय तहको मतलाई आधार मान्दा सिरहाका चार निर्वाचन क्षेत्रमध्ये तीनवटामा सता गठबन्धनको जित सुनिश्चित देखिए पनि कांग्रेसभित्रको अन्तरकलहका कारण हार बेहोर्नुपरेको नेपाली कांग्रेसका जिल्ला सचिव शैलेन्द्र यादवले बताउनुभयो । अघिल्लो स्थानीय निर्वाचनमा सिरहामा जनमत पार्टीको उम्मेदवारी परेको थिएन । अरू स-साना दलको बर्चस्व पनि थिएन । तर, अहिलेको निर्वाचनमा जनमत पार्टीले एमाले र जसपाको मत नकाटेर कांग्रेसको मात्र काटेकाले हार बेहोर्नुपरेको सचिव यादवले दाबी गर्नुभयो । चुनावी परिणाम विगतको जस्तो नआए पनि जनताले गठबन्धनलाई विश्वास गरी अत्यधिक मत दिएको र त्यसलाई संरक्षण गर्नतर्फ लाग्नुपर्ने उहाँको भनाइ छ ।

०७४ मा सिरहा १ बाट कांग्रेसका स्व. नेता प्रदीप गिरी निर्वाचित हुनुभएको थियो । गिरीले २३ हजार ९५१ मत ल्याएर निर्वाचित हुँदा एमालेका गंगा यादव २१ हजार ३७१ मत ल्याएर दोस्रो हुनुभएको थियो । त्यो बेला प्रदीप गिरीको जितमा संगठनको मतभन्दा पनि व्यक्तित्वको मत निर्णायक बनेको यस क्षेत्रका स्थानीय बुद्धिजीवी बताउँछन् । पार्टीभित्रको मतभेदका कारण यस क्षेत्रमा पराजित हुन पुगेको कांग्रेसका कार्यकर्ताहरू बताउँछन् ।

सिरहा १ को प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएका रामशंकर यादव कांग्रेसका नेता तथा पूर्वमन्त्री पद्मनारायण चौधरीलाई दुई हजार ८३ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । सिरहा २ मा पूर्वमन्त्री तथा कांग्रेस नेतृ चित्रलेखा यादव लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो । २०७४ को आमनिर्वाचनमा यस क्षेत्रबाट माओवादीबाट टिकट पाउनुभएका सुरेशचन्द्र दास यादव २८ सय ८८ मतान्तरले निर्वाचित हुनुभएको थियो । उहाँले यादवलाई २० हजार १४८ र उहाँका प्रतिस्पर्धी शत्रुधनप्रसाद सिंहले १७ हजार २६० मत प्राप्त गरी पराजित हुनुभएको थियो ।

२०७४ सालमा समानुपातिक सांसद हुनुभएकी यादव कांग्रेसकी प्रमुख सचेतक हुनुहुन्छ । पुनः यसै क्षेत्रबाट उम्मेदवारी दिनुभएकी उहाँ मतदाताको असन्तुष्टिका कारण ११ सय ५० मतान्तरले पराजित हुनुभयो । सिरहा २ मा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार राजकिशोर यादव २४ हजार १७८ मत ल्याई विजयी हुनुभएको छ ।

सिरहा ३ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका विश्वनाथ साह र जसपा-एमाले गठबन्धनका लीलानाथ श्रेष्ठबीच कडा प्रतिस्पर्धा रहृयो । प्रतिनिधिसभा निर्वाचन २०७४ मा श्रेष्ठले २३ हजार २२७ मत ल्याएर निर्वाचित हुँदा संघीय समाजवादी फोरमका अशेश्वर यादवले २१ हजार २२० मत ल्याएर दोस्रो हुनुभएको थियो । पुनः यसै क्षेत्रबाट प्रतिनिधिसभामा लड्नुभएका पूर्वमन्त्री लीलानाथ श्रेष्ठले २८ हजार ६४ मत ल्याई विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार विश्वनाथ साह ११ सय ८२ मतान्तरले पराजित हुनुभएको हो । पराजित विश्वनाथ साहले २६ हजार ८८२ मत ल्याउनुभएको छ ।

विश्वनाथ साह २०४८ को आमनिर्वाचन र २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन सिरहा-५ मा जनमोर्चा नेपालबाट उम्मेदवार बने पनि पराजित हुनुभएको थियो । सिरहा ४ मा एमाले–जसपा गठबन्धनबाट जसपाका वीरेन्द्र महतो र सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका पूर्वमन्त्री धर्मनाथ साहबीचको प्रतिस्पर्धामा २४ हजार १०२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार वीरेन्द्रप्रसाद साह सात हजार ८०८ मतान्तरले पराजित हुनुभएको हो । पराजित वीरेन्द्रप्रसाद साहले १६ हजार २९४ मत ल्याउनुभयो । सता गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धर्मनाथ साह १४ हजार ६५३ मत ल्याई तेस्रो स्थानमा रहनुभयो ।

२०७४ को आमनिर्वाचनमा सिरहा २ बाट निर्वाचित हुनुभएका जसपाका नेता राजकिशोर यादवले पूर्वकानुनमन्त्री अजयशंकर नायकलाई करिब दुई हजारभन्दा बढी मतान्तरले पराजित गरी सिरहा ४ बाट निर्वाचित हुनुभएको थियो । सिरहामा कांग्रेसमा पार्टीभित्रकै गुट-उपगुटका कारण यो निर्वाचनमा सत्ता गठबन्धनले हार बेहोर्नुपरेको कांग्रेसीजनहरू स्वीकार्छन् । सिरहामा कांग्रेसमा पहिलेदेखि नै गहिरो मतभेद कायम रहेको छ । जसको प्रभाव र परिणाम यस निर्वाचनमा देख्नु परेको नेपाली कांग्रेसका नेताहरू बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?