समानुपातिकतर्फ १२ प्रतिशत मत गन्न बाँकी, कुन दलले कति मत पाए ?

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १२ प्रतिशत मत गन्न बाँकी रहेको छ ।​

समानुपातिकतर्फ खसेको मतको ८८ दशमलब १५ प्रतिशत मतगणना भइसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९५ लाख ६० हजार एक सय ६४ मत गणना भइसकेको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख ८ हजार ८५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको थियो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ स्थानमध्ये हालसम्म एक सय ५८ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा(एमाले)ले २५ लाख ७० हजार ८२३ मत प्राप्त गरेको छ।

नेपाली कांग्रेसले २४ लाख ३८ हजार ६४४, नेकपा (माओवादी केन्द्र)ले १० लाख ९२ हजार ५७७ र राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार २५३ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ४९ हजार १९८, जनता समाजवादी पार्टीले तीन लाख ४५ हजार १७ मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन्।

थ्रेस होल्ड कटाउनका लागि संघर्षरत दलमा नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी छन्। आयोगको विवरणअनुसार जनमत पार्टीले दुई लाख ८८ हजार २१६ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले दुई लाख ६२ हजार ८८४ मत प्राप्त गरेको छ। बाँकी रहेको मतगणनामा ती दलले थ्रेस होल्ड कटाउने अपेक्षा राखेका छन्।

आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४५ हजार १८५, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ३१ हजार ४६३, नेपाल मजदुर किसान पार्टीले ७३ हजार ४९, हाम्रो नेपाली पार्टीले ५३ हजार १६८ मत, मंगोल नेशनल अर्गनाइजेशनले ४६ हजार ११४, राष्ट्रिय जनमोर्चाले ४५ हजार ५४, नेपाल संघीय समाजवादी पार्टीले ३२ हजार ४६९ र नेकपा९माले०ले २७ हजार नौ सय ७४ मत प्राप्त गरेका छन्।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कूल ४७ दलले निर्वाचन प्रक्रियामा भाग लिएका थिए। त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार ७८७ मत प्राप्त गरेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?