१० हजारभन्दा बढी मतान्तरले जित्ने १२ जना कांग्रेस नेताहरू

तीन जोडी श्रीमान्/श्रीमती नै सांसद

अनिल क्षेत्री
Read Time = 11 mins

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । यद्यपि, तीनवटा निर्वाचन क्षेत्रको मतगणना सुरु नै भएको छैन । हालसम्म सार्वजनिक मत परिणामअनु्सार विभिन्न राजनीतिक दलका २९ जना उम्मेदवारहरू निकटतम् प्रतिस्पर्धीलाई १० हजारभन्दा बढी मतान्तरले पराजित गर्न सफल भएका छन् । मत परिणामअनुसार नेपाली कांग्रेसका १२, एमालेका चार, राप्रपा र माओवादी केन्द्रका तीन-तीन राष्ट्रिय स्वतन्त्र पार्टीका दुई र नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत, नेमकिपा र नागरिक उन्मिुक्ति पार्टीका एक/एकजना उम्मेदवार निकटतम् प्रतिस्पर्धीलाई भारी मतान्तरले पारजित गर्न सफल भएका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई १२ हजार ४९२ मतान्तरले पराजित गर्नुभएको छ । देउवाले २५ हजार ५३४ मत ल्याउँदा ढकालले १३ हजार ०४२ मत प्राप्त गर्नुभयो । यस्तै, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का पनि भारी मतान्तरका साथ विजयी हुन सफल हुनुभएको छ । सुर्खेत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट आफ्ना प्रतिस्पर्धीलाई खड्काले ११ हजार ६१९ मतान्तरले पराजित गर्न सफल हुनुभएको हो । उपसभापति खड्काले ४२ हजार ६०७ मतसहित जित हात पार्दा एमालेका उम्मेदवार ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत प्राप्त गर्नुभयो । त्यस्तै, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि आफ्ना प्रतिस्पर्धीलाई भारी मतले पराजित गर्न सफल हुनुभएको छ । झापा निर्वाचन क्षेत्र नम्बर १ मा महामन्त्री शर्माले आफ्ना प्रतिद्वन्द्वीलाई १४ हजार ४१५ मतको अन्तरले हराउनुभएको हो । शर्मा ३९ हजार ७६४ मतसहित विजयी हुँदा नेकपा एमालेका उम्मेदवार अग्नि खरेल २५ हजार ३४९ मतमा सीमित बन्न पुग्नुभयो ।

मोरङको क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिस्पर्धी उम्मेदवारलाई १४ हजार ३४७ मतान्तरले पराजित गर्नुभएको छ । कोइरालाले ३५ हजार ७३९ मत पाउँदा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितले २१ हजार ३९२ मत प्राप्त गर्नुभयो । यस्तै, सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट मोहनबहादुर बस्नेतले आफ्ना प्रतिद्वन्द्वी एमालेका शेरबहादुर तामाङलाई ११ हजार ८७४ मतको अन्तरले पराजित गर्नुभयो । बस्नेतले ३९ हजार ३६७ मत पाएर विजयी हुँदा एमालेका तामाङले २७ हजार ४९३ मत ल्याएर पराजित हुनुभयो ।

त्यस्तै, धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा कांग्रेस जिल्ला सभापति रामनाथ अधिकारीले आफ्ना प्रतिद्वन्द्वीलाई १० हजार ५१७ मतसहित पराजित गर्नुभएको छ । अधिकारीले ३४ हजार ६५९ मत प्राप्त गर्नुभयो भने निकटतम् प्रतिस्पर्धी एमालेका खेमप्रसाद लोहनीले २४ हजार १४२ मत मात्र प्राप्त गर्नुभयो । नुवाकोट क्षेत्र नम्बर २ मा कांग्रेस नेता अर्जुननरसिंह केसीले आफ्ना प्रतिद्वन्द्वीलाई ११ हजार ६३० मत अन्तरले पराजित गर्नुभयो । केसीले २८ हजार १०७ मतसहित जित हात पार्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डे १६ हजार ४७७ मत ल्याउनुभयो । गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका राजेन्द्र बजगाईंले आफ्ना प्रतिद्वन्द्वीलाई १६ हजार ६७० मतको अन्तरबाट पराजित गर्नुभयो । विजेता बजगाईंले ३३ हजार ४२८ मत पाउँदा पराजित नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेतले १६ हजार ७५८ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी, रामेछापमा पनि कांग्रेसका उम्मेदवार निकै ठूलो मतान्तरले विजयी हुनुभएको छ । कांग्रेस जिल्ला सभापतिसमेत रहनुभएका पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ मत अन्तरले पराजित गर्नुभयो । तामाङ ४७ हजार ०९९ मतसहित विजयी हुँदा ढुंगेल ३० हजार ७३० मतमा सीमित हुनुभयो । यस्तै, मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा पनि कांग्रेसका उम्मेदवारले प्रतिस्पर्धी उम्मेदवारलाई फराकिलो मत अन्तरले पराजित गर्नुभएको छ । कांग्रेसका उम्मेदवार सुनिल शर्माले आफ्ना प्रतिद्वन्द्वी एमालेका उम्मेदवार भानुभक्त ढकाललाई २२ हजार ७१६ मत अन्तरले पराजित गर्नुभएको हो । शर्माले ४८ हजार ६१३ मत ल्याउँदा ढकालले २५ हजार ८९७ मत पाउनुभयो । मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रमेश लेखकले आफ्ना प्रतिद्वन्द्वीलाई १२ हजार ०९० मतको अन्तरले हराउन सफल हुनुभएको छ । लेखकले ३० हजार ७५ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार निरुदेवी पालले १८ हजार ४८५ मत प्राप्त गर्नुभयो ।

यस्तै, रसुवामा पनि नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले विपक्षी उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्नुभएको छ । आचार्यले १८ हजार २३५ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङले आठ हजार ६१४ मत मात्र प्राप्त गर्नुभयो ।

श्रीमान्/श्रीमती नै प्रतिनिधिसभा सदस्य
आगामी प्रतिनिधिसभामा तीन जोडी सांसद (श्रीमान्/श्रीमती) को संसद्मा उपस्थिति देखिने भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जोडी श्रीमान् र श्रीमती नेताहरू नै सांसद बन्ने निश्चित छ । प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट प्रत्यक्ष निर्वाचन जित्नुभएको छ । देउवा पत्नी आरजू राणा कांग्रेसको समानुपातिक तर्फको सूचीमा पहिलो नम्बरमा हुनुहुन्छ । कांग्रेसबाट प्रत्यक्षतर्फ पुरुषहरू नै बढी निर्वाचित भएका कारण समानुपातिकमा महिलाहरू धेरै ल्याउनु कानुनी बाध्यता छ । यसकारण पहिलो नम्बरमा रहनुभएकी आरजू कांग्रेसको समानुपातिकबाट निर्वाचित हुने निश्चित छ ।

यस्तै, धनुषाका चार प्रतिनिधिसभा क्षेत्रमध्ये दुई क्षेत्रमा एमालेबाट श्रीमान्–श्रीमतीले नै प्रत्यक्षतर्फ चुनाव जितेका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट जुलीकुमारी महतो र धनुषा ४ बाट रघुवीर महासेठ निर्वाचित हुनुभएको छ । यसअघि पनि दुवैजना सांसद हुनुहुन्थ्यो । २०७४ मा महासेठ प्रत्यक्षबाट र जुली समानुपातिक कोटाबाट सांसद बन्नुभएको हो । दुवैजना पालैपालो केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री पनि हुनुभएको थियो । यसपटक रघुवीर र जुली दुवै सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रत्यक्ष निर्वाचित हुनुभएको हो ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा) बाट पनि एक जोडी श्रीमान् र श्रीमती नै सांसद बन्ने निश्चित छ । जसपाका नेता अशोक राई सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको छ । राईकी पत्नी सुशीला श्रेष्ठको नाम समानुपातिक सूचीमा छ । जसपामा पनि महिलाभन्दा पुरुषहरू नै बढी प्रत्यक्षबाट निर्वाचित भएकाले श्रेष्ठ समानुपातिक तर्फबाट निर्वाचित हुने लगभग निश्चित जस्तै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?