कतार विश्वकप : आज चार खेल हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (बिहीबार) बिभिन्न चार खेलहरू हुँदैछन् । आज समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई खेलहरू हुनेछन् ।

दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ ।

बेलुकी पौने ९ बजे हुने खेलहरूमा समुह ‘एफ’ मा रहेका क्रोएसिया र मोरक्को तथा क्यानाडा र बेल्जियम भिड्नेछन् । यो समूहमा दुई खेलबाट ४–४ अंक जोडेका क्रोएसिया र मोरक्को शिर्ष दुई स्थानमा रहेका छन् । ३ अंक जोडेको बेल्जियम तेस्रो स्थानमा रहेको छ । पुछारमा रहेको क्यानाडाले अंक जोड्न सकेको छैन ।

यो खेल जितेको अवस्थामा बेल्जियम नकआउट चरणमा पुग्नेछ । क्रोएसिया र मोरक्कोबीचको खेलमा विजयी हुने टोली समूह विजेता बन्नेछ ।

यस्तै, राति पौने १ बजे समुह ‘ई’ मा रहेका जापान र स्पेन तथा कोष्टारिका र जर्मनीको भिडन्त हुनेछ । यो समूहमा २ खेलबाट स्पेनले ४ अंक जोडेको छ । जापान र कोस्टारिकाको ३–३ अंक छ भने जर्मनीको १ अंक मात्रै छ ।

यो समूहका सबै चार टोलीको नकआउट चरणमा पुग्ने सम्भावना रहेको छ ।

एसियाली मुलुक कतारमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?