चुनावी परिणामको सन्देश

Read Time = 17 mins

✍️ शम्भु कोइराला

नमागिएको सल्लाह :
नमागिएको सल्लाहको गत कात्तिक २५ गतेको शृंखला ‘मतदान गनगने पुस्तालाई कि गगन पुस्तालाई’ शीर्षकमा लेखिएको थियो । हिमालय टाइम्सको सम्पादक मण्डललाई यो शीर्षक प्रिय नलागेर अथवा अरू कुनै कारणले ‘मतदान पुरानो पुस्तालाई कि नयाँ पुस्तालाई’ भनेर सम्पादन गरियो । पहिलो शीर्षकमा पुरानो पुस्तालाई गनगने भनेको त्यति रुचिकर पनि होइन । फेरि, एकजना कांग्रेस महामन्त्रीको नाम नै उल्लेख गरेर पुस्ताको नामकरण गर्दा पक्षपोषण गरेको र कसैको पक्षमा माहौल खडा गरेको आरोप लाग्ने अवस्था भने नभएको होइन ।
त्यस्तो शीर्षक राखेर लेख्नुको अर्थ पुरानो पुस्तालाई अपमान गर्ने र नयाँ पुस्तालाई जेजस्तो भए पनि स्वीकार गर्ने उद्देश्य पनि होइन । राजनीतिमा रहेको अहिलेको पुरानो पुस्ताले जनताको अधिकार र स्वतन्त्रता प्राप्तिका लागि ठूलो योगदान गरेको छ । जेलको यातना, अपमान, पारिवारिक विचलन सबै सहेको छ । नागरिक अधिकारका लागि कैयौंले जीवनको बलिदानी पनि दिएका छन् । बलिदानी दिएका वीरहरूको गाथाले सुशोभित पुस्ता हो यो ।

नेपालको बुढो पुस्तामा देखिएको ठूलो भ्रम, अहं ‘ब्रहृमास्मि’ भन्ने हो । अनि यो पुस्तामा अर्को जरो गाडेर बसेको विषय भनेको जनता गुनासो गर्दै गर्छन् आफ्नो र आफन्तको सुख सुविधा प्राप्तिका लागि निरन्तर लागिरहने भन्ने हो ।

स्वतन्त्रता प्राप्ति र राजनीतिक उद्देश्य प्राप्ति, जनताको भावनालाई भड्काएर मार्न र मर्न तयार बनाएर हुन सक्दछ तर जनताको जीवनमा आर्थिक सहजता ल्याउनका लागि गरिने व्यवस्थापनमा उच्चस्तरको कौशलको आवश्यकता पर्दछ । यस्तो कौशल राजनीतिक त्याग तपस्या गरेकोमा नहुन पनि सक्दछ । राजनीतिबाहिर रहेका दक्ष जनशक्ति ल्याएर देशको अर्थतन्त्रलाई समृद्धितर्फ अगाडि बढाउन सकिन्छ । बाहिरबाट ल्याएर व्यवस्थापन गर्नुपर्ने विषय राजनीतिकर्मीका लागि पाच्य नहुन पनि सक्दछ । कारण हो-उनीहरूमा एउटा ठूलो भ्रमले डेरा जमाएर बसेको हुनेरहेछ । त्यो भ्रम भनेको म सर्वज्ञानी हुँ भन्ने ।

नेपालको बुढो पुस्तामा देखिएको ठूलो भ्रम, अहं ‘ब्रहृमास्मि’ भन्ने हो । अनि यो पुस्तामा अर्को जरो गाडेर बसेको विषय भनेको जनता गुनासो गर्दै गर्छन् आफ्नो र आफन्तको सुख सुविधा प्राप्तिका लागि निरन्तर लागिरहने भन्ने हो । किनभने जनताको भावना प्रतिबिम्बित हुने यति उच्च प्रविधियुक्त सञ्चार, सामाजिक सञ्जाल हुँदा पनि त्यस्तो भावनालाई बाल मतलव नगरेर आफ्नो राजनीतिक स्वार्थमा लिप्त बन्नु यो पुस्ताको ठूलो कमजोरी हो । यो पुस्ताको रजाइँ गत स्थानीय चुनाव अगाडिसम्म त चलेकै थियो । जब स्थानीय चुनावबाट बालेन र हर्कहरू उदाए, उनीहरूको मनमा झस्का नपरेको भने होइन । तर, सुध्रिने नाम निसान देखिएन । कांग्रेसको पार्टी संगठनमा खासै गति आएको छैन । सभापति देउवाको एकलौटी निर्णय प्रक्रियामा अत्यधिक मतबाट निर्वाचित पदाधिकारीसँग सरसल्लाह गरिँदैन । सरसल्लाह गर भनेर आन्दोलन गरेर पछिमात्र बैठक बस्दछ । त्यो बैठकबाट पनि प्रधानमन्त्री र गृहमन्त्रीका पत्नीहरूलाई समानुपातिकको शीर्ष बरियतामा राखेर नाम बुझाइन्छ ।

एमालेभित्र त एमाले नै ओली, ओली नै एमाले, उनको निर्णयलाई अनुमोदन गर्नु सबै पार्टी कमिटीको जवाफदेही हो । जसले परन्तु, किन्तु भन्छ त्यसको पत्तासाफ निश्चित छ । नेता भीम रावल, घनश्याम भुसाल त्यसैको सिकार भएका हुन् । त्यसै भएर त ओलीले दुई तिहाइ नजिकको सरकार गिराएर, संवैधानिक अंगहरूलाई ध्वस्त बनाएर, चोलेन्द्र जस्ता लोभी पापीसँग लेनदेन गरेर अदालतलाई कंगारु अदालतमा परिणत गर्ने प्रयासलगायत सयौं गल्ती गर्दा पनि न त छलफल हुन्छ न त विरोध नै । कारण हो-रावल घनश्याम भुसाल किन बन्ने भन्ने नेता कार्यकर्ताको सोच । अहिलेको निर्वाचनले ओलीको अपराधका लागि जेजस्तो सजाय पाउनु पथ्र्याे त्यो पुग्यो कि पुगेन छुट्टै बहसको विषय हो ।

भारतीय गुप्तचर संस्थामार्फत भारतसँग सम्पर्क बढाएर संविधान समाप्त गरेर मनमौजी शासन गर्ने उनको चाहनालाई अझ दण्डित गर्नुपर्ने थियो । दण्डित त गरियो तर पुग्यो कि पुगेन ? बहस हुने नै छ । अहिलेको सरकारले संविधान रक्षाका लागि काम गरेको थियो । ओली र राष्ट्रपति विद्याका संविधानलाई मनमौजी तबरले चलाएर मुलुकलाई दिशाविहीन बनाउने कामलाई निस्तेज पारेर अपेक्षाकृत शान्तिपूर्ण र निष्पक्ष रूपमा निर्वाचन सफल भयो । तर, नेताहरूको आचरण, व्यवहार र जनतालाई सेवा प्रवाह गर्ने सवालमा किञ्चित पनि सुधार नभएका कारण मतदाताले सरकारलाई पनि दण्डित गरिदिए । जनताले पूर्वदेखि मध्यनेपाल हुँदै कर्णाली नदी किनारसम्म नयाँ शक्तिलाई डेब्यु गराइदिए । भविष्यमा पनि सुध्रिएनौँ भने अकल्पनीय परिणाम भोग्नुपर्ला भन्ने किसिमको सन्देश पनि दिए ।

नयाँ पुस्ता र पुराना पुस्ताबीच सोचमा फरक :
पुरानो पुस्ता आफ्नो त्याग तपस्याको महिमागान गरेर सधैँ आफू र आफ्नाले अवसर पाउँनुपर्ने सोच राख्दछ भने नयाँ पुस्ता पुरानो नेताको सावाँ ब्याज सबै उठिसकेको र यो पुस्ता सेवाप्रवाहमा गम्भीर नभएको कारण जनतामा सेवा प्रवाह गरी समृद्धि अभियानलाई अगाडि बढाउँन चाहन्छ । नयाँ पुस्ता माक्र्स, लेनिन वा बीपी कोइरालाका राजनीतिक दस्ताबेज पढेर बहस गर्नेभन्दा जनताका पिरमर्का बुझेर जनताका अप्ठ्यरा काममा सहजीकरण गरिदिन चाहन्छ । दुनियाँमा चलेको प्रचलन पनि यही हो । पुरानो पुस्तालाई जनतालाई परिणाम दिनेभन्दा आफू सत्तामा टाँसिइरहनेमा आतुरता छ । आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने भन्ने देउवा, रामचन्द्र र ओली, प्रचण्डको गनगन यस्तै सोचको परिणाम हो ।

अहिलेको पुरानो पुस्ता काममा भन्दा कुरामा विश्वास गर्दछ । मौका पर्नासाथ आफू र आफन्तको फाइदाका लागि लम्पट भएर लागिपर्छ । जनताले नेताहरूमा उच्च नैतिक आचरण भएन भने पनि औसत आचरणको अपेक्षा गरेको छ । तर, नेताहरू जनतामा आफ्नो छवि बनाउने, सुधार्नेमा भन्दा सत्ता समीकरण बनाउँने भत्काउनेमा व्यस्त छन् । समीकरण बनाउँदा न्यूनतम साझा कार्यक्रम कहिल्यै प्राथमितकामा पर्दैन । कहिलेकाहीँ बनिहाल्यो भने पनि सत्ता स्वार्थका लागि मात्र बनेको हुन्छ । सत्तारोहण भइसकेपछि त्यसको कहिल्यै खोजी हुँदैन ।
प्रधानमन्त्री देउवाकी पत्नी आरजुलाई र गृहमन्त्रीकी पत्नी मञ्जुलाई समानुपातिकको माथिल्लो स्थानमा राख्ने ब्यग्रता, प्रचण्डको, प्रचण्ड जनताको आलोचनाका बीच पनि निर्माण व्यवसायी अधिकारीको घरमै बस्नुपर्ने अवस्था, माधव नेपालले नयाँ पार्टी गठनको प्रक्रिया चलिरहेको समयमा राजदूतमा आलोचनारहित र गतिलो पात्र छानेर जनतामा सन्देश दिनुको साटो आफ्नै ज्वाइँलाई नियुक्ति गर्ने रुचि, उपेन्द्र यादवको आफ्नै छोरालाई र यादव बन्धुहरूलाई अवसर दिने हुट्हुटीलगायत धेरै कामले नेताहरूको स्वार्थी र जनताप्रति हेपाहा व्यवहार भएको विषय सञ्चार भइरहेको थियो ।

यस्तै निजी स्वार्थ प्रेरित सोचका कारण यी नेताहरूले नेपाली जनताको मुक्तिका लागि र जनताको हितका लागि संघर्ष गरेका थिए कि आफ्नै गरिबी निवारणका लागि गरेका थिए भन्नेमा नयाँ पुस्तामा अन्यौल पैदा भयो । अन्यौलमात्र रहेन, यी नेताहरूबाट मुलुकको रूपान्तरण सम्भव छैन भन्ने निष्कर्षमा नयाँ मतदाता पुगे जसका कारण मुलुकमा नयाँ शक्तिको उदय भयो । ठूला पार्टीहरूको आकार सानो भयो ।

संकेतमात्र हो आँधी आउँन बाँकी :
मतदाताको यो अभिमत संकेतमात्र हो । यो संकेतलाई ठूला पार्टीको नेतृत्वले बुझ्न सक्नुपर्दछ । बुझ्न सकिएन भने २०८४ साल आउँछ । त्यति बेलासम्म नेपालको राजनीतिक परिदृश्य अर्कै बन्न सक्दछ । पिछडिए र अवसर नपाएकाको स्थानमा कांग्रेससँग निजी स्वार्थको मात्र साइनो जोडिएका सम्भ्रान्त महिला लगायतलाई अनुमोदन गर्न कांग्रेसलाई परम्परागत रूपमा मतदान गरिरहेका मतदाताको हात रूख चिहृनमा भन्दा मतपत्रको अन्तिमतिर भएको घण्टीतिर सोझिएको विषय कांग्रेसको उल्लेखनीय रूपमा घटेको समानुपातिक मतबाट प्रष्ट हुन्छ ।

सबैभन्दा बढी मत ल्याएर निर्वाचित हुने प्रत्यक्षतर्फ पहिलो भएको भ्रममा कांग्रेस नेतृत्व, जुँगामा ताउ लगाएर बसेको छ भने त्यो उसको भ्रममात्र हो । गगन र विश्व प्रकाशहरूले मतदातामाझ आशा र भरोसा सञ्चार नगरेका भए कसलाई मतदान गर्दा कांग्रेस हार्छ, त्यसैलाई मतदान गर्ने मनस्थितिमा मतदाता थिए । शेरबहादुर, प्रचण्ड, माधवको चुनावीसभाबाट जनता विकर्षित भइरहेका थिए । चुनावपछिको प्रधानमन्त्री को हो भन्ने स्पष्टता नभएको अवस्था, सम्भावित प्रधानमन्त्रीको कमजोर व्यक्तित्व र क्षमताबाट वाक्क भएका मतदाता उनीहरूका हरेक अभियानबाट विकर्षित भइरहेका थिए ।

मतदाताको यो अभिमत संकेतमात्र हो । यो संकेतलाई ठूला पार्टीको नेतृत्वले बुझ्न सक्नुपर्दछ । बुझ्न सकिएन भने २०८४ साल आउँछ । त्यति बेलासम्म नेपालको राजनीतिक परिदृश्य अर्कै बन्न सक्दछ ।

आक्रोश र कुण्ठा पालेर बसेका थिए । मतदानको दिन त्यो आक्रोश पोखियो । मतदाताले अपवादबाहेक उपयुक्त फैसला गरेका छन् । पार्टीभन्दा व्यक्ति र उसको क्षमता हेरेका छन् । विवेक प्रयोग नगरी नेताको पछाडि लम्पट भएर लाग्नेहरू अपवादबाहेक पराजित भएका छन् । ठूला भनिएका पार्टीका ठूला नेताहरू अझै पनि मतदाताको रुझानलाई बुझ्न तयार देखिँदैनन् । पार्टीको कार्यशैलीबाट वाक्क भएका जनताले रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले पाएको सफलतालाई बद्नाम गर्न अनेक कथा बनाउँन प्रयत्न गरिरहेका छन् ।

यस्तो कथाको सुरुवात उखान टुक्काविज्ञ नेता ओलीबाट सुरु भएको छ । अमेरिकामा पनि फ्रिडम नामको पार्टी छ, त्यसको नाम पनि घण्टी छ । यो संयोगमात्र होइन होला आदि इत्यादि । कसैलाई क्रिश्चियन मत आएको कसैले एमसिसी समर्थक भएको, कसैले विदेशी पैसा आएको आदि इत्यादि । रवि लामिछाने दूधले धोएर चोखो बनाइएका कमजोरीरहित पात्र अवश्य होइनन् तर नेता र नेताका आसेपासेले भन्न खोजेको जस्तो विदेशी शक्तिबाट परिचालित पनि होइनन् । एउटा कुरा अवश्य हो, विदेशमा बस्ने नेपाली र नेपाली मूलका नागरिकहरूले आफ्ना नेपालस्थित आफन्तलाई घण्टीमा मतदान गर्न भनेका हुनसक्छन् । जसरी बालेनको लहर आउनुमा विदेशस्थित नेपाली मूलका व्यक्तिहरूको ठूलो भूमिका थियो ।

रवि, नेताहरूको कमजोर व्यक्तित्व, सेवा प्रवाहमा भएको कठिनाइ, नेताहरूको द्रव्यलिप्साको कारण मतदातामा सिर्जना भएको असन्तुष्टिको उपज हो । यसलाई समयमै बुझेर नेताले आफूलाई सच्याउन सकेर पार्टीभित्र नवीनता थपी पुस्तान्तरणको प्रक्रिया सुरु गरे भने पुराना पार्टीहरूको साख बढ्न सक्ला । त्यसो भएन भने यसपछि हुने निर्वाचनहरूमा मतदाताले राम्रो बदला लिनेछन् ।

पार्टीप्रति प्रतिबद्ध मतको घट्दो रुझान, स्विङ मतदाताको बढ्दो संख्या, इतिहासको गाथामा भन्दा सेवा प्रवाह र जीविकामा सहजता खोज्ने नयाँ पुस्ताको रुझान, परिवारको आर्थिक हैसियत भएको वैदेशिक रोजगारमा भएको व्यक्तिको परिवर्तनकारी नयाँ शक्तिलाई मत दिलाउने चाहना, समग्र मतदाताको परिणामलाई मूल्यांकन गरी मतदान गर्ने चाहनालाई बुझ्न सकिएन भने गनगने पुस्ताको गनगने भाषा जनताले बुझ्ने छैनन् । पुस्तान्तरणका लागि अगाडि बढ्नेछन् । त्यस्तो पुस्तान्तरणका लागि उपयुक्त पात्रको खोजी हुनेछ । मतदाताको स्पष्ट सन्देश हो–अब गनगन पुस्ता होइन गगन पुस्ता ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?