सरकार आलोपालो चलाउने सहमति भएको छ : माओवादी नेत्री शर्मा

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

रुपन्देही । दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) की नेतृ रेखा शर्माले सरकारको नेतृत्व आलोपालोले गर्ने निर्णय भएको तर पहिला कसले नेतृत्व गर्ने भन्ने बारेमा सहमति जुटाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले नेपाली काँग्रेसको प्रधानमन्त्रीमा दाबी रहनु स्वाभाविक भएको पनि बताउनुभएको हो ।

उहाँले पार्टीबाट प्रधानमन्त्रीको लागि को आउने भन्ने निणर्य पार्टीको मात्रै भएको बताउँदै यसको विषयमा बाहिरबाट टिका टिप्पणी हुन आवश्यक नरहेको बताउनु भयो । उहाँले माओवादी केन्द्र पनि गठबन्धनको दोस्रो ठूलो दल भएको बताउँदै पार्टीका अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेताहरुसँग छलफल गरेर प्रधानमन्त्रीको टुंगो लाग्ने बताउनु भयो ।

उहाँले माओवादी केन्द्रले गठबन्धनमा कुनै घात नगर्ने प्रक्रिया दिँदै माओवादीलाई विश्वास गर्न आग्रहसमेत गर्नुभयो । नेतृ शर्माले पार्टीले मन्त्री पद दिए आफू जिम्मेवारी पूरा गर्न सक्षम रहेको बताउनु भयो । नेतृ शर्माले लुम्बिनी प्रदेशको राजधानी तोक्ने विषयमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा भएपनि माओवादीको समर्थन र अग्रसरताले मात्रै सम्भव भएको बताउनु भयो । उहाँले पोखरेलले राजधानी आफू र एमालेले लगेको श्रेय लिनु गलत भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुनै एउटा पार्टीले मात्रै सरकार बनाउन सम्भव छैन, त्यसैले छलफलमा छौँ । प्रधानमन्त्री को हुन्छ भन्ने विषय छ, त्यो सहमतिका आधारमा ल्याउनुपर्छ भन्नेकुरा हो । आलोपालो प्रधानमन्त्री बन्ने भन्नेकुरा शीर्ष नेताहरु बसेर छलफल गर्नुभएको छ, बाहिर सार्वजनिक भएकै कुरा हो । कोबाट शुरुवात हुन्छ भन्नेकुरा सहमतिमा गर्नुपर्छ । को व्यक्ति हुन्छ भन्नेकुरा प्रधान होइन, गठबन्धनले के गर्छ भन्नेकुरा महत्वपूर्ण छ । देश विकास, समृद्धि, संविधानको रक्षाका कुराहरु धेरै महत्वपूर्ण छन् । देशको समृद्धिका लागि नयाँ ढंगले सोच्नुपर्ने जरुरी छ । पार्टीलाई कमजोर बनाउनु भनेको व्यवस्था कमजोर हुनु हो । व्यवस्था कमजोर भनेको देश कमजोर हो । गठबन्धनबाट दायाँबायाँ हुनु हुँदैन ।’

नेतृ शर्माले राजनीतिक दलहरूले युवाहरूलाई पनि सम्मानजनक रूपमा अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो । उहाँले युवाहरूको जबर्जस्ती हस्तक्षेप भन्दा पनि नयाँ भिजन र सोचका साथ अगाडि बढ्दा मुलुक सही मार्गमा जाने स्पष्ट पार्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?