पहेँलो तोरीले ढाकियो सिन्धुलीका बारी

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 6 mins

सिन्धुली । सिन्धुलीका किसानले बारीमा लगाएको तोरी ढकमक्क फुलेर पहेँलै भएको छ । यहाँको सौन्दर्यले आँखालाई लोभ्याउँछ, मनोरम दृश्यले रोमाञ्चित बनाउँछ । लाग्छ, धर्तीमा सुन फलेको छ । सुनजस्तै पहेँलै तोरी फुलेका छन् । मौरी र भमराको भुनभुन आवाज संगीतमय भएर गुञ्जिएको छ । संगीत र सौन्दर्यताको वयान गरिसाध्य छैन । फूलमा फोटो खिच्न, सुगन्धको आनन्द लिन र संगीतमा टिकटक बनाउन आन्तरिक पर्यटकमात्रै होइन, सडकमा सवार यात्रुहरूसमेत तोरीबारी धाउने गरेका छन् ।

फोटो खिच्ने, भिडियो बनाउने र नाचेर टिकटक बनाउन निजी गाडीमा हिँड्ने यात्रुहरू पनि आउने र तोरी बारीमा घण्टौं बिताएर फर्किने गरेको तोरीबारी धनी गुणराज काफ्लेले बताउनुभयो । गाउँ र खेतबारीको बीचबाट विस्तार भएको मदन भण्डारी राजमार्गमा यात्रा गर्ने जोकोहीले यहाँको सौन्दर्य देख्न सक्नेछन् ।

दुधौली नगरपालिका-२ भलुवाहीमा पुष्कर थापा तोरी बारीको फोटो खिच्दै गरेको अवस्थामा भेटिनुभयो । मदन भण्डारी राजमार्ग हुँदै सिन्धुलीमाडी बजार हिँड्नुभएका उहाँले तोरीबारीको सौन्दर्यले रोकेको बताउनुभयो । फाँटमा तोरी फुलेका र हरियाली देखिएको पहाडलाई फोटो, भिडियोमा कैद गर्न आफूलाई मनपर्ने उहाँले सुनाउनुभयो । ‘यो तोरी फाँटसँग छुट्ने मनै छैन । दुई घण्टा बिताइसकेँ, फोटो र भिडियो थुप्रै खिचिसकेँ,’ उहाँले भन्नुभयो ।

दुधौली नगरपालिका-३ चारघरेमा सरला सुनुवार पनि किसिम-किसिमको पोज दिँदै फोटो खिच्दै गरेको भेटिनुभएको भयो । झुंङ्गा-जगडी-धनसरी सडकमा यात्राका क्रममा बाटैमुनि देखिएको तोरी बारीले आफ्नो ध्यान तानेको उहाँले बताउनुभयो ।

कमलामाई नगरपालिका-१४ रानिबासमा पनि यसैगरी तोरीले बारी पहेँलै भएको छ । यहाँ पनि आन्तरिक तथा राजमार्गमा सवार यात्रुहरू रम्न, रमाउन पुग्छन् । विशेषगरी युवा र युवतीहरू यहाँ आउने गरेको स्थानीय किसान रामबाबु दनुवारले बताउनुभयो । ‘सार्वजनिक बिदाको दिन यो तोरीबारीभरि युवायुवतीको भिड नै लाग्छ, मोबाइल हातमा लिएर समूह नै आउँछन्,’ उहाँले भन्नुभयो ।

यसपटक जिल्लामा करिब पाँच हजार हेक्टरमा तोरी खेती लगाइएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ । तोरी तेलहन बालीअन्तर्गत पर्छ । यो बाली जिल्लाका नौवटै पालिकामा हुने गरेको सूचना अधिकारी श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष चार हजार ८९७ हेक्टरमा लगाइएको थियो । सो वर्ष चार हजार ४७७ मेट्रिकटन तोरी उत्पादन भएको उहाँले बताउनुभयो । त्यस वर्ष दुधौली नगरपालिकामा सबैभन्दा बढी ९२२ हेक्टर क्षेत्रफलमा लगाइएकोमा ८४३ मेट्रिकटन उत्पादन भएको र सबैभन्दा कम फिक्कल गाउँपालिकामा २०५ हेक्टरमा लगाइएकोमा १८७ मेट्रिकटन तोरी उत्पादन भएको थियो,’ उहाँले भन्नुभयो ।

त्यसैगरी आर्थिक वर्ष आव २०७७/०७८ मा चार हजार ५४४ मेट्रिकटन तोरी उत्पादन भएको थियो । सो आवमा चार हजार ५४४ हेक्टरमा तोरी खेती लगाइएको थियो । २०७६/०७७ मा चार हजार ४४४ मेट्रिकटन तोरी उत्पादन भएको थियो । सो आवमा चार हजार ८०५ हेक्टरमा तोरी खेती गरिएको उहाँले बताउनुभयो ।

तोरीको तेल बहुउपोगी मानिन्छ । खानका लागि होस् वा मालिस गर्नका लागि सुत्केरी, नवजात शिशु, बुढापाकाको शरीरमा मालिस गर्न तोरीको तेल नै खोजिन्छ । त्यसैगरी कपाललाई बलियो, मुलायम, चम्किलो बनाउन तोरीको तेल लगाउने गरिन्छ । तोरी तराई वा पहाड दुवै हावापानीमा लगाउने बाली हो । कम तापक्रम, सफा सुक्खा मौसम, प्रशस्त घाम र उपयुक्त चिस्यान भएको अवस्थामा तेल उत्पादन राम्रो हुन्छ । यसको बोट सानो हुँदा सागसब्जीका रूपमा खाने गरिन्छ । यसको गुन्द्रुक पनि स्वादिष्ट हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?