कविता : ए आमा !

हिमालय टाइम्स
Read Time = 3 mins

✍️ रमेशप्रसाद गौतम

ए आमा
तिम्रो काखमा म हुर्किए
आज तिम्रो पीडामा
म मर्महात भएको छु
आफैँले आफूलाई समाल्न सकिरहेको छैन ।
म बसेको आफ्नै घर
पराइको जस्तो लाग्न थालेको छ
किन यसरी डराइरहेछ मन
क्रन्तिकारी परिवर्तनको नारा दिनेहरूले
गरिबीको चिहान खनेर
अहोरात्र पैसामा दौडिरहेका छन् ।

यहाँ कैयौं रात चिच्याइरहेका थिए
धेरै वंश विनाश भएर पनि
चित्त बुझाएका थिएनन्
आन्दोलनका नाममा
धेरै भस्म भए
हजारौं शिल्पीहातहरू कँुजिएर पनि
निर्माणका आँखाहरूका झिल्ली झरे ।

नदी खेतबारी र वनका सपनाहरू
भत्किएर विमाख भए
हरेक गाउँका बस्तीहरू
उजाड बनेका छन्
शहर सौन्दर्य हराएर कुरूप बनेको छ
नाला र फोहरको डंगुरले पुरिएको छ
यहाँ मानवताको कुनै मूल्य छैन
केवल नारा र भाषण छ ।

ए आमा !
तिम्रा कोखका सन्तानहरू
जन्मेर पनि बाँच्न मुस्किल छ
तिमीले नै जन्माएका हाम्रा पुर्खाहरू
कति पौरखी थिए
तिनका वीर गाथाहरू
इतिहास देखेर पनि
मन कसैको नछुने
किन यस्तो भिन्नता ?
एउटै आमाले जन्माएका
सन्तान पृथ्वी, वीर बलभद्र,
अमरसिंह, बिपी, देवकोटा होइनन् र ?

आज आमा तिम्रै सन्तान कपूत भएर
आमा तिम्रो लाम्टो मात्र चुसेनन्
सिंगो तिम्रो शरीरलाई नै बन्दक राख्न खोज्दैछन् ।
सिंगो मुलुकको वेदनामा
हर्ष उल्लास मनाइरहेका छन्
आमा तिम्रो वेदनामा
मुलुक छट्पटाइरहेको छ
यसैलाई अवसर ठानेर
कतिले लुटिरहेका छन्
यसैमा कैयौं घरबारविहीन भएका छन्
विनामिहेनत गगनचुम्बी महल र चिल्ला गाडी छन्
त्यसैका लागि निमुखाको हुर्मत लिएका छन् ।

भूकम्पका कम्पनले भत्किएका घरबारीहरू
अझै जिर्ण र बेकम्मा छन्
तिनका बास र गाँसको थिति छैन
तिनका नाउँमा चुस्ने ब्वाँसाहरूले
महल र शहर ठड्याएका छन्
गरिब निमुखा निमोठिएका निमोठियै छन्
करोडांै घोटलामा मौनताले
लामो विश्राम लिएको छ ।

आमा यस्तै छ यहाँको चाल
अब जन्माऊँ अर्काे महाँकाल
अनि मेटाइदेऊ तिम्रै कुकाल
सिर्जना गर नेपालीको सहकाल ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?