जग्गा धनी पुर्जाको लागि अनियमित रकम असुलिएको भन्दै विरोध

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 6 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ क्षेत्रमा जग्गाधनी पुर्जा वितरण कार्यमा अवैध रकम असुली भइरहेको भन्दै त्यहाँका नागरिकहरुले विरोध गरेका छन् ।

नागरिकहरुबाट प्रति धुर १० हजार नियम विपरित अतिरिक्त रकम असुलेर मात्रै जग्गा धनी पुर्जा वितरण गर्ने गरिएको भन्दै सामुहिक रुपमा वडा नम्बर ९ का वडा कार्यालय नजिकैको भवनमा वडाध्यक्ष चन्द्रकान्त चापागाँइको उपस्थितीमा नागरिकले विरोध जनाएका हुन् ।
यस प्रकरणको विरुद्धमा बर्दघाट नगरपालिका वडा नम्बर ९ का वडा सदस्य समेत रहेका त्यस क्षेत्रका स्थानिय बालेन्द्र बिक्रम शाहीको नेतृत्वमा २७ सदस्यीय संघर्ष समिति समेत गठन भएको छ । आज सोही संघर्ष समितिको नेतृत्वमा वडाअध्यक्षलाई यस प्रकरणको बारेमा नागरिकहरुले प्रश्न गरेका हुन् ।

हाल भुमिसुधार तथा मालपोत कार्यालय नवलपरासी बसुपले प्रक्रिया पुरा गरेका अव्यवस्थित बसोबास तर्फको जग्गा धनी पुर्जा वितरण गरिरहेको छ । तर, उक्त जग्गाधनीपुर्जा लिनको लागि नागरिहरुले राज्यलाई तिर्नुपर्ने दस्तुर बाहेक प्रति धुर अतिरिक्त १० हजार रुपैयाँ तिर्न बाध्य भएको बताइएको छ । वडा नम्बर ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाँईले अव्यस्थित बसोबास अन्तगतको जग्गालाई जग्गाधनी पुर्जा वितरण गराउनको लागि आफूले निकै मेहनेत गरेको भन्दै आफूलाई रकम असुलीको विषयमा कुनै जानकारी नभएको बताउनुभएको थियो । चापागाँईले घरगोठ सिफारिस वापतको रकम आफ्नो कार्यालयले लिएको तर कुनै अवैध असुलीमा आफ्नो संलग्नता नरहेको बताउनु भयो । वडाध्यक्ष चापागाँईले अन्यत्रै रकम बुझाएको विषय आफूलाई थाह नभएको र आफूलाई बदनाम गर्ने प्रयास गरिएको भन्दै उक्त विषय आफूलाई सरोकार नभएको बताउनुभयो । तर, नागरिकहरुले भने वडाको अभिभावकले त्यसरी पन्छिन नहुने धारणा राखेका थिए ।
संर्घष समितिका संयाजक बालेन्द्र विक्रम शाहीले अब जग्गाधनी पुर्जा लिने व्यक्तिहरुले अतिरिक्त रकम तिर्न नपरोस भनेर आफूहरुले अभियान सञ्चालन गरेको बताउनुभएको थियो । अतिरिक्त रकम तिरेर जग्गा धनी पुर्जा बनाएका केही नागरिकहरुले लामो समयपछि राज्यले जग्गाधनी वितरण गर्न लागेको र अतिरिक्त रकम नतिरे पुर्जा नपाइने डरले आफूहरुले प्रतिधुर १० हजार रुपैयाँ तिरेको बताएका छन् । केही नागरिहरुले पैसा तिरेको विषयमा बाहिर जानकारी गराउँदा हातमा आएको पुर्जा समेत गुम्ने डरले गुपचुप बस्न बाध्य भएको समेत बताएका छन् ।
नागरिकहरुले त्यस क्षेत्रका विचौलियालाई रकम बुझाएको बताएका छन् । संघर्ष समितिले आजै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठलाई भेटेर उक्त विषय जानकारी गराउने कार्यक्रम तय गरेको थियो । नगरप्रमुख श्रेष्ठ जिल्ला बाहिर नहनुभएको हुँदा आउँदो मंगलबार मात्रै नगरप्रमुखलाई भेट गर्ने कार्यक्रम तय भएको थियो ।

त्यस क्षेत्रमा कुल ४ सय ५ घरधुरी अव्यस्थित बसोबास अन्तरगत पर्दछ भने ३ सय ८१ जनाको जग्गाधनी पुर्जाको कागजात अगाडी बढेको छ । त्यस्तै १ सय ७९ जनाले राज्यलाई राजश्व बझाएका छन् भने ८२ जनाले हालसम्म जग्गाधनी पुर्जा नै पाइसकेका छन् । जग्गाधनी पुर्जा लिएका सबैले नै रकम बुझाएको स्थानियको भनाई रहेको छ । कुल ५ बिगाहा जग्गा त्यस प्रकृतिको रहेको छ । त्यसरी प्रति धुर अतिरिक्त १० हजारको दरले असुल गर्दा करिब २ करोड रुपैयाँ हुनेछ । तर, उक्त अतिरिक्त रकम राज्य कोषमा भने जाँदैन । नागरिकहरुले तिरेको उक्त रकम विचौलियाको माध्यमबाट विभिन्न व्यक्ति तथा निकायहरु समक्ष पुग्ने गरेको त्यहाँका स्थानियहरुको भनाई रहेको छ ।

गत २०७८ फागुन २७ गते शहरी विकास मन्त्री रामकुमारी झाक्रिकै उपस्थितीमा जग्गा धनी पुर्जा वितरण गर्ने कार्यका उद्घाटनको तयारी गरिएको थियो । तर, कार्यक्रमको लगभग सबै तयारी गरिसकेपछि अन्तिम समयमा उक्त कार्यक्रम स्थगित भएको थियो । अहिले अवैध रकम असुल गर्नको निमित्त त्यस कार्यक्रम अन्तिम अवस्थामा स्थगित गरिएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?