‘सामाजिक उद्यमशीलतामा युवा अवसर र चुनौती’ विषयमा अन्तरक्रिया

हिमालय टाइम्स
Read Time = 3 mins

ललितपुर । सेवा नेपालले ‘सामाजिक उद्यमशीलतामा युवा अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । ललितपुरमा आयोजित उक्त कार्यक्रममा विभिन्न निकायका सरोकारवाला र विषयविज्ञहरूको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा युवाहरूलाई कसरी उद्यमशील बनाउने भन्ने विषयमा विज्ञहरूसँग सल्लाह-सुझाव गरिएको थियो । कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका पूर्व-अध्यक्ष सुरेश प्रधान र हस्तकला महासंघका ईश्वर गुरुङले कसरी उद्यमशील बन्ने भन्ने विषयमा आफ्नो भनाइ राख्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै प्रधानले सामाजिक क्रियाकलापसँगै अब संघसंस्थाहरूले समाजमा युवाहरूलाई उद्यमशील बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने भन्दै साना लगानीका उद्योगहरूसमेत महासंघमा जोडिनुपर्ने बताउनुभयो । त्यस्तै, गुरुङले अब युवाहरूलाई निर्वाहमुखी नभई व्यावसायिक उद्यमतर्फ अग्रसर गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थामा आबद्ध विभिन्न बुद्धिजीवीहरूले आफ्नो धारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा सामाजिक उद्यमशीलताको अवधारणा र उदाउँदो प्रवृत्तिका सामाजिक उद्यम, परम्परागत जीविकोपार्जनका अभ्यासहरूलाई कसरी आधुनिक समयका सीपहरूसँग मिलाएर सामाजिक उद्यम विकास गर्ने, सामाजिक उद्यमको अवस्था र सामाजिक उद्यमीप्रति सरकारको दृष्टिकोण, सामाजिक उद्यमबाट उत्पादित वस्तु तथा सेवाको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनको सरकारी नीतिलगायतका विषयमा छलफल गरिएको थियो । प्रमुख अतिथि तथा युवा तथा स्वरोजगार कोषका निर्देशक विष्णुमोहन अधिकारीले यस्ता कार्यक्रमहरूमा सरकार हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउँदै सहकार्यका लागि अपिलसमेत गर्नुभएको थियो । कार्यक्रममा संस्थाकी अध्यक्ष तथा सुरुंगा नगरपालिका सप्तरीकी नगर प्रमुख गीता चौधरीलाई सम्मानसमेत गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?