समानुपातिक तर्फको मतगणना सम्पन्न

सात पार्टीलाई राष्ट्रिय दलको मान्यता, एमालेले ३४ सिट पाउँदा कांग्रेसलाई ३२ सिट मात्र

नारायण भण्डारी
Read Time = 6 mins

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तर्फको समानुपातिक निर्वाचनको मतगणना सम्पन्न गरेको छ । मंगलबार प्रतिनिधिसभाको समानुपातिक तर्फको मतगणना सकिएको आयोगका सहायका प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । आयोगले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको १६५ सिटकै नतिजा सोमबार सार्वजनिक गरिसकेको छ । समानुपातिकमा बाँकी ११० जनाका लागि भएको निर्वाचनको मतगणना मंगलबार सकिएको हो ।

२७५ सदस्यीय प्रतिनिधिसभाका लागि मंसिर ४ गते निर्वाचन भएको थियो । अधिकांश ठाउँमा मंसिर ४ गतेको निर्वाचनपछि मतगणना भएको थियो भने दोलखा, स्याङ्जा, बाजुरा लगायतका जिल्लामा मतगणना गर्न केही ढिलाइ भएको थियो । प्रतिनिधिसभाको समानुपातिक तर्फको अन्तिम मत परिणामअनुसार सात दलले तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ पार गरेको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिकतर्फ सबैभन्दा बढी मत नेकपा एमालेले ल्याएको छ भने थ्रेसहोल्ड कटाउने सातौँ दल जनमत पार्टी बनेको छ । आयोगको वेबसाइटमा उल्लेखित अंकअनुसार एमालेले २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरेको छ । त्यस्तै, दोस्रोमा नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५, तेस्रोमा माओवादीले ११ लाख ७५ हजार ६८४, चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४, पाँचौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९, छैटौँमा जनता समाजवादी पार्टीले चार लाख २१ हजार ३१३ र सातौँमा जनमत पार्टीले तीन लाख ९४ हजार ६५५ मत ल्याएको छ । त्यस्तै, प्रदेशसभातर्फ मधेसबाहेक सबै प्रदेशमा एमाले नै लोकप्रिय मत पाएको छ । मधेशमा भने नेपाली कांग्रेस अग्रस्थानमा रहन सफल भएको छ ।

एकीकृत समाजवादीलाई राष्ट्रिय दल बन्न १८ हजार बढी भोट अपुग
सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले भने तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्न सकेन । तीन लाख १६ हजार ८०२ मतको ‘थ्रेसहोल्ड’ कायम भएकोमा एकीकृत समाजवादीले दुई लाख ९८ हजार ३९१ मत मात्रै पाएको हो । एकीकृत समाजवादीका लागि थ्रेसहोल्ड पार गर्न १८ हजार ४११ मत कमी भएको हो । प्रत्यक्षमा १० सिट जितेर पनि एकीकृत समाजवादीले समानुपातिकको सीमा कटाउन नसक्दा राष्ट्रिय पार्टीको मान्यता पाउनबाट चुकेको छ ।

गत वर्ष नेकपा एमालेलाई विभाजन गरेर तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले एकीकृत समाजवादी गठन गर्नुभएको थियो । स्थानीय तह निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा सत्तामा रहेका दलहरूले चुनावी तालमेल गरेको भए पनि प्रतिनिधिसभाको निर्वाचनमा एकीकृत समाजवादीले तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्न सकेन । एकीकृत समाजवादीले प्रत्यक्षतर्फ २० ठाउँमा उम्मेदवारी दिएको थियो । समानुपातिकमा सहभागी भएका ४७ दलमध्ये सात दलले मात्रै थ्रेसहोल्ड कटाउँदा बाँकी ४० दल भने उक्त सीमा पार गर्न असफल भएका छन् ।

कसको कति सिट ?
एमालेको समानुपातिकमा ३४ र प्रत्यक्षको ४४ गरी ७८ सिट पुगेको छ प्रतिनिधिसभामा । कांग्रेसको प्रत्यक्षको ५७ र समानुपातिकको ३२ गरी ८९ सिट हुँदा माओवादी केन्द्रको प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी ३२ सिट पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रत्यक्षमा सात र समानुपातिकमा १३ गरी २० सिट, राप्रपाको प्रत्यक्षमा सात र समानुपातिकमा पनि सात गरी १४ सिट, जनता समाजवादी पार्टी प्रत्यक्षमा सात र समानुपातिकमा पाँच गरी १२ सिट र जनमत पार्टीको समानुपातिकमा पाँच र प्रत्यक्षमा एक गरी ६ सिट हुन जान्छ ।

थ्रेसहोल्ड पार गर्ने सात दलका प्रतिनिधिसभामा २५१ जना सांसद पुग्छन् । स्वतन्त्र पाँच, एकीकृत समाजवादीका १०, नेपाल मजदुर किसान पार्टीका एक, राष्ट्रिय जनमोर्चाका एक, नागरिक उन्मुक्ति पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टीका चारजना गरी प्रतिनिधिसभाको २७५ जनाको संख्या पूरा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?