✍️ रमेशप्रसाद गौतम
१४ गतेको अंकबाट क्रमशः
म सानु छँदा आमाका पछि लागेर रुँदै हिँड्दा बाटोमा एउटा ढुंगामा अल्झिएर नङसमेत फुत्लिएर रगत बग्यो । आमाले देख्नु भयो र आत्तिदै बोकेर जेठाबाकी बुहारी मेरी भाउजू उहाँ कुपुुण्डोलकी ढकालकी छोरी हुनुहुन्थ्यो । गाउँ घरमा मेरी आमालाई उनले सामान्य झारफुक गरेर निको पार्नुहुन्थ्यो भन्ने विश्वास थियो । त्यसैले उहाँ भए ठाउँ लग्नुभयो । उहाँले दही चिउरा मोलेर मेरो घाउँमा लगाइदिनुभयो टालो बाँधिदिनुभयो । दुख्न कम भएको अनुभव त भयो तर घाउ धेरै दिनसम्म निको भएन । पछि पिताजीले भरत कम्पान्डरलाई बोलाएर ल्याउनु भयो र उनले डे«सिङ गरेर आइडन लगाइदिए । त्यसपछि केही दिनमै निको भयो ।
सानोमा मलाई पटकपटक मसाने खटिरा आएको सम्झना छ । यस्तो हुँदा आमा मलाई भाउजूकोमा लग्नु हुन्थ्यो । उहाँले बारीबाट गहत उखेलेर ल्याउनुभयो र घोटेर लगाइदिनुभयो । मलाई शीतल भएको अनुभव भयो । त्यसपछि मेरी फूपु दिदीले पुरानो कालिमाटी निवासी रामनाथ लामिछाने दाइका ल्याएर फूक्न लगाउनु भयो । मेरो मसाने खटिरा निको भयो । यसै गरी मेरा घाँटी शरीरमा जनै खटिरा आयो । मेरी फूपु दिदीले रामनाथ दाइका ल्याएर सिंह बनाएर फुकेर निको भयो ।
जागिरेको तलबले नुन तेलको जोहो गर्न पनि मुस्किल मुस्किल पर्दथ्यो । जागिर त खालि सामाजिक इज्जतका लागि मात्र थियो । हाम्रा दाइहरू जागिरे भएका भरमा रवाफिन्थे । वरपर सबैले जागिरे भनेपछि राजाको सिंदुर लाएको मान्छे भनेर इज्जत दिने प्रचलन थियो ।
सानामा मलाई याद आउँछ । हाम्रा घरमा दुईवटा दुहुना भैंसी र एउटा गाई हुन्थ्यो । सहयोगी गोरे दाइ र श्रीमान् दाइ हुन्थे । उनीहरू मलाई माया गर्थे । भैंसीलाई दुहुने गाईभैंसीको गोबर सोहोर्नेलगायत सबै काम गर्थे । दुई दिन बिराएर मोही तुल्याउने चलन थियो । मोही तुल्याउने काम पिताजी वा ठूलो दाइले गर्नुहुन्थ्यो । मोही तुल्याएपछि ठूलो आरीभरी नौनी हुन्थ्यो । नौनी तताएपछि आमाले छोराहरूलाई भातमा प्रत्येक दिन हालेर खान दिनु हुन्थ्यो । पछि पिउन लगाउनु हुन्थ्यो । म त्यत्ति पिउन मन पराउँदैनथेँ । आमाले अब नौनी पियाउनु हुन्छ भनेर भाथेँ । आमा पछिपछि दौडेर भाउजूहरूको सहयोग लिएर मेरो मुख खोलेर पियाउनु हन्थ्यो । हाम्रो दिउँसो खाजाको रूपमा मकै भटमास गहँुको रोटी चिउरा हुन्थ्यो । त्यति बेलाको गाउँघरको राम्रो परिकार भनेको सेल रोटी, अनर्सा, फिनी, मालपुवा आदि हुन्थ्यो । खासै तडकभडक थिएन । सामान्य लुगा लगाउँथे । हामी पनि जाडो र गर्मी यामका कपडामा सीमित हुन्थौँ । जाडो याममा बाहेक अरू बेला खाली खुट्टा हिँडने चलन थियो । पिताजी र दाजुहरू गाउँकै सार्कीले सिलाएका जुता लगाउथे । हाम्रा लागि कपडाका एक जोर जुता किनिदिने गर्दथे ।
तत्काल पाका मान्छेले एक काने पलानचोके जुत्ता लगाउने गर्दथे । पिताजीको पनि एक काने पलानचोकी जुत्ता थियो । त्यो जुत्ता घरको तल्लो मटान बाहिरको पेटीमा घाममा राखिएको रहेछ । एक दिन म चल्दै गर्दा गर्दै मटानको पेटीमा हात पुगेछ । ती दुवै जुत्ता एकै चोटी तल खसे । खसेको पत्तै थिएन । एक्कासि भँगेरा चरा च्याच्या गरेर कराएको आवाजले म झस्किएँ तर हेर्छु र दुईटा भँगेरा छटपटाएको देखेँ आमालाई बोलाउन तल गएँ । आमाले थाहा पाउनुभए छ । हत्तपत्त अम्खोरामा पानी ल्याएर मुखमा दालिदिनुभयो तर ती दुवै चरा मरे । म विस्मातमा परेँ । म दुःखी भएँ ।
आमाले किन मटानको पालीमा गएको भन्नुभयो । म यत्तिकै खेल्दैथिएँ । जुता खसेको पत्तै भएन भनेँ । आमाले भइगो अब चराहरू भएका ठाउँमा केही होला कि भनेर ख्याल गर्नू भन्नुभयो । मरेका चराहरूको स्वर्गवास होस् भनी भगवानसँग प्रार्थना गर्दै मेरो अन्जान नाबलक छोराका कारण यिनको मृत्यु भयो मेरो छोरालाई केही पाप नलागोस् भनी प्रार्थना गर्दै भगवानलाई ढोग्नुभयो । ती दुई चरा मरेको घटनाले म केही दिनसम्म दुःखित भएँ । शायद तिनको त्यही लेखान्त रहेछ भनी क्रमैसँग सान्त्वना बढ्दै आयो । मेरो गाउँका पढेलेखेका दाजुहरू सहरमा गएर जागिर खान्थ्ये । १ घण्टाको बाटो भएकाले दाजुहरू बिहान आठ बजे नै भात खाएर अफिस जान तयार हुन्थ्ये । ठूलो दाइले हिँड्ने बेला पनि तमाखु तानेर जाने चलन थियो । वल्लो घर पल्लो घरका दाजुहरू पनि जम्मा भएर एकै साथ गफ गर्दै अफिस जान्थे । अफिसपछि काठमाडौं डबलीमा भेला हुन्थे । नजिकैको भानदासेको मिठाइ पसल त्यति बेलाको प्रख्यात थियो । एक पाउ जेरी स्वारी सबैले खान्थ्ये । अनि विष्णुमती, ताहाचल, सेराफाँट, मनमती खोला, स्युचाटारको ढुंगा छापिएको ठाडो उकालो पार गर्दै चित्रकारीको डिलमा आएर आराम गर्थे ।
त्यसपछि घरसम्म गफ गर्दै जान्थे । अनि आआफ्ना घरमा गएर कपडा खोली हात मुख धोएर धोती फेरेर दाजुहरू भाञ्छामा गएर भात खान्थे । त्यति बेला अहिले जस्तो कर्मचारीको लागि सुविधा थिएन । जागिरेको लागि उपदान, पेन्सन वा सञ्चयकोष, विमा केहीको व्यवस्था गरिएको थिएन । तलब पनि अत्यन्त न्यून थियो । जागिरेको तलबले नुन तेलको जोहो गर्न पनि मुस्किल मुस्किल पर्दथ्यो । जागिर त खालि सामाजिक इज्जतका लागि मात्र थियो । हाम्रा दाइहरू जागिरे भएका भरमा रवाफिन्थे । वरपर सबैले जागिरे भनेपछि राजाको सिंदुर लाएको मान्छे भनेर इज्जत दिने प्रचलन थियो । हाम्रो गाउँमा दशैं तिहार आउन लाग्नासाथ सरसफाइ गर्नुका साथै गोरेटो, पेनेरो मर्मत संभार गर्दथे । आआफ्ना घर लिपपोत गरी राम्रा चिटिक्क बनाउँथे । बाबियो बटुलेर लिंगे पिङ हाल्थे भने पहिलेदेखि नै बनाएका जातेपिङ, रोटेपिङ पनि दशैं तिहारमा बनाउँदथे । खुब रमाइलो हुन्थ्यो । यसैगरी तिहारपछि ठूलो एकादशी पनि धुमधामले तुलसाको विवाह गरेर मनाइन्थ्यो । इचङ्गुलगायत मन्दिरमा साथीहरू मिलेर जानेगरिन्थ्यो । साँझ तुलसाको पूजाआजा सकिएपछि आमा शखरखण्ड, पिडालु, सुन्तला, अम्बा दिनुहुन्थ्यो हामी रमाएर खान्थ्यौँ । यसैगरी संक्रान्ति, चैते दशैँ पनि रमाइलो मानेर मनाउँथ्यौँ ।
हाम्रो गाउँमा अहिले जस्तो विद्यालय थिएन । आफ्ना अग्रजले पिँढीमा वा फलैंचामा बसेर कालो पाटीमा जान्ने जेठाबाठाले सिकाउँथे । त्यति बेला अलिअलि पढेर तमसुक लेख्न र पात्राको तिथिमिति हेर्न जान्ने पनि ठूलो मान्छे हुन्थ्यो तर हाम्रा परिवारमा चाहिँ ५ पासे वा ११ पासेहरू भएकाले त्यति समस्या थिएन । साक्षर भए छि चण्डी वा दुर्गा कवजहरू पढ्ने गर्दथे ।
तत्कालीन अवस्थामा केटाकेटीले पनि खेतीपाती र घरका सानातिना काममा सघाउनु पथ्र्यो । केटाकेटीले गोठालो जाने काम पनि गर्नुपथ्र्यो । मेरा कतिपय साथीहरू बाख्रा चराउन, गाई चराउन घरमाथिको छुसीवनतिर जाने गर्दथे । अरू छरछिमेकका साथी गएकाले पनि कहिलेकाहीँ तिनीहरूसँगै म पनि जान्थेँ । आमा रिसाउनु हुन्थ्यो । वन जंगलमा नजा भन्नु हुन्थ्यो । म अरू साथीभन्दा फूर्तिलो र हृष्टपुष्ट थिएँ । उमेरले भने ४ वर्षको मात्र । यसैले मलाई आफूखुसी जान जहाँ पनि रोक लाग्दथ्यो । २०१४ साल तिरको कुरो हुनुपर्छ । मेरो घरबाट आधाघण्टा पर नैकापमा विश्वनाथ लुइँटेलको नेतृत्व र सक्रियतामा विद्यामन्दिर स्कुल स्थापना भयो । घरको नजिक त्यही थियो । अर्कोतर्फ घरबाट झण्डै आधा घण्टा हाम्रा गाउँका अरू दाजुसहित म पनि त्यही स्कुलमा गएँ । त्यहाँ विस्तारै दाजुहरूका जिम्मामा मलाई जान आमाले पनि मञ्जुर गर्नुभयो तर वर्षायाममा त्यहाँ पनि एउटा छहरे खोला पार गर्नुपर्ने भने थियो । ठूलो पानी पर्दा भेलले बगाउन सक्थ्यो । तर त्यो समयमा एक घण्टा कुरेर वारि भए नि पारि भए नि आउने चलन थियो । डौडाली खोला तर्न वर्खायाम रमेशले सक्त्तैन भनिरहनु हुन्थ्यो ।
नैकाप स्कुलमा एक दिन मेरो छिमेकी साथी बद्री र म दौद खेल्दै थियौँ । बद्री अघिअघि म पछिपछि लखेटेझैँ गरी खेलिरहेका थियौँ । त्यही समय स्कुलका हेडमास्टर विश्वनाथ लुइँटेल आइपुगेर के गरेको भन्दै मभन्दा अगाडिका साथी बद्रीको कान समाए । उसले औंलाले मतर्फ देखाएपछि मेरो कान बेस्सरी तानेर दुखाए । मलाई रिस उठ्यो । गल्ती गरेकै होइन खालि दौड खेलेको हो किन यसरी सजाय दिए भने झैँ लाग्यो । मनमा बिझ्यो । यो कुरा आमालाई भनेँ । आमाले अहिले बर्खामासमा पनि डौडाली खोलाको पनि डर छ । त्यता नपठाउने भन्नु भयो । श्रीधर दाजुलाई चाहिँ ऊ ठूलो छ जाओस् रमेश अब घरमै बस्छ भनरे पिताजीले भन्न थाल्नु भयो । म स्कुल जानबाट रोकिएँ । घरमा बस्दै गर्दा छिमेकको भतिज पर्ने सँगैको दौतरी थियो । उसलाई प्यारो गरेर सबैले नाति भन्थे । यो चाहिँ २०११ सालतिरको हुनुपर्छ । नातिले बिहान म आँगनमा खेल्दै थिए । काका ऊ त्यहाँ खेल्न जाऊँ भन्दै माइलाबाको बारीछेउ नरकट घारीमा गयौँ ।
उसले काका बस भनेपछि हामी दुवै कसैले नदेख्ने ठाउँमा बस्यौँ । ऊसँग दुई वट्टा फूलमार चुरोट र सलाई पनि रहेछ । उसले चुरोट सल्काउँदै यो कति मिठो हुन्छ । म पहिला सल्काएर काकालाई दिन्छु भन्यो । उसले यो चुरोट खाँदा खुब मजा आउँछ । अनि रमाइलो पनि हुन्छ भन्यो । हामी दुवैको जन्म सायदै एकै दिन थियो । नातिकी आमा ऊ जन्मेपछि मेरेकी थिइन । ऊ टुहुरो भएकाले सबैले माया गर्थे । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच