नेपाली कांग्रेसका कतिपय नेताहरू त विचित्रका थिए नै, पछिल्ला समयमा यो पार्टीका सदस्यहरू समेत अचम्मका भेटिन थालेका छन् । पार्टीको सबैभन्दा अनुशासित, कर्मठ र इमानदार सदस्य आफैँलाई ठान्दछन् तर नेपाली कांग्रेसका उम्मेदवारको हारमा आफ्नो योगदान महत्वपूर्ण रहृयो भनेर सगर्व उद्घोष गर्दछन् । कहीँ कतै भेला बैठकहरू भए भने अरूलाई आफूभन्दा कमजोर देखाउने प्रयत्न गर्दछन् तर कांग्रेसका उम्मेदवारलाई धुलो चटाउन तिनै पात्रहरू भरमग्दुर क्रियाशील रहन्छन् । वास्तविकता हेर्ने हो भने जसले सबैभन्दा ठूला कुरा गर्ने गरेको छ, उही नै निष्ठा, प्रतिबद्धता र लगनशीलताका हिसाबले सबैभन्दा कमजोर पाइन्छ । पहिले पहिले काम गर्ने धेरै र गफ गर्ने थोरै थिए भने अहिले गफ गर्नेको संख्या काम गर्नेको भन्दा अधिक हुन थालेको अनुभव गरिएको छ ।
पार्टीमा कस्ता सदस्यहरू थपिँदै गएका छन् त ? नेपाली कांग्रेस, काठमाडौं वडा नं.३२ एकाइकै उदाहरण हेर्ने हो भने पनि प्रष्ट हुन्छ । यहाँ साढे चौध सय जनाले क्रियाशील सदस्यता लिएका छन् । नेपाली कांग्रेसले यो वडाबाट चौध सय मतमात्र समानुपातिकमा पायो । यहाँका नेतृत्वहरूसँग कुराकानी गर्न थाल्ने हो भने संगठन गर्ने तरिकाका बारेमा मुलुकभरका सबैलाई पढाउन सक्षम छन् जस्तो लाग्दछ तर परिणाम यस्तै आइरहेको छ । आजसम्म कुनै पनि चुनावमा नेपाली कांग्रेसले अग्रता कायम गर्न सकेको छैन तर वडास्तरका प्रत्येक नेता मात्रै होइन कि साधारण सदस्य समेत आफूलाई अब्बल घोषणा गर्दछन् ।
पार्टीमा विभिन्न खाले चरित्र बोकेका सदस्यहरूको प्रवेश भएको छ । संघर्षबाट खारिएको र योगदानका कारण राष्ट्र, पार्टी र समाजसँग निकट सम्बन्ध भएकाको संख्या घट्दै गएको छ भने अवसरको खोजीमा कांग्रेसको सदस्यता लिएकाको हुल बढ्दै गएको पाइन्छ ।
यो एक उदाहरणमात्रै हो । मुलुकभरि नै यस्तै प्रवृत्ति हावी हुँदै गइरहेको छ । पार्टीको सदस्यता लिने क्रममा नेपाली कांग्रेसको क्रियाशील सदस्य बन्ने, दिनभर पार्टीको कार्यक्रममा सहभागी हुने, बेलुका पार्टीले गरेको निर्णयविपरीतका बैठकहरूमा सक्रिय रहने र चुनावमा भोट हाल्ने बेलामा नेपाली कांग्रेसले उठाएको या समर्थन गरेको उम्मेदवारभन्दा अन्यत्रै मत दिएर आफूलाई गौरवान्वित भएको अनुभव गर्नेहरूले पार्टी कब्जा गर्न थालिसकेका छन् । गएको चुनावमा यतिसम्म देखियो कि नेपाली कांग्रेसका तर्फबाट चुनाव प्रचारप्रसार समिति या आर्थिक समिति या यस्तै कुनै न कुनै समितिको संयोजक बन्ने र आन्तरिक रूपमा नयाँ दलको प्रचार गर्दै हिँड्ने कामसमेत देशका विभिन्न भागमा भए ।
यिनै कार्यकर्ता नेताहरूका चालचलनमा औँला ठड्याउन पछि पर्दैनन् । आफूले अनुशासन पालना गर्नु पर्दछ भन्ने ठान्दैनन् तर नेताहरूका नैतिकताका बारेमा बारम्बार प्रश्न उठाइरहन पछि पर्दैनन् । पार्टीमा भए गरेका राम्रा कामका जस आफँैले मात्रै लिने र बिग्रेका जति सबै कुराको दोष अरूका टाउकामा थोपर्ने काममा यस्तै मान्छेहरू अगाडि देखिएका छन् । इमानदारीता भनेको आफूबाहेक अरू सबैले पालना गर्नुपर्ने विषय हो भन्ने ठान्दछन् । सदाचार नेताका लागि मात्रै बाध्यकारी बनाइनुपर्दछ भन्ने अभिमत बन्दै गएको पाइन्छ ।
कुनै जमाना थियो । नेपाली कांग्रेस भन्ने बित्तिकै प्रजातन्त्रका लागि संघर्षरत पार्टी यसको परिचय थियो । कांग्रेस कार्यकर्ता भन्ने बित्तिकै राष्ट्रियता, लोकतन्त्र र समाजवाद नेपालमा स्थापनाका लागि शीरमा कात्रो बाँधेर पहिला राणा र त्यसपछि शाह शासकहरूका विरुद्ध उत्रिएका मानिसहरूलाई भनिन्थ्यो । चारतारे झन्डालाई मुटुमा राखेर जनताका सेवामा अहोरात्र खटिँदै आममानिसका हृदयमा लोकतन्त्रको सञ्चार गराउन क्रियाशीललाई नेपाली कांग्रेसका सदस्य मानिन्थ्यो । पहिला राष्ट्र, त्यसपछि समाज अनिमात्रै परिवारलाई प्राथमिकता दिनेहरू नै कांग्रेसका रूपमा परिचित थिए ।
अहिले समय बदलिएको छ । लोकतन्त्रमात्रै होइन, मुलुकमा गणतन्त्र नै स्थापित भइसकेको छ । संघीय शासन व्यवस्थामा नेपाल प्रवेश गरिसकेको छ । अब नेपाली कांग्रेसको दायित्व लोकतन्त्र स्थापना गर्ने होइन कि यसलाई संस्थागत गर्ने हो । यसका सदस्यहरू मुलुक, गाउँ अनि समाजको एकीकृत विकासमा जुट्दै सुशासन, मुलुकको समृद्धि र जनताको समुन्नतिका लागि जुट्नुपर्ने हो तर वास्तविकता एकातिर छ भने कतै कांग्रेस र कांग्रेस कार्यकर्ताका क्रियाकलाप अर्कैतिर सोझिएको त होइन भन्ने जस्तो देखिँदैछ ।
पार्टीमा विभिन्न खाले चरित्र बोकेका सदस्यहरूको प्रवेश भएको छ । संघर्षबाट खारिएको र योगदानका कारण राष्ट्र, पार्टी र समाजसँग निकट सम्बन्ध भएकाको संख्या घट्दै गएको छ भने अवसरको खोजीमा कांग्रेसको सदस्यता लिएकाहरूको हुल बढ्दै गएको पाइन्छ । जति गल्ती गरे पनि आफैँमात्रै सच्चा कांग्रेस र जतिसुकै उत्तरदायी भए पनि अरूहरू तल्लो तहका कार्यकर्ता हुन् भन्ने भावना नेता बनेकाहरूमा पलाउँदै जान थालेको छ । चाकरीमा रमाउने नेताहरूले आफ्ना वरपरकालाई सक्रिय देख्ने र पार्टीको काम गरेर दूरदराजमा बसेकाको मूल्यांकन नै नगर्ने बेथितिले कांग्रेसलाई गाँज्दै जान थालेको छ ।
नेताहरूमा सत्तालाई एकमात्र अभीष्ट देख्ने प्रवृत्तिको विकास हुँदै गएको पाइन्छ भने पार्टीको सदस्यता लिएका नवप्रवेशीहरूको एकमात्र स्वार्थ अवसरको खोजी हुनेगरेको छ । पुराना, इमानदार र सक्रिय सदस्यहरूलाई अवसर दिनुभन्दा व्यापारी, विचौलिया, ठेकेदार आदिलाई अघि सार्नमा नै श्रेयष्कर देख्ने नेताहरूको संख्या उल्लेख्यरूपमा बढ्दै गएको छ । मेचीदेखि महाकालीसम्मका जनताका बलमा होइन कि केही धनाड्य र डनहरूका जगमा पार्टीलाई माथि उठाउन सकिन्छ भन्ने मानसिकताले नेताहरूमा जरो गाडेको छ ।
नेताहरू बिग्रिए या बाटो बिराउन थाले भने सच्याउनका लागि पहल गर्ने पार्टीका अन्य सच्चा कार्यकर्ताले हो तर त्यस्ताको बोली आजभोलि बिक्न छाडेको छ । सही आवाज उठाउनेहरूको सुनुवाइ नै हुन छाडिसक्यो भन्दा हुन्छ । केहीले प्रयत्न गरिहाले भने पनि त्यस्ता कार्यकर्ताहरूलाई नेताको दैलो सधैंका लागि बन्द हुने हो कि भन्ने डर पनि छ तर यो खाले कार्यकर्ताभन्दा स्वार्थप्रेरित सदस्यहरूको संख्या थपिँदै गएको हुँदा भोलिका दिनमा नेपाली कांग्रेसमा मुलुक र पार्टी हितमा आवाज उठाउनेहरू हराउँदै जाने त होइनन् भन्ने चिन्ता आम लोकतन्त्रवादीहरूमा थपिएको छ ।
नेपाली कांग्रेस पार्टीका नेता आजभोलि चारतारे झण्डा बोकेर हँसिया हथौडा या कलममा भोट हाल्न कार्यकर्तालाई निर्देशन दिन्छन् । जसले माओवादीलाई भोट हाल्दैन उसलाई पार्टीबाट निष्काशन गर्ने निर्णय पार्टीले गर्दछ । कार्यकर्ता पनि कांग्रेसकै उम्मेदवार उठ्दाभन्दा अर्को पार्टीका नेता उम्मेदवार हुँदा बढी खुसी भएर सक्रियतापूर्वक जिताउन तल्लीन भएको देखियो । कांग्रेस कार्यकर्तालाई नै जिताइयो भने आफूभन्दा माथि जान्छ बरू अर्को पार्टीको भए त आफू आफ्नो समकालीन भन्दा पछि पर्नु त पर्दैन भन्ने मानसिकताले जरो गाडेको पाइयो ।
कांग्रेसले ज्यालादारी जागिर नदिएको भए आजसम्म बेरोजगार रहनु पर्नेहरू कांग्रेसले के गरेको छ र भन्दै घण्टीका पछि लागेको पनि देखियो । कांग्रेस सत्तामा छँदा सरुवा नगरिदिएको भए दुर्गममै जीवन बिताउन बाध्य हुनेहरू राप्रपाका पछि लागेको पनि देखियो । कांग्रेसकै आडमा बढुवा भएकाहरू नै कांग्रेसका विपक्षमा देखिए । कांग्रेसले दिएको नियुक्तिमा छ महिनाअघिसम्म तर मार्दै फुर्ती लगाउनेहरू छ महिनामात्रै नयाँ नियुक्ति नपाउँदा कांग्रेसको विपक्षमा लागेको पनि पाइयो । पटक-पटक कांग्रेसबाट फाइदा लिएकाहरू नै यसपटकको चुनावमा नेपाली कांग्रेसको विपक्षमा सक्रिय देखिए तर निर्वाचन सकिने बित्तिकै कांग्रेसको सरकार बन्ने सम्भावना देखेर तिनै व्यक्तिहरू पुनः कांग्रेस र विशेषगरी प्रधानमन्त्री देउवाको गुनगानमा व्यस्त देखिन थालेका छन् ।
पटक-पटक कांग्रेसबाट फाइदा लिएकाहरू नै यसपटकको चुनावमा नेपाली कांग्रेसको विपक्षमा सक्रिय देखिए तर निर्वाचन सकिने बित्तिकै कांग्रेसको सरकार बन्ने सम्भावना देखेर तिनै व्यक्तिहरू पुनः कांग्रेस र विशेषगरी प्रधानमन्त्री देउवाको गुनगानमा व्यस्त देखिन थालेका छन् ।
यति हुँदाहुँदै पनि आमलोकतन्त्रवादीको विश्वास नेपाली कांग्रेसबाट हटेको पाइँदैन । विसं २०१५ को चुनाव होस् या विसं २०४८ पछिका सबै आमनिर्वाचनहरू र स्थानीय तहका चुनाव सबैमा नेपाली कांग्रेस या त पहिलो या दोस्रो ठूलो दलकै रूपमा रहन सकेको छ । माओवादीले सहस्र प्रहार गर्दा पनि नमासिएको कांग्रेस विसं २०६४ को निर्वाचनमा समेत दोस्रो ठूलो दलकै रूपमा रहेको थियो । विसं २०७४ मा मुलुकभरका कम्युनिष्टहरू एक भएर कांग्रेसलाई समाप्त पार्ने नियत राख्दा पनि कांग्रेस तेस्रो दलमा झर्नु परेन । पहिलो भएका बेलाका कुराहरू त बेग्लै नै भए ।
बरू नेकपा एमाले भने कतिपय निर्वाचनमा तेस्रो हुनु परेको छ । यो चाहिँ कांग्रेस र कांग्रेसकार्यकर्ताका लागि मात्रै नभएर सबै राजनीतिक पर्यवेक्षकहरूका लागि अचम्मैको विषय बनेको छ । आजभोलि नेपाली कांग्रेस संगठन गर्दै गर्दैन । कांग्रेसका नेताहरू आपसमा नेतृत्व लिने कुरामा मात्रै होडबाजी गर्दछन् । एउटा नेताले अर्कोको प्रशंसा गरेको सुन्नै छाडिएको छ । केही अघिदेखि गगन थापा र विश्वप्रकाश शर्माहरूले चाहिँ एकले अर्कोलाई सह्राउन थालेका छन् । नत्र एउटा नेताले अर्कोको दोहोलो काढेको मात्रै सुनिने गरेको थियो । कांग्रेसका नेताले कांग्रेसका राम्रा पक्षहरूमा बोल्न छाडेको धेरै भइसकेको छ र पनि नेपाली कांग्रेस जनताका मनमनमा बस्न सफल हुनुलाई सामान्य कुरा मान्न सकिँदैन ।
कांग्रेसका प्रत्येक नेता पुस्ता हस्तान्तरणको कुरा गर्दछन् । कांग्रेसका हरेक सदस्य पार्टीमा नयाँ विचार र नयाँ अनुहारका कुरा गर्न रुचाउँछन् । पार्टीलाई नयाँ गतिबाट अगाडि बढाउन अपरिहार्य भएको सबै नेता तथा कार्यकर्ताहरू स्वीकार्दछन् । पार्टीलाई विचार र सिद्धान्तका आधारमा चलाउन अनिवार्य भन्दछन् तर वैचारिक र सैद्धान्तिक नेतालाई पछि पार्दछन् । पार्टी रूपान्तरण नै अबको आवश्यकता भएको कुरा प्रत्येक नेताका मुखबाट सुनिन्छ तर पनि पार्टी सभापतिका लागि मत दिँदा होस् या संसदीय दलको नेता छान्दा होस्, पुरानै नेतालाई छान्दा नै आफूलाई सुरक्षित देख्नेहरूको संख्या घटेको पाइँदैन । यस्तै शैलीबाट अघि बढ्दा पनि नेपाली कांग्रेसको लोकप्रियताले निरन्तरता पाइरहनु अचम्मैको कुरो हो ।
Praiseworthy surgery
Thank you sir