बारामा २ सय बोरा मल सिल

Read Time = 5 mins

-संजीवकुमार मिश्रा
बारा । जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले कालोबजारी गरी अनुदानको मल विक्री वितरण गरिएको सूचनाको आधारमा २ सय बोरा मल भएको गोदामलाई सिल गरेको छ ।

महागढीमाई नगरपालिका २ मैनी टोलका अरुण कुशवाहाले नेपाल सरकारले तोकेको मूल्य भन्दा बढी मूल्यमा मल विक्री वितरण गरेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु भएको थियो ।

उहाँले श्री कुश कृषि सहकारी संस्था लिमिटेड भतौडाबाट नेपाल सरकारले अनुदानमा दिएको मल किन्न कलैया उपमहानगरपालिका २३ कोइरिया टोल नजिकै रहेको गोदाममा मल लिन आफू सोमबार पुगेको जानकारी दिनुभयो ।
सहकारी संस्थामा पुग्दा दुई हजार २ सय ५० डीएपी मलको नेपाल सरकारले तोकेको प्रति बोराको मूल्यमा खरीद गर्न सहकारी संस्था पुग्नु भएको थियो । सहकारीका अध्यक्ष अरुण कुशवाहाले नेपाल सरकारको अनुदानको डीएपी मलको प्रति बोरा ३ हजार ३ सय मागेको उहाँले बताउनुभयो ।

त्यति पैसा म दिन सक्दिन, मसँग त्यति पैसा छैन उहाँले भन्नुभयो,‘बरु त्यो भन्दा कम गरेर दिनुस भन्दा अध्यक्षले मानेन् । एक छिनको लागि बहस पनि भयो । सरकारले अनुदानमा दिएको मलको भाउ भन्दा ९ सय बढी म दिन सक्दिन भन्दा कुशवाहाले उसो भए मल पाउनु हुन्न भनेको र केही समयको वादविवाद पछि तपाई राम्रो मान्छे हुनु हुन्छ तपाईलाई २ हजार ८ सय सम्म प्रति बोरा डीएपी मल दिन सक्छौ भनेका थिए । आखिरमा केही सीप नलागेपछि २ हजार ८ सयमा १ बोरा डीएपी मल लिएर गए । यहाँबाट मल लिएर गएपछि सिधै जिल्ला प्रशासन कार्यालय बारामा गुनासो गरे । प्रशासनले तुरन्तै कारवाही प्रक्रिया अगाडी बढायो । तर प्रहरी प्रशासन आउनुभन्दा अगाडी नै मल विक्री गर्नेहरु सटर बन्द गरेर बेपता भएको उहाँले जानकारी दिनुभयो ।

यसै गरि कलैया उपमहानगरपालिका २३ का किसान जवाहर महतोले श्री कुश कृषि सहकारी संस्था लिमिटेडबाट अनुदानको युरिया मल प्रति किलो ४५ रुपैयाको दरले ४ किलो मल किनेर खेतमा हालेको जानकारी दिनुभयो ।

सहाकारी संस्थाका संचालकले सरकारले तोकेको मूल्य भन्दा तीन गुणा बढी मूल्य लिएर मल विक्री वितरण गर्दै आएको आरोप लगाउनु भयो । तर पनि उनलाई कसैले कारवाही गर्न सकेका छैनन् ।
गोदाममा २ सय बोरा मल रहेको श्री कुश कृषि सहकारी संस्था लि.का अध्यक्ष अरुण कुशवाहाले बताउनुभयो ।
कुल पाँच वटा सटर रहेकोमा तीन वटा सटरमा मात्र अनुदानको मल रहेको उहाँले बताउनुभयो । २ सय बोरा मल मध्ये १ सय ६५ बोरा डीएपी र १५ बोरा युरिया रहेको उहाँले बताउनुभयो ।
आफूले सरकारले अनुदानमा उपलब्ध गराएको मल युरिया प्रति बोरा ९ सय ६० र डीएपी प्रति बोरा दुई हजार ४ सयका दरले विक्री वितरण गर्दै आएको बताउनुभयो ।

कलैया उपमहानगरपालिका २३ का वडाध्यक्षको सिफारिसमा अनुदानको मल ल्याएर विक्री वितरण गरिरहेको अध्यक्ष कुशवाहाले बताउनुभयो ।
कुशवाहाको संचालन गर्दै आएको गोदाममा के कति मल रहेको आफूलाई जानकारी नभएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताउनुभयो ।

मलमा तोकिएको मूल्य भन्दा बढी मूल्य लिएर कालोबजारी गरेको कारण गोदाम सिल गरिएको हो । पटक पटक गोदामको ताल्चा खोल्न आग्रह गर्दा पनि कुशवाहाले आफू सँग साचो नरहेको जानकारी दिएको र अनुदानको मलको कागजात समेत फेला नपरेको कारण तत्कालको लागि गोदाम सिल गरिएको उहाँले बताउनुभयो । कालो बजारी गरेको आरोपमा कुशवाहालाई पक्राउ गरी थुनामा राखिएको उहाँले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?