नयाँ सरकार गठनमा मित्रहरूको चासो

भारतीय राजदूतको तीव्र दौडधुप, चीनको अदृश्य कूटनीतिक गतिविधि

अनिल क्षेत्री
Read Time = 10 mins

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै राजनीतिक दलहरू नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन् । मंसिर ४ गते सम्पन्न चुनावबाट कुनै एक दलले बहुमत ल्याउन नसकेपछि नयाँ सरकारको समीकरण स्पष्ट भइसकेको छैन । यद्यपि, वर्तमान सत्ता गठबन्धनले नै सरकार बनाउने सम्भावना बलियो छ । राजनीतिक दलहरूबीच भावी सरकार गठन र शक्ति बाँडफाँटमा छलफल चलिरहेको बेला अस्वाभाविक रूपले बाह्य शक्ति राष्ट्रहरूको चासो देखिएको छ ।

नयाँ सरकार गठनको तयारी भइरहँदा दक्षिण छिमेकी भारतले बढी चासो दिएको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको राजनीतिक भेटघाटले पुष्टि गरेको छ । राजदूत श्रीवास्तवले पछिल्ला दिनहरूमा नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसँगको भेटघाटलाई तीव्र बनाउनुभएको छ । निर्वाचनको मतगणना जारी रहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाबाट भेटघाट सुरु गर्नुभएका श्रीवास्तवले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उहाँकै निवास बालकोट पुगेर भेटवार्ता गर्नुभएको छ । बुधबार बिहान करिब ११ बजे एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुग्नुभएका श्रीवास्तवले करिब एक घण्टाभन्दा बढी बालकोटमा बिताउनुभएको थियो । भेटघाटको क्रममा राजदूत श्रीवास्तवले अध्यक्ष ओलीसँग चुनावमा विजयी भएको बधाई दिनुका साथै नयाँ सरकार गठनका विषयमा समेत चासो राख्नुभएको थियो । श्रीवास्तवले एमाले अध्यक्ष ओलीलाई भेट्न जानुअघि बुधबार नै उपराष्ट्रपति नन्दबहादुर पुनसँग समेत भेट गर्नुभएको थियो ।

राजदूत श्रीवास्तवले यसअघि प्रधानमन्त्री देउवालाई मात्रै दुईपटक र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एकपटक भेट गरिसक्नु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी रहँदै प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको थियो । राजदूतसँग भेट भएको भोलिपल्ट प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष दाहालसँग छलफल गर्नुभएको थियो । निर्वाचनको मतगणना जारी रहेकै बेला गत १० मंसिरमा उहाँले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई उहाँकै निवास खुमलटारमा पुगेर भेट्नुभएको थियो । अध्यक्ष दाहाल र राजदूत श्रीवास्तवबीच समसामयिक राजनीति र दुई देश बीचको सम्बन्धका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको थियो । सोही दिन बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग एक्लाएक्लै भेट गर्नुभएका श्रीवास्तवले १७ मंसिरमा दोस्रोपटक भेट गर्नुभएको थियो । दोस्रो भेटमा देउवा डडेल्धुराबाट प्रतिनिधिसभामा निर्वाचनमा निर्वाचित भएकोमा बधाई दिएको बताइएको थियो । प्रधानमन्त्री देउवाको सचिवालयले भने नियमित भेटघाट मात्र भएको बताएको छ । तर, राजनीतिक वृत्तमा भने प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच पटक-पटकको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । भेटमा चुनावी परिणाम र आगामी सरकार गठनका लागि बन्न सक्ने समीकरणका विषयमा छलफल भएको हुन सक्ने अनुमान गरिएको छ ।

मुख्य गरी अहिले सत्ता गठबन्धन र राजनीतिक दलहरूबीच चुनावी समीक्षा चलिरहेको छ । नेताहरू नयाँ सरकार गठनका लागि सत्ता समीकरणका विषयमा पनि गृहकार्य गरिरहेका छन् । यही बेला भारतीय राजदूत श्रीवास्तवको दौडधुप तीव्र बनेको हो । नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गर्छ भन्ने पुरानै मान्यता रहेकाले पनि पछिल्ला दिनहरूमा राजदूत श्रीवास्तवको सक्रियतालाई चासोका साथ हेरिएको छ ।

अमेरिकी राजदूत पनि राजनीतिक भेटघाटमै व्यस्त
पछिल्ला दिनहरूमा नेपालको राजनीतिमा अमेरिकाको चासो पनि बढ्दो क्रममा छ । नेपालमा राजनीतिक गर्मागर्मी भइरहेको बेला नेपालका लागि अमेरिकाका राजदूत डिन थम्पसनले पनि राजनीतिक भेटघाट बढाउनुभएको छ । बिहीबार राजदूत थम्पसनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका नेपालले राजदूत थम्पसनसँग पार्टी कार्यालयमा भएको भेटका विषयमा सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्दै भन्नुभएको छ, ‘नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत महामहिम डी.आर.थम्प्सनद्वारा शिष्टाचार भेटका सन्दर्भमा हाम्रो पार्टी केन्द्रीय कार्यालयमा हार्दिक स्वागत गर्दै भेटमा स्वागत एवम् कार्यकाल सफलताको कामनासहित नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भयो ।’

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएका बेला र नयाँ सरकार गठनका लागि दलहरू आ-आफ्नो रणनीति तय गरिरहेका बेला राजदूत थम्पसनको राजनीतिक भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

संसदीय निर्वाचनको मत परिणामपछि भारत, अमेरिका मात्र नभई उत्तरी छिमेकी चीन र युरोपेली मुलुकका दूतावास पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सक्रिय भएका छन् । नेपालमा बढ्दो अमेरिकी चासोलाई नयाँ सरकारले कसरी लिन्छ भन्नेमा चीनले पनि विशेष ध्यान दिइरहेको छ । अमेरिकी ‘इण्डोप्यासिफिक स्ट्राट्रेजी’ (आइपिएस)मा असन्तुष्ट चीनले नेपाललाई आफ्नो ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ’ (जिएसआई) को साझेदार बनाउन चाहेको छ । चीनले निर्वाचनपछि बन्न सक्ने सरकारका बारेमा पनि आन्तरिक रूपमा चासो लिएको छ । राजदूत होउ यान्छीको कार्यकाल सकिएपछि चीनले अनुभवी कूटनीतिज्ञ छन सोङलाई नियुक्त गरेको छ । २०७४ सालको आमनिर्वाचन अघि र निर्वाचनपछि वामपन्थी सरकार गठन गर्न तत्कालीन चिनियाँ राजदूत होउ यान्छीले व्यापक कसरत गर्नुभएको थियो । उहाँ नेपालमा वामपन्थी पार्टी मिलाउने काममा सफल पनि हुनुभएको थियो । अघिल्लोपटक जसरी चीन यसपटक हाकाहाकी प्रस्तुत नभए पनि आन्तरिक रूपमा भावी सरकार गठनको विषयमा निकै चासो देखाइरहेको कूटनीतिज्ञहरूको भनाइ छ ।

यता, नेपालस्थित युरोपेली मुलुकका कूटनीतिज्ञहरूले पनि भावी सरकार र राजनीतिक परिदृश्यबारे चासो देखाइरहेका छन् । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट वर्तमान संविधानविरुद्धमा रहेका शक्तिहरूको उपस्थिति बलियो बनेको सन्दर्भमा युरोपेली मुलुकका प्रतिनिधिहरूले मुख्य गरी संघीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक प्रतिनिधित्व, मानव अधिकार लगायतका विषयमा चासो दिएका छन् । कूटनीतिज्ञहरूले अमेरिका र भारतले नेपालमा अहिलेकै गठबन्धन अघि बढेको हेर्न चाहेको र चीनले भने वामपन्थी दलहरू बीचको गठबन्धन तथा उनीहरूकै सरकार बनेको हेर्न चाहेको विश्लेषण गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?