राजनीतिज्ञ तथा पुराना वामपन्थी नेता केशरमणिको निधन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राजनीतिज्ञ तथा पुराना वामपन्थी नेता केशरमणि पोखरेलको शनिबार बिहान निधन भएको छ । काठमाडौंको कपनमा बस्दै आउनुभएका उहाँको हृदयघातबाट बिहान ५.३० बजे निधन भएको परिवारले जनाएको छ ।

विसं १९९५ मा जन्मिनुभएका पोखरेलले २०१२ मा कम्युनिष्ट पार्टीको सदस्यता लिई पार्टीमा सक्रिय हुँदै केन्द्रीय समितिमा प्रवेश गर्नुभएको थियो । २०२५ मा सम्पन्न नेकपाको तेस्रो सम्मेलनलगतै उहाँ पोलिटब्युरो सदस्य हुनुभएको थियो । अर्घाखाँची भएको हर्रेबर्रे एक्सनका कमाण्डर हुनुभएका उहाँकै नेतृत्वमा पश्चिमाञ्चलमा बृहद् किसान आन्दोलन चलेको थियो ।

संयुक्त जनआन्दोलनका पक्षपाती पोखरेल २०४६ को आन्दोलनका समय संयुक्त बाममोर्चामा केन्द्रीय सदस्य रहनुभएको थियो भने नेकपा माले र माक्र्सवादी एकतापछि बनेको तत्कालीन एमालेमा पोलिटब्युरो सदस्यसमेत हुनुहुन्थ्यो । उहाँ नेपाली कांग्रेमा रहेर पनि केही समय कार्य गर्नुभएको थियो । ।
पछि फेरि फर्केर नेकपा एमालेको केन्द्रीय सल्लाहाकार हुनुभएका उहाँ पछिल्लो समय नेकपा एसको सल्लाहाकार बनाइनुभएको थियो ।

उहाँलाई अन्तिम श्रद्धाञ्जलि दिन पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत केही नेताहरू, पुष्पलाल अध्ययन समाजका पदाधिकारीहरू तथा अन्य सामाजिक अभियन्ता एवं आफन्त आर्यघाट पुग्नुभएको थियो । उहाँका श्रीमती विमला पोखरेल, छोराहरू महेश पोखरेल र विनोदमणि पोखरेल हुनुहुन्छ भने कान्छा छोरा प्रकाशको केहीअगाडि नै निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?