डा.दीपकप्रकाश बाँस्कोटा र ‘निष्ठाको यात्रा’

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 28 mins

१.० विषय प्रवेश :

डा.दीपकप्रकाश बाँस्कोटा (२००५) पाँचथर, रानीटार वडा नं-१ ले ‘निष्ठाको यात्रा’ (२०७९) नामक आत्मकथा प्रकाशित गरेको देखिन्छ । चेतना छिप्पिएदेखिका सबै वृत्तान्तलाई कालक्रमिक या पूर्वदीप्ति शैलीमा आफ्नै जीवनका भुक्ताभुक्त घटना परिस्थितिदेखि जीवनसर्वस्व लेख्न सकिने विधा हो आत्मकथा । आत्मकथा, आत्मवृत्तान्त, आफ्नो कथा, मेरो इतिवृत्त, पुराना सम्झना जस्ता अनेकौं नामले नेपालीमा आत्मकथाका पुस्तक बग्रेल्ती निक्लेका देखिन्छन् । यस विधाका पुस्तक लेख्न उद्योगी, व्यापारी, राजनेता र राजनीतिकर्मी सबैले जाँगर चलाएको देखिन्छ ।

कसैकसैले आत्मकथा नभनेर अरू नै नाम राखेको पनि देखिन्छ । चिना हराएको मान्छे, मैले देखेको दरबार, त्यो युग, अन्तर्मनको यात्रा, खुशी, बारुदमाथि उड्दा आदि पनि यसै कोटिमा पर्ने पुस्तक हुन् । इतिहास केलाउँदा राममणि आचार्य दीक्षितको ‘पुराना कुराको सम्झना’बाट आरम्भ भएको यो विधाले निजी र सार्वजनिक महत्वका कुरामा प्रकाश पारेको पाइन्छ । विश्वेश्वरप्रसाद कोइरालाको ‘आफ्नो कथा’ आत्मवृत्तान्त, जेल जर्नल, फेरि सुन्दरी जल जस्ता पुस्तक नेपाली समाज र नेपाली राजनीतिक सामाजिक रूपान्तरण प्रक्रियासँग सम्बद्ध रहेका भेटिन्छन् । जगदीश घिमिरेको अन्तर्मनको यात्राले मानवीय संवेदना र एउटा मान्छेले जीवनलाई हेर्दा र भोग्दा अनुभूत हुने अन्तर्यको राम्रो प्रक्षेपण भटिन्छ ।

वास्तवमा जीवनी र आत्मजीवनी भन्ने दुईवटा शब्द छन् नेपालीमा । आंगल भाषाका (बायोग्राफी एण्ड अटो बायोग्राफी) भन्ने दुईवटा शब्दकै समानान्तर शब्द हुन् जीवनी र आत्मजीवनी पनि । आत्मजीवनी आफैँले आफ्ना कुरा लेख्ने प्रकारको जीवनवृत्त हो भने जीवनी चाहिँ अरूले तयार गरिदिने विधाका रूपमा पनि विकास भएको देखिन्छ । जसको जीवनी लेख्ने हो त्यो व्यक्तिको व्यक्तित्व, सामाजिक मर्यादा, बौद्धिक, लोकनायक जननायक उद्योगी व्यापारी के हो त्यो सबैको यथातथ्य प्रस्तुति आवश्यक छ । उसका खानपान रहनसहन यावत् कुराको प्रक्षेपण सयौक्तिक गर्न सकिएन भने जीवनी भरपर्दो र विश्वसनीय बन्दैन ।

उनी मानसिक रूपबाटै राजनीतिलाई सामाजिक सेवा गरेर प्रतिष्ठा आर्जन गर्ने माध्यमका रूपमा लिएर नै राजनीतिमा प्रवेश गरेका हुनाले उनी गृहराज्यमन्त्रीसम्मका पदमा पुग्दा पनि आर्थिक मालिन्यका दोषबाट ‘पद्मपत्रमिवाम्भसि’ जलमा कमलपत्र न भिजे झैँ रहन सकेका देखिन्छन् ।

विप्र कोइराला, महात्मा गान्धी, जयप्रकाशनारायण जस्ताको जीवनी लेख्ने हो भने त झनै कठोर परिश्रम गर्नुपर्छ । भाषाभेष र तिनको सामाजिक राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि उतार्न निकै मुस्किल पर्न सक्छ । जीवनीनायकसँगको सान्निध्य र यर्थाथानुरूप हुनैपर्छ । सन्-यात्सेन, रुज्बेल्ट, लुथर किंग, मार्सल-जोसेफ-ब्रज-टिटो, नेपोलियन बोनापार्ट र हिटलरजस्ताका आत्मकथा पनि पठनीय मानिन्छन् आजको विश्वमा । आज गान्धी, जबाहरलाल नेहरू, विश्वेश्वरप्रसाद कोइराला, जयप्रकाशनारायण, मदर टेरेसा जस्ताका जीवनी या आत्मकथाको ठूलो मूल्य रहेको हुन्छ ।

राजनीति, सहकारी, आर्थिक समृद्धि र आध्यात्मिक सेवाको उन्नति जस्ता कुरामा बाँस्कोटाको आत्मकथाका वैशिष्ट्य रहेका देखिन्छन् । आफूले मानेको नेता, आफूले अवलम्बन गरेको जीवनवृत्ति, समाजसेवाको पाटो आदिमा उनले प्रदर्शन गरेको निष्ठा अद्वितीय रहेको भेटिन्छ । जसरी सुन कसीमा घोटिएर, आगामा खारिएर निख्खर बनेर निक्लन्छ त्यसैगरी विश्वास निष्ठा र अनवरत संघर्षका आगामा खारिएर उद्भासित भएको व्यक्तित्व हो डा.दीपकप्रकाश बाँस्कोटा ।

१.१ राजनीतिक निष्ठा :
बाँस्कोटाको चेतना छिप्पिँदैदेखि नेपाली कांग्रेसका नजिकमा पुगेका थिए । पाँचथरका केही पुराना कांग्रेसका साथै इलामका कांग्रेस नेता कुलबहादुर गुरुङसँग यिनी विश्वेश्वरप्रसाद कोइरालाई भेट्न सिक्किम पुगे । त्यहाँको चियाउद्योग र चियाका बोटले उनलाई मोहनी लायो । हुने बिरुवाका चिल्लापात उम्रन थाले । विप्र कोइरालाका संगतबाट पाँचथर फर्कने क्रममा बिपीले बाटाको दूरी, खानपानसहितको लेखाजोखा गरेर दिएको खर्चबाट बाँस्कोटाले आर्थिक अनुशासनको पाठ पढे ।

बीपीसँग धेरै मान्छे संगत र सम्पर्कमा आए तर उनका अनुकरणीय गुणको अनुकरण नगर्दा या गर्न नसक्दा आजीवन बीपीका अनुयायीरहेका कतिपय व्यक्ति राजनीतिमा नै प्रदूषक साबित भए । आचरणभ्रष्ट भएर देशमा नै कलंकित पनि बनेका धेरै उदाहरण भेटिन्छन् । सादाजीवन सरल भाषा, तीक्ष्ण राजनीकि चेतना, व्यावहारिक योजना र जनतासँग सम्पर्कमा बसेर जनताका सुखदुःखमा साथ दिने बीपीका चरित्र र गुणको अनुकरण र अनुशरणकै कारणले उनले पाँचथरका राजावादी महापञ्च पद्मसुन्दर लावतीसँग पर्धा गर्नसकेको देखिन्छ ।

यिनी एकातिर नेपाली कांग्रेसका संस्थापक युगान्तकारी नेतासँग भेटेर प्रशिक्षित बनेर फर्कंदै थिए भने यिनलाई त्यहाँको चियाका बोट र ती क्षेत्रमा काम गर्ने परिश्रमीहरूका आवश्यकताको आपूर्तिको व्यवस्था, उत्पादन निकासको व्यवस्था, चियासम्बन्धी यावत कुराका विषयमा उनले जसरी चित्तवृत्ति लाए त्यसले के सिद्ध गर्दछ भने जे हुनु छ त्यो पहिलेदेखि नै प्रकट हुने बाटो खोज्नलागेको देखिन सक्छ ।

राजनीतिमा नेताप्रतिको परमविश्वास, दर्शनप्रतिको अविचल आस्था र राजनीतिक कार्यक्रमसँगै जनतालाई जोडेर लैजान या हिँड्ने क्षमताको निहायत जरुरी हुन्छ । राजनीति आधुनिक दृष्टिले राज्य या राज्यमा बस्ने सबै खाले जनताको भलाइका लागि सामूहिक रूपबाट क्रियान्वयन गरिने राज्यको नीति हो कार्यक्रम पनि हो र दर्शन पनि हो ।

अतः यसमा सक्रियता, लगाव, सहयोग लिन र दिनसक्ने गुणको आवश्यक्ता पर्दछ । यी सबै गुण दीपकप्रकाश बाँस्कोटाले प्रदर्शन गरे । बहुधा राजनीति गर्नेले पेटपालो या परिवार पालोको भार पनि राजनीतिमा नै ल्याएर थुपार्दा आर्थि पवित्रता कायम रहन नसकेको देखिन्छ । बाँस्कोटाले शिक्षालय खोल्ने, चिया बगानको विकास गर्ने जस्ता काम गरेर, पैतृक सम्पत्तिलाई आयमूलक काममा उपयोग गरेर आफ्नो राजनीतिक यात्रालाई अघि बढाएका हुनाले उनलाई निष्ठामा अडिन सहयोग पुगेको देखिन्छ ।

उनी मानसिक रूपबाटै राजनीतिलाई सामाजिक सेवा गरेर प्रतिष्ठा आर्जन गर्ने माध्यमका रूपमा लिएर नै राजनीतिमा प्रवेश गरेका हुनाले उनी गृहराज्यमन्त्रीसम्मका पदमा पुग्दा पनि आर्थिक मालिन्यका दोषबाट ‘पद्मपत्रमिवाम्भसि’ जलमा कमलपत्र न भिजे झैँ रहन सकेका देखिन्छन् । यो उनको पहिलो निष्ठा हो, यसमा नेताप्रतिको विश्वास श्रद्धा र कार्यक्रम तथा राजनीतिक दर्शनको स्पष्टबोध जस्ता विशेषता रहेका देखिन्छन् । विपरीततम परिस्थितिमा पनि जनतालाई साथमा लिएर आफ्ना राजनीतिका श्रद्धापात्र श्री गिरिजाप्रसाद कोइरालालाई वारम्बार स्मरण गर्दछन् जिल्लामा बोलाउँछन् परिस्थिति प्रतिकूल हुँदा आफैँ उनी बसेका स्थानसम्म भेट्न पनि जान्छन् ।

यो सम्पर्कका निमित्त उनले समीक्षा पत्रिकाको सम्वाददाता बनेर पनि नौ वर्ष काम गरेका छन् विनावेतन विना अन्य कुनै प्रकारको आदानप्रदान । उनले लेखेका समाचार समीक्षाबाहेक अरूले छाप्ने आँट गर्न पनि नसकेको कुरो पनि सुटुक्क खोलेका छन् उनले निष्ठाको यात्रामा । राष्ट्रिय मेलमिलापको नीतिअन्तर्गत बम बन्दुक छोडेर आएपछि बिली ब्रान्टले श्री गिरिजाप्रसाद कोइरालालाई भने छन्, ‘शासन कि बन्दुकले कि ब्यालेटले पाइन्छ’ तिमीहरूले बन्दुक भारतमा नै छाड्यौ चुनाव हारिहाल्यौ अब केले गर्छौ राजनीतिभन्दा जनतासँगको सहकार्यले भन्ने उत्तर गिरिजाप्रसाद कोइरालाले दिएर संगठनमा लाग्न अभिप्रेरित गरेको कुरो यिनले गरेका छन् ।

मनमा प्रजातान्त्रिक समाजवाद प्राप्तिको संकल्प बोकेर नेताका वाणी हृदयमा राखेर जनतामा विश्वास दिलाएर पञ्चायतमा पनि चुनव लड्दै जित्दै त्यहाँ विसंगति र अहमन्य भावका महापञ्चको काँडो बनेर बसेको प्रसंग आजका कथित कांग्रेसका निमित्त आदर्श गन्तव्य हुनसक्छ ।...त्यो बेला सुशीला भाउजू (बीपिकी पत्नी) पनि सँगै आउनुभएको थियो । एउटा ठूलो हलमा भेटघाटको प्रबन्ध मिलाइएको थियो । सुशीला भाउजू सबैलाई चिया बनाएर दिनुहुन्थ्यो । चिया बनाउनुअघि उहाँ सोध्नुहुन्थ्यो ए केबी तिमी कस्तो चिया खान्छौ ? (बाँस्कोटा, २०७९, ५) । यसरी पतिपत्नीको राजनीति र कार्यकर्तामा मन, वचन र कर्मसँगै जुटेको अन्यत्र नेपाली नेतामा देखिँदैन ।

१.२ यत्नेन मतिमान तस्मादर्थमेकं प्रसाधयेत् :
आजभन्दा २ हजार २०० वर्ष पहिलेका विष्णुगुप्त चाणक्य या विष्णु शर्माले यस भौतिक संसारमा अर्थले साधना गर्न नसकिने केही कुरो र कुनै पनि वस्तु पदार्थ छैन भनेका छन् । अतः बुद्धिमान मान्छेले यत्न गरेरै भए पनि अर्थाजन गर्नु भन्ने तिनको सूक्ति र पहिला खेत किन्नू पछि बिहा गर्नू भन्ने नेपाली लोकोक्ति ठ्याक्कै साँगी लागेका देखिन्छन् । एकातिर बीपीलाई भेटेर फर्केका दीपकलाई चिया उद्योग र बिपीको आर्थिक अनुशासनले अत्यधिक प्रभाव पार्‍यो । बेलामा हीरा फोर्न र कुबेलामा रति नडगाउन पनि त पहिला त कमाउनु परो नि । जीविकोपार्जनमा आधृत हामी नेपालीको खेती किसानीलाई औद्योगिकतामा आजसम्म पनि सरकारले नै गफ र गुड्डी हाँके पनि क्रियान्वयन गर्न सकेको छैन ।

गाउँका पाखा पखेरामा लाएका चियाका बोटलाई बढाउँदै फैलाउँदै लगेर अहिले उनले ‘कञ्चनजंघा-टि-स्टेट’ का रूपमा विकास गरेर विश्वका निकै देशमा अप्रदूषित चिया निर्यात गर्न लागेका छन् दीपक । राजनीति गर्दा पनि उनले चिया उद्योगलाई यथावत् सञ्चालन गरि नै रहे । पत्रकार बनेर समीक्षाको संवाददाता बनेर नौनौ वर्ष काम गर्दा या पञ्चायतको राजनीति गर्दा उनले यसलाई नित्य ध्यानमा राखेर नै काम गरिरहेथे । २०३६ सालको जनमतसंग्रहको घोषण भएपछि मात्रै यिनीहरू कांग्रेस बनेर प्रकट भएका थिए । जनमतसंग्रहमा सुधारिएको पञ्चायतलाई जिताइए पनि आजका सदनमा जनार्दन शर्माले क्लिन चिट पाएभन्दा दुर्बल थियो त्यो बेलाको पहेंलाको जित ।

आजका नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा बुख्याँचा बनेका थिए त्यसबेलाका राजाका पार्टीका प्रधानमन्त्रीहरू । यद्यपि अनेकौं ठाउँमा पञ्चले खुलेर आतंक पनि मच्चाए किनभने जितको घोषणा गरेको थियो सरकार, अड्डा अदालत सबै राजाका इसारामा चल्थे राजा स्वयं नै पञ्चायतका प्रवर्तक मानिन्थे र एकमात्र नेता पनि थिए । अब पञ्चलाई मुलुकमा आतंक मच्चाउन किन पो आइतबार कुर्नुपर्दथ्यो र ?

१.३ यथा गुरु तथा शिष्य :
बाँस्कोटा बीपीका असल शिष्यका रूपमा देखापरेको कुरो माथिल्ला दुई अनुच्छेदले पुष्टि गर्दछन् । बीपी राजनीतिलाई पेशा होइन समाज सेवाका रूपमा लिनुहुन्थ्यो र यसलाई सम्भव भएसम्म कम हत्या, कमभन्दा कम दाउपेच, कमभन्दा कम मात्रामा पीडा, बढीभन्दा बढी जनताको सहमति सहकार्य, जनताको समर्थनमा राजनीतिक पद्धति सञ्चालन गर्न चाहनुहुन्थ्यो ।

राजनीतिमा हत्या, दमन र पीडा पनि हुन्छ । यी अनिवार्य नभएसम्म यिनको प्रयोगका पक्षमा बीपी देखापरेनन् । उनको चिन्तन राजनीतिको आदर्श चरित्रानुकूल रहेको थियो । तारिणीप्रसाद कोइराला प्रधानमन्त्री बीपीका सहयोगी (पर्सनल सेक्रेटरी) भएका बेला कुनै मित्रले उनलाई एकजोर जुत्ता उपहार दिएको कुरो चाल पाएपछि तुरुन्तै बीपीले उनलाई पदमुक्त गरी काठमाडौंमा आउन बस्न तीन महिना नपाउने गरी प्रतिबन्ध लाउनुभएको थियो । आज मपछि मेरी स्वास्नी र छोरा, छोरी, ज्वाइँ आदिलाई कसरी पार्टीमा भिœयाउने भन्ने ठूलो चिन्ता छ नेपाली कांग्रेसका नेता भनाउँदाहरूलाई ।

पाँचथरबाट आफूले जित्ने सम्भावना भएका बेलामा दीपकप्रकाश बाँस्कोटाले पटकपटक गिरिजाप्रसाद कोइरालालाई भेटेर अब मलाई टिकट नदिनुस् म चुनाव लड्दिन, तपाईंले जसलाई टिकट दिनुहुन्छ त्यसैलाई सहयोग गर्छु चुनाव जिताएर पठाउँछु भन्नुभयो । आज टिकट नपाउने भयो भने दल छाड्ने या ग्रुप परिवर्तन गर्ने र सौदाबाजी गरेर पनि हैकम जमाउने प्रवृत्ति हावी भएको छ नेपाली कांग्रेसमा । दाजुभाइ दाजुभाइ रहन नसकेका उदाहरण देख्यौँ हामीले । बहिनी पनि दाजुकी बन्न नसकेको र दिदीभाइ पनि बन्न नसकेर सौदाबाजीमा पुगेको यिनै आँखाले देखे, दिमागले बुझ्यो र मनले महसुस गर्‍यो । यस प्रकारका अविश्वास, द्वेषका खाडल नेपाली कांग्रेसमा आजमात्रै देखापरेको भने होइन ।

२००९ सालमा पनि बीपी र मातृकाका बीचमा यस्तै स्थिति देखापरेको थियो । आफू उठेपछि कसैले हराउने सम्भावना नरहेको जान्दाजान्दै पनि गिरिजाप्रसाद कोइरालाले राष्ट्रिय समस्याको निकासका लागि चुनावमा नउठेको उदाहरण सेलाउन पाएको छैन । दीपकले पनि यस्तै आदर्श राजनीतिक आचरणलाई रोजेको देखियो ।

१.४ सहकारी र दीपक :
प्रजातान्त्रिक समाजवादको आर्थिक कार्यक्रम भनेकै सहकारी हो । सहकारीमा गाउँबस्तीमा भएका धन, सीप र दक्षतलाई नै संगठित गरेर त्यो संगठनका परिवारको हितकारी काम, सीप र दक्षताको विकास गरेर आर्थिक उन्नति गर्ने गराउने लक्ष्य लिइएको हुन्छ । यसमा सरकारी शून्यसंलग्नताको अपेक्षा गरिन्छ । नियम पनि त्यसै किसिमका बनेका हुन्छन् । साम्यवादी राजनीतिमा सरकार पुँजीपति र जनता ज्यामी या मजदुर हुन्छन् भने पुँजीवादमा पुँजीलाई नै प्राथमिकता दिइन्छ र गरिब जनताको गरिबीमा ध्यान ढिलो गरी पुग्ने हुन्छ । यसरी पुँजीवादी र साम्यवादी अर्थतन्त्रका चेपबाट आमजनतालाई उन्मुक्ति दिने एउटा भरपर्दो माध्यम भनेको सहकारी नै हो भन्ने ठम्याएका गिरिजाप्रसाद कोइरालाले योग्यं योग्या दातव्यम्को सिद्धान्त अवलम्बन गरे ।

२०१७ साल पुस १ गते राजाले जुन राष्ट्रघाती कदम चाले त्यसको मर्म बुझेका गिरिजाप्रसाद कोइरालाले सहकारी आन्दोलन चलाउने नीति नियम बनाउने, यसलाई विश्वका प्रजातान्त्रिक समाजवादी मुलुकमा चलेको शैलीलाई नेपालको अवस्थानुकूल बनाउने जिम्मा पनि दिए । योग्य गुरुका सुयोग्य शिष्य दीपकले पनि आवश्यक अध्ययन, अनुसन्धान, नीतिगत छलफल अवलोकन र सरसल्लाह गरेर सहकारी आन्दोलनको विकास गरे । उनलाई नेपालको सहकारी आन्दोलनका प्रथम प्रणेता नै भने पनि हुन्छ । पञ्चायत कालमा पनि एउटा सहकारी स्थापना गर्ने प्रयत्न गरिएको थियो तर त्यो अस्थिपञ्जर मात्रै थियो र सरकारको मातहत राख्ने योजना बनाइएको हुनाले प्रसस्त परिष्कार परिमार्जन गरे दीपक बाँस्कोटाले ।

डा.दीपकप्रकाश बाँस्कोटाले जब राजनीति छाडेर धर्म, उद्योग र ध्यानधारणका क्षेत्रतिर ध्यान केन्द्रित गरे तब उनले नेपालका धेरै ठाउँमा रुद्राभिषेक चलाउन सुरु गरे । अनि नेपालका धेरै ठाउँमा उनले भावातीत ध्यानका शिविर पनि चलाए ।

यसरी यिनले २०औं वर्षमा यसलाई आइओसीको सदस्यतासमेत दिलाएर अर्को सक्षम नेतृत्व आवधिक निर्वाचनबाट आपूर्ति हुने विधि तर्जुमा गरेर मात्रै अर्को अभियानतिर लागेका थिए । खास गरी सहकारीको व्यवस्था, प्रचारप्रसार गरी अन्तर्राष्ट्रिय तहका सहकारी आन्दोलनसँग सम्बद्ध गराउनेसम्मको जिम्मेवारी दिएर जुन प्रकारको विश्वास गिरिजाप्रसाद कोइरालाले गरे दीपकलाई त्यो र संगठन शिरोमणि कोइरालाबाट जनताका बीचमा सक्रिय रहन सिकाउने गुरुका रूपमा यिनले श्री कोइरालालाई लिएको देखिन्छ ।

तेस्रो विश्वको आर्थिक उद्धारक कार्यक्रमका रूपमा पनि सहकारी आन्दोलनलाई लिइएको छ । सहकारी आन्दोलन सही किसिमले परिचालन गर्ने हो भने पुँजीवादी अर्थतन्त्र र साम्यवादी अर्थतन्त्रका चेपमा परेका विश्वका अधिकांश गरिब निरीह, उपायविहीन मानव कल्याणको भरपर्दो आर्थिक अभियानका रूपमा यो उदाएको हो । यसलाई यसै तहको सामथ्र्यका साथ सञ्चालन गर्न बीपी पनि चाहनुहुन्थ्यो, गिरिजाप्रसादले पनि चाहेका कारणले दीपकप्रकाशले जिम्मेवारी पाएका थिए । गुरुले दिएको जिम्मेवारीकै परिधिमा रहेर सहकारीको आन्दोलनलाई बाँस्कोटाले यो संस्थाको प्राणाधान पनि गरेको हो ।

१.४ रूद्राभिषेक, ध्यान र वैदिक कृषिको अभियान :
डा.दीपकप्रकाश बाँस्कोटाले जब राजनीति छाडेर धर्म, उद्योग र ध्यानधारणका क्षेत्रतिर ध्यान केन्द्रित गरे तब उनले नेपालका धेरै ठाउँमा रुद्राभिषेक चलाउन सुरु गरे । अनि नेपालका धेरै ठाउँमा उनले भावातीत ध्यानका शिविर चलाए । कुसुन्तीमा राम्रो आश्रम बनाएर ध्यान सिकाउने काम पनि गरेका छन् र ऋग्वेदको अध्ययन अनुसन्धान गराएर निक्लेका परिणामको जानकारीका निमित्त सम्बद्ध अनुसन्धाताबाटै व्याख्या विश्लेषण र सुसाङ्ख्य प्रदर्शनीसमेत गराएर वैदिक संस्कार संस्कृतिका क्षेत्रमा परमपूज्य महेश योगीले आरम्भ गरेका यज्ञकर्मलाई अगाडि बढाउने काम यिनले गरेका छन् ।

आफैँ पनि वैदिक राष्ट्रिय भेषमा रहेर योगीका असल अनुयायी बनेका देखिन्छन् । आधुनिक चिकित्सा पद्धतिले करिब दुस्साध्य ठानेको मुटुको प्वाल भावातीत ध्यान गर्न लागेपछि र वैदिक औषधि सेवनबाट आशातीत सफलता मिलेको कुरो डा.बाँस्कोटा आफैँ बताउँछन् । आज नेपालका जति पनि ठाउँमा वैदिक विधिबाट रुद्राभिषेक गरिन्छ त्यसमा दीपक बाँस्कोटाको योगदान रहेको भेटिन्छ । यसरी हेर्दा बाँस्कोटाका तीनवटा आस्थाकेन्द्र रहेका देखिन्छन् (१) राजनीति र नेतृत्वप्रतिको निष्ठा (२) उद्योग र औद्योगिक नीतिको आदर्शप्रतिको निष्ठा (३) वैदिक आध्यात्मिक क्रियाकलाप, शास्त्र तथा शास्त्रीय मर्यादाप्रतिको निष्ठा । मान्छे जबसम्म बाँच्तछ तबसम्म कुनै न कुनै चिन्तन र लक्ष्यमा बाँधिएर सार्थक जीवनका निमित्त प्रयत्नशील रहनुपर्दछ ।

यो कर्मभूमि हो । कर्मविनाको जीवन खलाँतीले फेरेका साससँग तुलनीय हुन्छ भनेर शास्त्रले बताएका छन् । शास्त्रले नै एकोदेवो केशवो वा सवो वा पनि भनेको देखिन्छ । बाँस्कोटा एक नेतालाई निष्ठापूर्वक मानेर तिनले लाएका काम पूरा गरेर उनकै आदेशबाट अन्यत्र लागे । अन्यत्र लाग्दा पनि त्यत्तिकै उचाइको विश्वचिन्तक आध्यात्मसेवी महेश योगीका शरणमा पुगेर उनैले बताएका मार्गमा स्थिर भएर रहेका छन् । अर्जुनको कृष्णप्रतिको निष्ठा र डा.दीपकप्रकाश बाँस्कोटाको पुज्यपाद महेश योगीप्रतिको निष्ठा तुलनीय देखिन्छन् । ‘त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये’ (तिम्रै हो वस्तु गोविन्द ! तिमीमै गर्छु अर्पण ) ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?