गुणकारी अमला

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । हामीले प्रायः देखेको, खाएको खाद्य फल हो अमला । अमला अमिलो स्वाद भएको एक पौष्टिक फल हो । यो विभिन्न गुणहरूले भरिपूर्ण रहेको छ । अमलामा प्रशस्तमात्रामा भिटामिन ‘सी’ पाइन्छ । जाडोमा अमलाको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।
चिकित्सकका अनुसार तीनवटा सुन्तलामा भन्दा एउटा अमलामा धेरै भिटामिन हुन्छ । अमला खानाले वृद्ध-वृद्धाहरूलाई युवावस्थामा जस्तै जोस-जाँगर प्रदान गर्छ । तर, अमला दैनिक खानुपर्छ । अमलाको प्रयोग धेरै किसिमको औषधिका रूपमा गरिन्छ ।

आयुर्वेदमा ‘त्रिफला’मध्येमा अमला पनि एक पर्छ । अमला तराई र पहाडी क्षेत्रमा फल्छ । चैत्र-वैशाखतिर फूलहरू लाग्दछन् । फलहरू पहिले हरिया र पाकेपछि हल्का पहेँला हुन्छन् । असोजदेखि फागुनसम्म फलहरू संकलन गर्ने गरिन्छ । अमलालाई सुक्खा चूर्णका रूपमा, अन्य औषधिका रूपमा, अचारका रूपमा वा अन्य कुनै रूपमा प्रयोग गर्न गरिन्छ । यसले खानामा रुचि बढाउने, कब्जियत निको पार्ने, श्वास गन्हाउने रोक्ने, आँखाको दृष्टिशक्ति बढाउने लगायत विभिन्न समस्यामा फाइदा पुर्‍याउने बताइन्छ । अमला छाला, कपाल आदिका लागि पनि एकदमै फाइदाजनक हुन्छ । दैनिक अमला खाँदा पत्थरी रोगबाट समेत मुक्ति मिल्ने बताइन्छ ।

जाडोमा अमला किन खाने
जुनसुकै मौसममा यसको सेवनले फाइदा पुर्‍याउने भए पनि जाडोमा यसले अझ हामीलाई फाइदा पुर्‍याउँछ । अमलामा क्याल्सियम, प्रोटिन, भिटामिन, मिनरल्सलगायतका विभिन्न पोषक तत्वहरू पाइन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । यसको नियमित सेवनले शरीरको सेल बढाउनुका साथै स्फूर्ति पनि राख्छ । अझ महिलामा देखापर्ने विभिन्न शारीरिक समस्याबाट मुक्त राख्न अमलाले विशेष भूमिका खेल्ने गर्छ । यसले विभिन्न इन्फेक्सनबाट पनि टाढै राख्छ ।

रक्त सञ्चालन गराउँछ र मुटुसम्बन्धी रोग लाग्नबाट पनि बचाउने गर्छ । अमलाले कपाललाई पनि निकै फाइदा पुर्‍याउँछ । यसले कपाललाई बाक्लो, कालो र चम्किलो बनाउँछ । यसले कपाललाई टुक्रनबाट रोक्छ । अमला खानुका साथै कपालमा कुटेर लगाउनाले पनि कपाल राम्रो हुन्छ । अमलामा पानीको मात्रा हुने भएकाले यसले पिसाबसम्बन्धी समस्या हटाउन मद्दत गर्छ । अमलाले अनावश्यक नुन, एसिडलाई पनि पिसाबका माध्यमबाट बाहिर निकाल्ने गर्छ । यसका कारण युरिक एसिड, मिर्गौलाको समस्या हटेर जान्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?