विभिन्न स्थानमा सवारी दुर्घटनाः ३ जनाको मृत्यु, १४ घाइते

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा बारा, झापा, कन्चनपुर, काठमाडौं, रुपन्देही, सप्तरी, सुर्खेत, सुनसरी र उदयपुरमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु र १४ जना घाइते भएका हुन् ।

बाराको  निजगढ नगरपालिका-२ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक रौतहट गुजरा नगरपालिका सिम्रीका २६ वर्षीय भुवन पहाडी र पछाडी सवार २७ वर्षिय रितबहादुर राई रहेका छन् । दुबैको घटनास्थलमा नै मृत्यु भएको हो ।

सोही दुर्घटनामा मोटरसाईकलमा पछाडी सवार २४ वर्षीय सुशील माझी घाइते भएका छन् । उनको प्रसुति सामुदायिक अस्पताल निजगढमा उपचार भैरहेको छ । आइतबार साँझ ७ बजे प्रदेश २ ०३ ००१ ख ४२२९ नम्बरको सडक छेउमा रोकिराखेको ट्रकमा पाछाडीबाट प्रदेश २ ०२ ००९ प ३९४३ नम्बरको मोटरसाईकल अनिनियन्त्रित भई ठक्कर खाएको हो । दुबै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।

झापाको  मेचीनगर नगरपालिका-१३  चारआली  बजारमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ  । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार  ईलाम रोङ-६ बस्ने २३ वर्षीया उषा राई रहेकी छिन  । ना ८ ख ३३३६ नम्बरको ट्रकले  मे ७ प १७२७ नम्बरको  मोटरसाइकललाई  आइतबार राति बेलुकी साढे ८ बजे ठक्कर दिएको थियो ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ मछलिपुल नजिकै  ट्याक्टरमा मोटर साइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ ६ बजे सुदूरपश्चिम प्रदेश ०१ ००८ प ५५ ८७ नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जादै गरेको म १ प ६१ ८९ नम्बरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको से.२ त. ८२० नंम्बरको ट्याक्टरमा ठक्कर खाँदा ५५८७ नम्बरका मोटरसाईकल चालक शुक्लाफँटा नगरपालिका-८ का ३० वर्षीय कृष्ण साउँदको निधन भएको हो ।

काठमाडाैंको कीर्तिपुर नगरपालिका-१० मा सोमबार बिहानै मोटरसाइकल अनियन्त्रित भै पल्टिँदा २ जना गम्भीर घाइते भएका छन । घाईते मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका-९ नगाँउ बस्ने २१ वर्षीय सौरभ ढकाल र पछाडी सवार २२ वर्षीय रोहित महर्जनको राष्ट्रिय ट्रमा सेन्टरबाट थप उपचारका लागि  कीर्तिपुर अस्पतालमा पठाइएको छ ।  सोमबार बिहानै पौने ३ बजे बा ८५ प ६१ ८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुबै जनाले मादक पदार्थ सेवन गरेको प्रहरी वृत्त कीर्तिपुरले जानकारी दिएको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका-१० कालिकानगरमा स्कुटर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा स्कुटर चालक रुपन्देहीको तिलोतमा नगरपालिका-३ का ५० वर्षीय ओमबहादुर सारु रहेका छन् । उनको लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा उपचार भइरहेको छ । आइतबार राति पौने ८ बजे लु २९ प ३६२८ नम्बर स्कुटरको स्कुटर आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको वडा प्रहरी कार्यालय वुटवलले जानकारी दिएको छ ।

सप्तरीको बोदेबर्साईन नगरपालिका बैरिया चोकमा दुई मोटरसाइकलले साइकललाई ठक्कर दिएर पल्टिँदा २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा साइकलयात्री सप्तरीको खड्क नगरपालिका-११ लालापुरका ५० वर्षीय सुकरैत राम र मोटरसाइकल चालक सप्तरीकै शम्भुनाथ नगरपालिका-९ बजरहटका ३० वर्षीय प्रमोद मुखिया रहेका छन् । घाईते दुबैको जीवन ज्योति अस्पताल बोदेबर्साईनमा उपचार भइरहेको छ । आइतबार राति बेलुकी साढे ७ बजे मुखियाले चलाएको भारतीय नम्बरको मोटरसाईकलले सुकरैत सवार साइकललाई ठक्कर दिएर पल्टिएको ईलाका प्रहरी कार्यालय बोदेबर्साईनले जानकारी दिएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ धुलियाबिट नजिकै मोटरसाईकलले चौपायालाई ठक्कर दिएर पल्टिँदा चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका-५ का ४५ वर्षीय रुद्र भट्टराई छन् । उनको माया नर्सिङहोममा उपचार भरहेको छ । आइतबार साँझ सवा ६ बजे रुद्रले चलाएको भे २ प २३८५ नम्बरको मोटरसाइकल चौपायालाई ठक्कर दिएर पल्टिएको प्रहरी चौकी सुब्बाकुनाले जानकारी दिएको छ ।

सुनसरीको दुहवी  नगरपालिका-८ सोनापुरचोकमा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । घाइते हुने मोटरसाईकल चालक मोरङ घर भएका ४० वर्षीय भक्तबहादुर खड्का छन् । घाइते उनलाई उपचारको लागी कोशि अस्पताल पठाईएको  छ  । को ३० प ९६४५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई आइतबार बेलुकी पौने ८ बजे पल्टिएको थियो  ।

उदयपुरको कटारी नगरपालिका-१० मा सोमबार बोलेरो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । प्रदेश २-०१-००१ च ०० ५० नम्बरको बोलेरो सोमबार बिहान पौने ९ बजे अनियन्त्रित भएर सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो  । दुर्घटनामा घाइते भएका मध्ये उदयपुरको ताप्ली गाउँपालिका-१ का  ६५ वर्षीय मिनबहादुर सार्कीको अवस्था गम्भीर छ  । घाइतेहरूलाई उपचारको लागी कटारी अस्पताल पठाइएको छ । बोलेरो चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ  ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?