फागुनभित्रै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न हुन्छ : आयोग

निर्वाचनका सिकाइ, अनुभव र उपलब्धि संस्थागत गर्दै थप सुधारको निम्ति आयोग दृढ संकल्पित : प्रमुख आयुक्त थपलिया

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । आयोगले सोमबार केन्द्रीय कार्यालय कान्तिपथमा चियापान आयोजना गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको जनाएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यो वर्ष निर्वाचन वर्षको रूपमा रहेको भन्दै स्थानीय तह निर्वाचन र संघीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । ‘यो वर्ष हामी सबैको निम्ति निर्वाचन वर्षको रूपमा रहेको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट करिब ४१ हजार जनप्रतिनिधि निर्वाचित भई स्थानीय तह सञ्चालनको जिम्मेवारी निर्वाह गरिरहनु भएको छ,’ उहाँले भन्नुभयो, ‘मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ ५५० गरी कुल ८२५ जना सदस्यहरू निर्वाचित भई शासकीय प्रणालीमा सहभागी हुने अवसर प्राप्त भएको छ । आगामी फागुन महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न भएसँगै नेपालको संविधान जारी भएपछि दोस्रो कार्यकालका लागि हुने सबै तहका निर्वाचन सम्पन्न भइसक्ने छन् ।’ प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तहमा ४१ प्रतिशत, प्रदेशसभामा ३६.३६ प्रतिशत र संघीय संसद्मा ३३.८३ प्रतिशत महिला प्रतिनिधित्व कायम भएको जानकारी दिनुभयो । यो प्रतिनिधित्व समानुपातिक र समावेशी प्रतिनिधित्वको दृष्टिले पर्याप्त नभएको उहाँको भनाइ थियो ।

आगामी दिनमा समानुपातिक तथा समावेशी प्रतिनिधित्वलाई सहज, विशिष्ट, उपयुक्त र पूर्वानुमान बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनमा सार्वजनिक क्षेत्रबाट हुने खर्चलाई निश्चित सीमामा बाँधिएको बताउनुभयो । त्यस्तै, राजनीतिक दल र उम्मेदवारबाट हुने प्रचारप्रसारको खर्चलाई पनि नियन्त्रण र नियमन गर्ने प्रयास गरिएको उल्लेख गर्नुभयो । निर्वाचनका सिकाइ, अनुभव र उपलब्धिलाई संस्थागत गर्दै थप सुधारको निम्ति अग्रसर हुन आयोग दृढ संकल्पित रहेको उहाँको भनाइ छ । आयोग कुनै पनि निर्वाचन पद, पैसा र प्रलोभनले प्रभावित नभइ निष्ठा, विचार, सिद्धान्त र मूल्य–मान्यताबाट निर्देशित हुनुपर्छ भन्ने आफ्नो मान्यतालाई स्थापित गर्न हरदम क्रियाशील रहेको उहाँले बताउनुभयो । उहाँले आयोगले प्रतिनिधिसभाको पहिलो अधिवेशनमै निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक पेस गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । जलपान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, नवनिर्वाचित सांसद लगायतको सहभागिता थियो ।

हामीले उठाएका मुद्दा सम्बोधन गर्नेलाई सरकार गठनमा सघाउँछौँ : डा. राउत
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले किसानका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता गर्नेलाई सरकार गठनका लागि सघाउने बताउनुभएको छ । सोमबार आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष डा. राउतले आफूहरूले किसानको मुद्दा उठाएर आएकाले सो मुद्दाहरू सम्बोधन गर्ने सरकारलाई सघाउने बताउनुभयो । आफ्नो पार्टीले उठाएको किसानको मुद्दाका साथसाथै शिक्षा, स्वास्थ्य र रोजगारीको मुद्दामा सुधार गर्ने प्रतिबद्धता जनाउनेलाई सरकार गठनका लागि सघाउने उहाँको भनाइ थियो । ‘हामीले भर्खरै किसान आन्दोलन गरेर आएको हुनाले किसानका जुन मुद्दाहरू सम्बोधन हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यस्तै, शिक्षा, स्वास्थ्य र रोजगारीको मुद्दा जनमत पार्टीले उठाउँदै आएको छ । यी रातारात परिवर्तन हुने कुरा त होइनन् । त्यसमा काम गर्ने वातावरण, सुधार गर्नको लागि काम गर्ने वातावरण बनाइदिने खालको प्रतिबद्धता जायर हुनुप¥यो ।’ अध्यक्ष राउतले वर्तमान सत्तारूढ गठबन्धनप्रति आफूहरू सकारात्मक रहेको बताउनुभयो ।

सरकारमा जानका लागि मात्रै जानुको कुनै औचित्य छैन : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने/नजाने भन्ने विषयमा पार्टीभित्र छलफल सुरु भएको बताउनुभएको छ । सोमबार आयोगले आयोजना गरेको जलपान समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले राष्ट्रपतिले सरकार गठनको आह्वान गरेसँगै पार्टीभित्र पनि सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल सुरु भएको बताउनुभयो । अहिलेसम्मको अभ्यास सरकारमा दल जाने कि नजाने रहेको भन्दै उहाँले आफ्नो पार्टीले भने एजेण्डालाई सरकारमा लाने बताउनुभयो । सरकारमा जानका लागि मात्रै जानुको कुनै औचित्य नभएको उहाँको भनाइ छ । लामिछानेले पार्टीका कुनै सदस्यहरूलाई बोल्न बन्देज नलगाइएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?