एकअर्कालाई गलाउने देउवा-प्रचण्ड प्रयास

गठबन्धन तोड्ने तर प्रधानमन्त्री नछाड्ने ‘मुड’मा

अनिल क्षेत्री
Read Time = 11 mins

काठमाडौं । नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साताको समय घर्किंदै गएको छ । दलहरूलाई गत पुस ३ गते राष्ट्रपति भण्डारीले नयाँ सरकार गठन गर्न आहृवान गर्नुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न दिएको समयसीमा सकिन दुई दिन मात्र बाँकी छ । राष्ट्रपतिले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न पुस १० गते अपरान्ह ५ बजेसम्मको समय दिनुभएको हो । तर, राजनीतिक दलहरूले भावी प्रधानमन्त्रीको टुंगो लगाउन सकेका छैनन् । समयसीमा सकिनै लाग्दा राजनीतिक दलका नेताहरूको दौधदुप तीव्र बनेको छ । सत्तारूढ गठबन्धन आबद्ध दलहरू औपचारिक तथा अनौपचारिक रूपमा सरकार गठनका विषयमा छलफलमा जुटिरहेका छन् । विशेषगरी बहुमत जुटाउनुपर्ने भएकाले सत्तारूढ गठबन्धनबाट सरकार बन्ने देखिन्छ । गठबन्धनले बनाउन नसके आफू पहल गर्नेमा एमालेको तयारी छ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच लगातार बैठक बसे पनि गठबन्धनबाट प्रधानमन्त्री बन्नेको टुंगो लागेको छैन् । बिहीबार साँझ बालुवाटारमा गठबन्धनका तीन शीर्ष नेतासहित दलका नेताहरूबीच सरकार गठन गर्ने विषयमा सामान्य छलफल थियो । शुक्रबार पनि छलफलले निरन्तरता पायो ।

कांग्रेस सभापति देउवा पुनः प्रधानमन्त्री बन्न चाहनुभएको छ । जनताको म्यान्डेट पनि कांग्रेस नेतृत्वमा सरकार गठन भएको जिकिर कांग्रेसको छ । कांग्रेसले प्रधानमन्त्री र सकेसम्म राष्ट्रपति पनि आफैँसँग राख्न खोजेको छ । प्रतिनिधिसभा संसद्मा कांग्रेस ८९ सांसदसहित सबैभन्दा ठूलो दल छ । नेकपा माओवादी केन्द्रले पनि प्रधानमन्त्रीमा दाबी गरेको छ । आलोपालो सरकार गठनबारे ‘मौखिक समझदारी बनेकै हो’ भन्ने कोणबाट माओवादीले प्रधानमन्त्री आफूले लिएर राष्ट्रपति कांग्रेसलाई राख्न भन्दै आएको छ । गठबन्धनका पछिल्ला बैठकहरूमा सहभागी नेताहरूका अनुसार प्रचण्ड प्रधानमन्त्री नछाड्ने ‘मुड’मा देखिनुभएको छ । अहिलेसम्म कांग्रेसले सरकारको नेतृत्व गरेकोले अब आफूले गर्न पाउनुपर्ने दाबी प्रचण्डको छ । कांग्रेसका नेताहरूले भने यही गठबन्धनबाट नयाँ सरकार बनाउने गरी छलफल गर्दै जाने बताएका छन् । स्रोतका अनुसार पछिल्लो समय कांग्रेसका नेताहरू राष्ट्रपति र सभामुख लिएर पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन लचिलो हुँदै गएका छन् ।

सत्ता गठबन्धनमा कांग्रेस ८९, माओवादी ३२, एकीकृत समाजवादी १०, राष्ट्रिय जनमोर्चा एक, लोसपा चार गरी १३६ जना सांसद छन् । सत्ता गठबन्धनसँग १३५ जना सांसद भए पनि नयाँ सरकार बनाउन तीन सांसद नपुग देखिन्छ । सत्तागठबन्धनले ६ सांसद भएको जनमत पार्टीलाई पनि सरकारमा ल्याउन छलफल गरिरहेको छ । यस्तै, नेकपा एमालेले पनि आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रयास गरिरहेको छ । प्रतिनिधिसभामा एमालेका ७८ जना सांसद छन् । माओवादीले गठबन्धन छाडेर आए माओवादीसहित राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतको साथ लिएर सरकार गठन गर्न सकिने एमालेको बुझाइ छ । एमालेसँग ७८, माओवादीसँग ३२, रास्वपासँग २०, राप्रपासँग १४ सांसद गरी १४४ सांसद पुग्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमत पुर्‍याउन १३८ जना सांसद चाहिन्छ । राप्रपा, रास्वपालगायत दलहरूले सरकारमा जाने आफूहरूको प्राथमिकता नभएको तर सरकार नै गठन हुन नसक्ने अवस्था आएमा सहयोग गर्न सकिने बताइरहेका छन् । राष्ट्रपतिले नयाँ सरकार गठन गर्न दिएको समय आइतबार अपरान्हसम्म पनि दलहरूले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गरेनन् भने दलहरूकै आग्रहमा राष्ट्रपतिले पुनःसंविधानको धारा ७६ को २ अनुसार समय थप गर्ने वा संविधानको धारा ७६ को ३ अनुसार सरकार गठनका लागि समय दिने सम्भावना रहन्छ ।

देउवा मनाउन जनार्दन र प्रचण्ड मनाउन प्रकाशमान सक्रिय
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फकाउन कांग्रेस नेता प्रकाशमान सिंह र कांग्रेस सभापति शेरबहादुर देउवालाई फकाउन अर्थमन्त्री जनार्दन शर्मा सक्रिय रहनुभएको छ । सिंहले शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमै पुगेर देउवालाई पहिलो चरणमै प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गर्नुभएको छ । पछिल्लो तीन वर्ष सरकारको नेतृत्व गर्ने गरी तयार हुन प्रचण्डलाई सिंहले आग्रह गर्नुभएको छ । तर, प्रचण्ड भने पहिलो चरणमै प्रधानमन्त्री हुनुपर्ने अडानमै रहनुभयो । प्रकाशमान सिंहलाई प्रचण्डले पहिलो चरणमा आफूलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखिदिन आग्रह गरेर पठाउनुभएको छ । सिंहले प्रचण्डको प्रस्तावका विषयमा सिधै बालुवाटार पुगेर देउवालाई ब्रिफिङ गर्नुभएको छ । पहिलो चरणमै प्रधानमन्त्री नभएपछि हुन गाह्रो हुने प्रचण्डको बुझाइ छ । त्यसैले देउवा मनाउन जनार्दन सक्रिय भएर लाग्नुभएको छ । खुमलटारमा प्रचण्डलाई भेटेर जनार्दन देउवालाई भेट्न शुक्रबार बालुवाटार पुग्नुभएको थियो । प्रचण्डलाई भेटेर फर्किनुभएका प्रकाशमान र जनार्दन सहितका नेताहरूले बालुवाटारमा छलफल गर्नुभएको थियो । सबै विषय प्याकेजमै टुंगो लगाउने गरी समझदारी बनाएर जाने तयारी भइरहेको कांग्रेसका एक नेताको भनाइ छ ।

एमालेसँग गठबन्धन प्रयासमा वर्षमान
यता, नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन सत्ता गठबन्धन तोडेर एमालेसँग गठबन्धन बनाउने प्रयासमा लाग्नुभएको छ । बिहीबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नुभएका उपमहासचिव पुनले आफ्नो पार्टीलाई एमालेबाट प्रधानमन्त्रीको प्रस्ताव आइसकेकाले कांग्रेसले नदिने हो भने एमालेसँगै मिलेर सरकार बन्न सक्ने संकेत गरेको स्रोतको भनाइ छ । माओवादीले अझै पनि गठबन्धन तोड्न नचाहेको तर पूर्व–सहमतिअनुसार पहिलो चरणमा माओवादीलाई प्रधानमन्त्री नदिए गठबन्धनमा नरहने पुनले जानकारी गराएको स्रोतको भनाइ छ । वर्षमान पुनको भनाइअनुसार माओवादीले गठबन्धन छोडे कांग्रेस अर्को योजनामा लाग्ने कांग्रेस नेताहरूको भनाइ छ । कांग्रेसको योजनाबारे देउवानिकट एक कांग्रेस केन्द्रीय सदस्यले भने, ‘निर्वाचनमा जनतासँग भोटसमेत गठबन्धनलाई नै मागेको हुँदा सरकार निर्माणमा तत्काल गठबन्धनको विकल्प सोचिएको छैन । प्रधानमन्त्रीको इच्छा गठबन्धनलाई साथमै लिएर अघि बढ्नेछ । तर, प्रचण्ड गठबन्धन छोड्नुहुन्छ भने घोषणा गर्न दिऊँ । त्यसपछिको अर्को योजना सुरु हुन्छ ।’ प्रचण्डले वर्षमान पठाएर गठबन्धन छोड्ने संकेत गरेपछि शेरबहादुरले प्रकाशमान सिंहलाई प्रचण्डसँग भेट्न पठाउनुभएको हो ।

देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छ : बाँस्कोटा
सत्तारूढ गठबन्धनमा प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा सहमति जुटिनसक्दा एमाले भने प्रचण्ड प्रधानमन्त्री बन्नुपर्ने पक्षमा देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र एमाले नेता गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउनुपर्ने बताउनुभएको छ । बाँस्कोटाको उक्त धारणालाई कतिपयले ओलीकै धारणाको रूपमा हेरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि प्रचण्डलाई छोडिदिन आग्रह गर्दै सामाजिक सञ्जालमार्फत बाँस्कोटाले भन्नुभएको छ, ‘नेपाली राजनीति फेरि पनि च्याँखे दाउमै रमाउने देखिँदै छ । विकास, सरल र छरितो सेवा, बेरोजगारी र गरिबीलाई जित्नुपर्ने राजनीतिक दायित्वको जनमतको चाहना केवल सत्ताको छिनाझम्टीमै सकिने भो । अस्थिरता नेपालको अभिशप्त नियति भो । देउवाले प्रचण्डलाई छोडे हुने । गठबन्धन नै गाँठो नपरोस् । शुभकामना ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?