जनताको सेवामा समर्पित स्वास्थ्यकर्मी बलिराज

हिमालय टाइम्स
Read Time = 5 mins

नृपेन्द्रबहादुर मल्ल/हिटा
मुग । हप्ता दिनमा कहिले शनिबार आउला अनि फुर्सद मिल्ला र आफूखुसीका काममा रमाउन पाइएला भन्दै शनिबार कुरेर अधिकांश कर्मचारीहरू बस्ने गरे पनि मुगुमा एक यस्ता कर्मचारी छन् जोे शनिबारलाई आफ्नो व्यक्तिगत फाइदाभन्दा जनताको सेवामा समर्पित गर्ने गर्दछन् । सरकारले दिएको बिदाको समय घरपरिवार र घरको काममा खर्च नगरी जनताको घरदैलोमा पुगेर सेवा दिने ती स्वास्थ्यकर्मी हुनुहुन्छ मुगु जिल्ला मुगुम कार्मारोङ गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक बलिराज बुढा । हप्तामा ६ दिन पालिकाको स्वास्थ्य शाखामा व्यस्त रहने बुढा महिनाका दुई शनिबार पालिकाका दुई दुर्गम गाउँबस्तीहरूमा पुगेर स्थानीयहरूको स्वास्थ्य चेकजाँच गर्ने, औषधि दिने, स्वास्थ्य सल्लाह दिने र आफ्नो काबुभन्दा बाहिरका जटिल बिरामी र उपचार गर्नुपर्ने भए उपयुक्त स्वास्थ्य संस्थाहरूमा जान सुझाव दिने गर्दै आउनुभएको छ ।

निःशुल्क सेवा भावले गत जेठ १८ गतेबाट यस्तो जनसेवा कार्य गर्दै आउनुभएका बुढाले गाउँमा युवाहरूभन्दा महिला, वृद्घ, बालबालिका, अपांग, विपन्न परिवारलाई पहिलो प्राथमिकतामा राखेर ६ महिनाभित्रमा ९०० जनाभन्दा बढी व्यक्तिहरूलाई निःशुल्क आफ्नै लगानी खर्चमा स्वास्थ्य परामर्श, सामान्य चेकजाँच र दन्त सेवा दिनुभएको छ । जिल्लाका चार स्थानीय तहमध्ये मुगुम कार्मारोङ गाउँपालिका विकट र यातायात पहुँच नपुगेको गाउँपालिका हो । यहाँका बस्तीहरू पालिका केन्द्र पुलुबाट कम्तीमा एकदेखि पाँच घण्टा पैदल दूरी टाढा रहेका र त्यहाँ पुग्न पनि उकालो चढ्नुपर्दछ ।

मुगुमका गाउँहरूमा कोही बिरामी परे हुने खानेले सदरमुकाम गमगढीदेखि सुविधासम्पन्न ठाउँहरूमा आफ्ना बिरामीलाई उपचारका लागि पु¥याउने गर्दछन् भने गरिबहरू सञ्चो भए पनि नभए पनि गाउँघरमै परम्परागत उपचारमा विश्वास गरी बस्ने गरेका छन् ।

गाउँमा रहने ती गरिबहरूको पीडा आफूले देखिरहँदा ममा रहेको स्वास्थ्य ज्ञान किन ती गरिबको सेवामा समर्पित नगर्ने भन्ने लागेर आफूले ६ महिनाअघिबाट प्रत्येक महिनाका दुई शनिबार दुई गाउँमा पुगेर निस्वार्थरूपमा स्वास्थ्य सेवा दिने कार्य गर्दै आएको र यो कार्यमा गाउँमा रहेका महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, स्वास्थ्यकर्मीहरूले समेत निःशुल्क सहयोग गर्दै आएको स्वास्थ्यकर्मी बलिराज बुढाले बताउनुभयो । आफू गाउँमा जाँदा आफूले चेकजाँच गर्ने बिरामीहरूमध्ये उच्च रक्तचाप, हाडजोर्नी दुख्ने, पेट तथा जुकाको समस्या, दाँत, गिजाको समस्या, दमरोगी र छालाको समस्या भएका रोगी बढी भेटिएको पनि बुढाले बताउनुभयो ।

गाउँपालिकामा एउटा सामुदायिक अस्पताल र १२ वटा स्वास्थ्य संस्थाहरू भए पनि विकटता, न्यून सेवासुविधा र स्वास्थ्य सामग्रीहरूको उपलब्धता नहुँदा अस्पतालमा चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मी नहुनु र स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नियमित नबस्नुले यो क्षेत्रका जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन् भने विकटता र यातायातको सुविधा नहुँदा स्वास्थ्य संस्थासम्म गर्भवती महिला, बिरामी बालबालिका, ज्येष्ठ नागरिक जान सक्दैनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?