सुपर ओभरमा लुम्बिनीको जित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अलस्टारले फारवेस्ट युनाइटेडलाई सुपर ओभरमा पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरमा नौ रनले पराजित गर्दै विजयी भएको हो । यो जितसँगै लुम्बिनीले प्रतियोगितामा लगातार चौथो जित दर्ता गराएको छ । चार खेल खेलको लुम्बिनी आठ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको फारवेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनायो । १३८ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनीले २० ओभरमा नौ विकेट गुमाएर १३७ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ रन बनाएको थियो । लुम्बिनीका लाहिरू मिलन्थाले १५ र साड्ले भान स्कल्कवेकले तीन रन बनाउनुभयो । लुम्बिनीले एक रन भने अतिरिक्त पाएको थियो ।

२० रनको लक्ष्यसहित ब्याटिङमा उत्रेको फार वेस्ट १० रनमा समेटियो । फार वेस्टका हस्मतुल्लाह साहिदीले आठ रन बनाउँदा विनोद भण्डारीले दुई रन बनाउनुभयो । त्यसअघि २० ओभरको खेलमा लुम्बिनीका गुल्शन झाले सर्वाधिक अविजित ३६ रन बनाउनुभयो । उहाँले २४ बलमा तीन चौका र एक छक्का प्रहार गर्नुभयो । त्यसैगरी लाहिरू मिलन्थाले ३४ तथा विपुल शर्माले ३१ रन जोड्नुभयो ।

फारवेस्टका करण केसी र शेर मल्लले समान दुई विकेट लिनुभयो भने राशिद खान, उमैर अलि हस्मतुल्लाह साहिदी र भुवन कार्कीले समान एक÷एक विकेट लिनुभयो ।

यता, फारवेस्टका लागि भने देव खनालले सर्वाधिक ४८ रन बनाउनुभयो । उहाँले ४२ बलमा पाँच चौकासहित ४८ रन बनाउनुभयो । कप्तान हस्मतुल्लाह साहिदीले ३२, भीम सार्कीले १५, करण केसीले १२ तथा हसिम अन्सारी र विनोद भण्डारीले समान ११÷११ रन जोड्नुभयो ।
लुम्बिनीका साड्ले भान स्कल्कवेकले दुई विकेट लिनुभयो भने हर्मित सिंह, किशोर महतो र सागर ढकालले समान एक÷एक विकेट हात पार्नुभयो । यससँगै तीन खेलबाट दुई अंक जोडेको फारवेस्ट तालिकाको चौथो स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?