उखु किसानको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न सरकारको ध्यानाकर्षण

Read Time = 5 mins

काठमाडौं । उखु किसानको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीवार दिगो विकास तथा सुशासन समितिको बैठकमा उखु किसानहरुको समस्याको सम्बन्धमा छलफल गर्दै राष्ट्रिय सभाका सांसदहरुले समस्याको समाधान दीर्घकालिन रुपमा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उखु किसानहरुको समस्यालाई बारम्बार बल्झाउनु नहुनेमा सांसदहरुले जोड दिएका छन् । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नगदेबालीको रुपमा रहेका उखु लगायतका बालिहरुलाई व्यक्तिगत रुपमा मात्रै लगाएमा समस्या दोहोरिइरहने बताउनु भयो । उहाँले उखुबालीलाई सामुहिक उत्पादन गर्नुपर्ने बताउनु भयो । उखु उत्पादन व्यवस्थित रुपमा नभएको भन्दै उहाँले उखु उत्पादनलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै चिनी उद्योगलाई पनि व्यवस्थित गर्नुपर्ने उहाँको भनाई छ । देशमा चिनीको कति खपत हुन्छ भन्ने निक्र्यौल गरेर उपभोग गर्न पुग्नेगरी देशमै उत्पादन गर्नुपर्ने उहाँले बताउनु भयो ।

त्यसैगरी राष्ट्रिय सभा सदस्य कमला पन्तले उद्योगीले किसानलाई समयमै रकम भुक्तानी नगर्ने गरेको भएपनि यसप्रति सरकार गम्भिर नभएको बताउनु भयो । उहाँले उखु उत्पादनलाई सहकारीको माध्यमबाट अगाडी बढाउन सके राम्रो हुने धारणा व्यक्त गर्नुभयो । नीजि क्षेत्र, सरकार र सहकारी मिलेर उखु उत्पादन गर्नुपर्नेमा उहाँको जोड छ ।

राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले सरकारले नीतिगत निरन्तरता नदिनाले उखु किसानको समस्या समाधान हुन नसकेको बताउनु भयो । उहाँले सरकार बदलिनासाथ नीति पनि बदलिने हुँदा उखु किसानको समस्या दिनप्रतिदिन बल्झिएको बताउनु भयो । समस्या समाधानका निम्ति एउटै नीतिको निरन्तरता हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । राष्ट्रिय सभा सदस्य भट्टले किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई कानूनी दायरामा ल्याउन र भुक्तानी दिलाउन किन रोकिएको भनि सरकारलाई प्रश्न समेत गर्नुभयो ।

राष्ट्रिय सभा सदस्य भुवन बहादुर सुनारले किसानहरु उखु उत्पादनका लागि प्रोत्साहित हुन नसकेको बताउनु भयो । उहाँले देशभित्रका किसानलाई उखु खेतीमा प्रोत्साहित गर्न र देशलाई आर्थिक रुपमा सबल बनाउन देश बाहिरबाट नीति आयात हुन नदिने नीति बनाउनुपर्ने बताउनु भयो ।

राष्ट्रिय सभा सदस्य सिंगबहादुर विश्वकर्माले किसान, उद्योगी र सरकार कसैलाई पनि मार नपर्नेगरी उखुको मुल्य निर्धारण हुनुपर्ने बताउनु भयो ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले उखु किसानलाई उखु किसान भएरै बाँच्न दिन सरकार समक्ष आग्रह गर्नुभयो । उहाँले देशलाई कृषि प्रधान देश भनिएपनि उद्योग प्रधान देश बनेको टिप्पणी गर्नुभयो । उहाँले उखु किसानका धेरै समस्या रहेको भन्दै समस्या समाधानका निम्ति सरकारले चासो नदिएको बताउनु भयो । सरकारले समयमै मल दिन नसकेको र उद्योगले भुक्तानी नदिने गरेको उहाँले बताउनु भयो । अध्यक्ष मैनालीले आफुहरुले उखु शुन्य मुल्यमा बेच्न बाध्य भएको बताउनु भयो ।

अध्यक्ष मैनालीले उखु खेतीका लागि बैंकमा ऋण लिन जाँदा खेतको चिसो सकिइसकेपछि ऋण स्वीकृति हुने गरेको भन्दै सोही कारण उत्पादन बढाउन नसकिएको गुनासो गर्नुभयो । उखु किसानका समस्याहरु समाधान हुन नसक्दा उखु किसान उखु खेतीबाटै पलायन हुने गरेको उहाँको भनाई छ । उचित मुल्य नपाउँदा किसानलाई उखु खेती नगर्न आह्वान गर्नुपर्ने अवस्था आएको उहाँले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?