पोखराका सडकमा पनि स्मार्ट लाइट

Read Time = 4 mins

पोखरा । प्रमुख पर्यटकीय नगरी पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)बाट झिलिमिली बनाउन सुरु भएको छ । उज्यालो पोखरा अभियानअन्तर्गत पोखराका मुख्य-मुख्य चोकमा हाइमास्ट र सडकमा बत्ती राख्ने काम भइरहेको छ । पोखरा महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा पोखराका २३ वटा मुख्य चोकमा १६ मिटर अग्ला पोलमा २३ वटा हाइमास्ट लाइट जडान भइरहेका छन् । चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाइमास्ट लाइट जडान भएको हो । हालसम्म आठवटा हाइमास्ट लाइट जडान गरिएको छ ।

प्राधिकरणका अनुसार महानगरभित्रको ५० किलोमिटर मुख्य सडकमा एक हजार छ सय २४ वटा बत्ती जडान गरिनेछ । जसमध्ये ऊर्जा दक्षतायुक्त ९० वाटका एक हजार एक सय चारवटा र एक सय २० वाटका पाँच सय २० वटा स्मार्ट बत्ती जडान गरिनेछ । हालसम्म एक सय ७१ वटा बत्ती जडान गरिएको छ । बत्ती जडान कार्य आगामी फागुनभित्र सकिनेछ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार साँझ बिरौटा क्षेत्रमा जडान गरिएका हाइमास्ट र सडक बत्ती संयुक्तरूपमा उद्घाटन गर्नुभयो । रिमोटमार्फत् बिरौटा, लेकसाइडलगायतका हाइमास्ट र सडक बत्ती बालिएको थियो ।

कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने बत्ती जडान गरिएको प्राधिकरणले जनाएको छ । स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा शहरी सौन्दर्यलाई वृद्धि गरी पोखराको रात्रिकालीन सौन्दर्यता बढाउने बताइएको छ । पोखरा महानगरपालिकाले सडक बत्तीको महसुल तिर्ने व्यवस्था गरेको छ ।

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालितरूपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । जसका लागि २७ फिडर प्यानल जडान गरिनेछ । त्यसमध्ये तीनवटा जडान गरिएको छ । सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ । स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ भने सफ्टवेयरबाटै अँध्यारो हुँदा बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित प्रणाली छ । सफ्टवेरबाट विद्युत्को महसुलको बिलिङ गरिन्छ । बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ ।

प्राधिकरणले उज्यालो शहर अभियानअन्तर्गत पालिकाहरूसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीयस्थलमा स्मार्ट लाइट जडान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?