अभिभावकविहीनलाई आवासीय भवन निर्माण गर्दै खजुरा

हिमालय टाइम्स
Read Time = 3 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा अभिभावकविहीन बालबालिकाका लागि आवासीय भवन बन्ने भएको छ । पालिकाभित्रका अभिभावकविहीन बालबालिकाको संरक्षणका लागि आवासीय भवन निर्माण गर्न लागिएको हो । गाउँपालिकाले निर्माण गर्ने आवासीय भवनको शिलान्यास भएको छ । वडा नम्बर २ को ‘ए’ गाउँस्थित गौरीनगरमा आवासीय भवन बन्न लागेको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा भवन निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

भवन शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले समयमै भवन निर्माणको काम सक्न निर्माण कम्पनीलाई आग्रह गर्नुभएको छ । ‘गाउँपालिकाभित्रका सबै योजनाका काम समयभित्रै सक्ने निर्माण व्यवसायीलाई सम्मान र पुरस्कृत गरिन्छ,’ उहाँले भन्नुभयो, ‘समयमै काम नसक्नेलाई समय थपिँदैन । त्यसैले यहाँको भवन पनि समयमै सम्पन्न हुन्छ भन्ने मलाई लाग्छ ।’

गाउँपालिकाले अभिभावकविहीन बालबालिकाको संरक्षणका लागि बजेट छुट्याएको अध्यक्ष विकले बताउनुभयो । ‘पालिकाभित्र रहेका बाबु, आमा नभएका बालबालिकालाई पालिकाले नै संरक्षण गर्ने र पढाउने नीति अघि सारेको छ,’ उहाँ भन्नुहुन्छ । अभिभावकविहीन बालबालिकाको यहाँ आवासीय पढाइ हुन्छ ।

पालिकाभित्रका अभिभावकविहीन बालबालिकालाई गाउँपालिकाले पाल्ने र पढाउने भएपछि १८ जना बालबालिका सम्पर्कमा आइसकेको गाउँपालिका उपाध्यक्ष मल्लले जानकारी दिनुभयो । पालिकाभित्र ५० जनाजति बालबालिका अभिभावकविहीन भएका हुनसक्ने आँकलन गरिएको छ । ‘टुहुराको अभिभावक बन्ने प्रयास खजुरा गाउँपालिकाले गरेको हो,’ उपाध्यक्ष मल्लले भन्नुभयो, ‘बुबाआमा नभएका बालबालिकालाई पालिकाले संरक्षण गरेर पढाइदिनका लागि बजेट छुट्याइएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?