उद्घाटन खेलमा धरान विजयी

हिमालय टाइम्स
Read Time = 5 mins

पोखरा । धरान फुटबल क्लब पोखरामा सुरु भएको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । ‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरका रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ सहारा क्लबको आयोजनामा सुरु भएको २२औं संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारालाई १-० गोल अन्तरले निरास बनाउँदै धरानले क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको हो ।

खेलको पहिलो हाफको पाँचौं मिनेटमा धरानका प्रकाश बुढाथोकीले गरेको एकमात्र गोल टोलीको जित निकाल्न पर्याप्त भयो । सहाराका भागवत चौधरीले डिबक्सबाहिर फाउल गरेपछि धरानले फ्रिकिकको अवसर प्राप्त गरेको थियो । प्राप्त मौकालाई बुढाथोकीले सदुपयोग गरी खेलमा अग्रता बनाउनुभएको हो ।

खेलमा निर्णायक गोलकर्ता बुढाथोकी खेलमा ‘म्यान अफ दि म्याच’ समेत घोषित हुनुभयो । पहिलो हाफमा एक गोलले पछि परेको सहारा खेलमा फर्कन अन्तिमसम्म प्रयास गरे पनि सफल हुन नसक्दा पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगितामा साविक विजेता एपीएफ फुटबल क्लबसहित १० टोलीको सहभागिता छ । प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता छ ।

प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले छ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने सहाराका महासचिव रामजीप्रसाद अधिकारीले बताउनुभयो । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा उत्कृष्ट डिफेण्डर, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकले जनही २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ र हरेक खेलको ‘म्यान अफ द म्याच’ले आठ हजार पुरस्कार प्राप्त गर्ने महासचिव अधिकारीले बताउनुभयो ।

प्रतियोगितामा बचत रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ । हाल तेस्रो ब्याचको सो एकेडेमीमा १० जिल्लाका १३ जना बालकले आवासीयरूपमा फुटबल खेल्दै शिक्षा प्राप्त गरिरहेका छन् । प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो ।

अनन्त सम्मानित
प्रतियोगिताको उद्घाटन समारोहमा सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कारबाट नेपाली राष्ट्रिय फुटबल टोलीका सेन्टर डिफेण्डर अनन्त तामाङलाई ५० हजार पाँच नगद रुपैयाँसहित सम्मान गरिएको छ । पोखरा महानगर प्रमुख आचार्य, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङलगायतले तामाङलाई सम्मान गर्नुभयो ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी भएर देशका लागि उपाधिसहित राम्रो खेल प्रदर्शन गरेका आधारमा तामाङलाई पुरस्कृत गरिएको सहाराले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?