‘नभरिएको अञ्जुलि’ कवितासंग्रह र कृतिकार टीका सुदिश निरौला

हिमालय टाइम्स
Read Time = 8 mins

✍️ विमुन्स पौडेल

कवि टीका सुदिश निरौला कृत कवितासंग्रह हातमा पर्नुभन्दा अगावै केही कविताका अंशहरू सुन्ने मौका पाएकी थिएँ । एक दुई श्लोक कविता सुन्दैमा म आतुर थिएँ बाँकी भागहरू छिटोभन्दा छिटो पढ्नका लागि तर अझै पुस्तक विमोचन भएको थिएन र मेरो हातमा पुस्तका परेको थिएन । जब लोकार्पणको मिति तोकियो, मैले सबै काम छोडेर अफिस छुट्टी लिएर पनि यो विमोचन कार्यक्रममा सहभागी बन्न कोसिस गरेँ । किनकि पुस्तक प्रेसमा जानु अगावै वाचन गरिएका केही श्लोकले मलाई भित्रसम्म छोएका थिए । टीका सुदिश निरौला एक परिचित नाम हो । उहाँका नाटक मञ्चन तथा गीतहरूमा स्थापित नाम थियो । उहाँद्वारा रचित गीत सुनेर आँखाबाट आँसु थाम्न सकिन भन्नु हुन्छ स्वयम गायिका ।

माता जयकुमारी बराल र पिता रामकृष्ण बारालकी पुत्रीको रूपमा आसामको फाटासिमला गाउँमा २०२० माघ १२ गते जन्मिनु भएकी टीका सुदिश निरौलाज्यूको आधिकारिक नाम टेकमाया बराल हो । विराटनगर महानगरपालिका वडा नं १२ मोरङ स्थायी ठेगाना भए तापनि उहाँले बुढानीलकण्ठ, काठमाडौंमा बसोवास गरेको २० वर्ष बितिसकेको छ ।

नभरिएको अञ्जुलि जन्मिनुको पृष्ठभूमि :
शिक्षित परिवार, पतिपत्नी दुवै सरकारी निकायमा सेवारत र दुई छोराहरूका आभिभावक त्यसमा पनि लगनशील होनहार छोराहरू । जीवनमा भागवानबाट भरपुर खुशी पाएजस्तै थियो जीवन । सानै उमेरमा छोरा सुदिशको तर्फबाट वैदेशिक भ्रमण तथा छोराको तिक्ष्ण बुद्धिको सम्मानमा उभिन पाएकोमा गर्व थियो तर हुने हुनामी कसले छेक्न सकेको छ र ? लेखेको केही गरी टर्दैन भने जस्तै आँधी बेरी आयो कवि निरौलाको जीवनमा । मोटरसाइकल दुर्घटनामा यति होनहार छोराको जीवनको इहलीला अब कहिल्यै अगाडि बढ्न नसक्ने गरी रोकियो र पृथ्वीमा विलीन हुन पुग्यो । जुन घटना मात्र एक परिवारको लागि अपूरणीय क्षति थिएन सुदिश एक होनहार सानै उमेरमा कैयौँ ज्ञानले धेरैलाई चकित पारेर देशमा आफ्नो क्षेत्रमा योगदान गरेका थिए ।

छोराको अवसानको घाउ पुर्ने मलम खोज्दाखोज्दै यसभन्दा अगाडि नाटकहरूमा कलाकारको भूमिका निभाएकी टीकाज्यू विरह भरिएका शब्दमाला गाँस्ने प्रयास भनौँ या स्वतः मनमा जन्मिएका भाव बटुल्ने काममा लाग्नुभयो । यसरी आफ्नो कलिलो छोराको वियोगमा जन्मिएको हो ‘नभरिएको अञ्जुलि’ ।

जापानमा छात्रवृत्ति पाई विद्यावारिधिका लागि जाने तयारी गर्दैगर्दा उनी यात्रा गर्ने दिनसम्म पुग्न पाएनन् र उनको जीवनको अध्याय यहीँ नै रोकिन पुग्यो । जो कोही सुन्नेलाई र चिन्नेलाई पनि सुदिश निरौला अब भेटिने छैनन् भन्ने दुःखद खबर सुन्न र स्वीकार गर्न सक्ने थिएनन् भने जन्म दिने आमा बाबाका लागि यो स्वीकार गर्न कसरी सम्भव थियो र ? मान्छेका स्मरणमा पोतिएका कतिपय घटना समयको मलमले पुर्दै जान्छ तर यो घाउका लागि मलम बन्न सकेन समयको अन्तरलमा पनि । आखिर कति दिन ? यो घाउलाई बिर्सिए झैँ गर्नुथियो र अगाडिका क्रियाकलापलाई समात्नु थियो ।

यो घाउ पुर्ने मलम खोज्दा खोज्दै यसभन्दा अगाडि नाटकहरूमा कलाकारको भूमिका निभाएकी टीकाज्यू विरह भरिएका शब्दमाला गाँस्ने प्रयास भनौँ या स्वतः मनमा जन्मिएका भाव बटुल्ने काममा लाग्नुभयो । यसरी आफ्नो कलिलो उमेरको एक होनहार छोराको वियोगमा जन्मिएको सुदिशकै सम्झना हो ‘नभरिएको अञ्जुलि’ । जम्मा ८४ कविताहरू ३१ छन्दमा सजिएका छन् । यसबाट धेरै जसो कविता पुत्रवियोगका कारण करुण रसमै छन् र यी करुण रसका कविता पढ्दा साँच्चै स्वयम् वियोगमा परेजस्तै अनुभूति हुन्छ । राष्ट्रवन्दना शीर्षकको पहिलो कविता पञ्चचामर छन्दमा सुरु गरेर काव्य उत्सव शीर्षकको ८४औं नम्बरको वसन्ततिलका छन्दमा समापन भएको छ ।

यस कृतिको लोकार्पण समारोह महिला आयोगको सभाहल काठमाडौंमा सम्पन्न भएको थियो । जुन कार्यक्रमको सभापतित्व नै स्वयम् वरिष्ठ कवि रमेश खकुरेलज्यूले गर्नुभएको थियो र समीक्षक तथा विशिष्ठ अतिथिको रूपमा स्वयम् महाकवि चन्द्रप्रसाद न्यौपाने रहनुभएको थियो । उहाँहरू दुवै यस लोकार्पण समारोहका शोभा तथा गौरवका पात्र हुनुहुन्छ । सयौँ श्रष्टाको उपस्थिति कार्यक्रममा रहेको थियो । अत्यन्त भव्यताका साथ सम्पन्न भएको यो कार्यक्रमलाई कवि नगाधिराजको रूपमा चिनिनु हुने पर्वतराज घिमिरेज्यूले सम्बोधन गर्नुभएको थियो भने कार्यक्रममा सहभागी सम्पूर्णलाई विमुन्स पौडेलले स्वागत गर्नुभएको थियो ।

लोकार्पित कृतिबाट अत्यन्त सुमधुर स्वर रहने कविज्यूहरूबाट वाचनसमेत गरिएको उक्त कार्यक्रममा कवि एकेएन गोगनेज्यूले भाषिक टिप्पणी तथा भावका पक्षका बारेमा चर्चा गर्नुभएको थियो । पुस्तक प्रकाशनमा अहम् भूमिका निर्वाह गर्ने गौरी पब्लिकेशनका प्रोप्राइटर दामोदर ढकाल ‘दीपक’ ले कार्यक्रमभरि रही भिडियो रिकर्डिङमा साथ दिनुभएको थियो ।

यसरी यस कृतिभित्र जुन कविता चुने पनि उत्तिकै मन छुने छन् । जीवन र जगत्का वास्तविकता र समाजिक परिवेशका यथार्थ बोकेका कविताहरू नपढी र पढेर मन नछोई रहने छैनन् । कवि टीका सुदिश निरौलालाई हार्दिक मङ्गलमय शुभकामना छ । यसरी अल्पकालमा धेरै योगदान गरेका र सबैको मनमा अटाएका सुदिश निरौलाको आत्माको चिरशान्तिको समेत कामना गर्दछु । यो ‘नभरिएको अञ्जुलि’ स्वयम् सुदिश निरौला हुन् भन्ने मलाई लाग्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?