शीतलहरले जनजीवन कष्टकर

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

राँझा । दुई दिनदेखि जारी शीतलहर र हुस्सुका कारण बाँकेको जनजीवन कष्टकर हुन पुगेको छ । बिहान र साँझ शीतलहरसँगै बाक्लो हुस्सु लाग्ने गरेका कारण नेपालगञ्जको तापक्रम घट्दै गएको छ ।

चिसोले गर्दा दैनिक ज्यालादारी गरेर खानेलाई समस्या भएको छ । बिहान विद्यालय तथा कलेज जाने विद्यार्थी पनि मर्कामा परेका छन् ।

नेपालगञ्जमा आज बिहानको न्यूनतम तापक्रम नौ देखि १० डिग्री सेल्सियस रहेको राँझास्थित जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका इञ्चार्ज पलबहादुर विकले जानकारी दिनुभयो । शीतलहर र हुस्सुका कारण चिसो धेरै बढेपछि नेपालगञ्जका प्रमुख चोक बजारक्षेत्रमा चहलपहल घटेको छ ।

शीतलहर र चिसोबाट सबैभन्दा बढी रिक्सा चालक, ठेला चालक र मजदुरलाई समस्या हुनाका साथै बालबालिका र ज्येष्ठ नागरिकलाई पनि असर पारेको छ । चिसो बढ्दै गएकाले स्थानीय बासिन्दाले उपमहानगरपालिकासँग टोल-टोलमा दाउरा खसाल्न आग्रह गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले टोल-टोलमा दाउरा वितरण गरेर आगो बाल्ने व्यवस्था गर्ने तयारी गरेको त्यहाँका प्रवक्ता प्रमोद रिजालले जानकारी दिनुभयो ।

केही दिनयता चिसो बढ्दै गएका कारण नेपालगञ्जका अस्पतालमा चिसोका बिरामी पुग्ने क्रम फेरि बढेको जनाइएको छ । मेडिकल कलेजको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा एक सातायता निमोनिया, ‘कोल्ड डायरिया’ रुघाखोकी लागेको बालबालिका र ज्येष्ठ नागरिक आउने क्रम बढेको उक्त अस्पतालका निर्देशक डा एम किदवाइले बताउनुभयो । उहाँले चिसो बढेसँगै बिरामी पनि अस्पतालमा आउने क्रम बढेकाले चिसोबाट जोगिने उपाय अपनाउन सबैसँग आग्रह गर्नुभयो । भेरी अस्पतालमा पनि चिसोका बिरामी आउने क्रम दिनदिनै बढ्दै गएको त्यहाँका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले बताउनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?