अधिकारीचौरका कृषकले भित्त्र्याउँछन् वार्षिक ५० लाख

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 10 mins

बागलुङ । अधिकारीचौरगाउँ अर्थात ‘तरकारी गाउँ’ । गाउँ भरी प्लास्टिकका टनेल । टनेल भित्र लटरम्म फलेका गोलभेडा, फक्रिएका बन्दा र काउली । एक दशक अगाडिसम्म गहुँ, जौँ, धान र मकै फल्ने अधिकारीचौरका खेतीयोग्य जमिनमा अहिले तरकारी खेती भइरहेका छन् । अहिले ति बारीहरुमा सेताम्मे प्लास्टिका टनेल छन् । पहिले गहुँ, मकै उत्पादन गरे परिवार पाल्न गाह्रो हुने किसानलाई अहिले लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

ढोरपाटन नगरपालिका–५ मा पर्ने अधिकारीचौर र नाथुरी गाउँका अधिकांश नागरिक तरकारी खेतीमा आवद्ध छन् । वि.सं. २०७५ सालदेखि गाउँलेले सुरु गरेको व्यवसायिक तरकारी खेतीले अहिले ठूलो रुप लिएको छ । कृषकहरुले तरकारी खेतीलाई विस्तार गरेपछि गाउँका बाँझो जमिन पनि प्रयोगमा आएका छन् । युवाले रोजगार पाएका छन् । गाउँमा दुई सय २० घर परिवार छन् । उनीहरु सबै तरकारी खेतीमै आवद्ध छन् । यहाँ प्लास्टिक टनेल नहालेको कुनै परिवार छैन । बुर्तिबाङ बजार नजिकै रहेको अधिकारीचौर तथा नाथुरी गाउँका अधिकांश नागरिक तरकारी खेती गर्दै आएका छन् ।

बजारीकरणको समस्या नभएको हुँदा यहाँका कृषकले वार्षिक न्यूनतम एक लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको स्थानीय कृष्णलाल कँडेलले बताउनुभयो । कँडेलले गाउँका स्थानीयमा उद्यम गर्नु पर्छ भन्ने सोंचको विकास भएपछि अधिकारीचौर र नाथुरीगाउँ ‘तरकारी गाउँ’का रुपमा विकास भएको बताउनुभयो । पछिल्लो समय यहाँ तरकारी खेती फस्टाउँदै गएपछि गाउँलेनै यस तर्फ आकर्षित भएको उहाँ बताउनुहुन्छ ।

“यो गाउँका मान्छेहरुलाई पहिले बारीमा उत्पादन भएको धान, मकै र गहुँले खान पुग्दैनथ्यो, अहिले हेर्नुहुन्छ भने यहाँका कोही पनि नागरिकलाई खोजेर खानु पर्ने अवस्था छैन, सबैको बारीमा तरकारी फलेको छ, पैसा चाहिए एक ढोका तरकारी बजारमा लगेर बेचे भइहाल्छ, केही होलान् गाउँमा तरकारी खेती नगरेका तिनीहरु पनि तरकारी खेतीमा जोडिँदैछन्,” कँडेलले भन्नुभयो, “अहिले यो गाउँमा टनेल नबनाएको घरनै छैन, तरकारी खेतीले दैनिकी पनि फेरिएको छ ।”

व्यवसायिक तरकारी खेतीले उनीहरुको जीवनशैलीनै बदलिदिएको कँडेलको भनाई छ । उहाँले आफूहरुले उत्पादन गरेको तरकारीले पनि राम्रो बजार पाएको भन्दै कृषकहरु थप उत्साहित भएर लागेको बताउनुभयो । तरकारी खेती गर्न कृषि ज्ञान केन्द्रले पनि राम्रो सहयोग गर्दै आएको उहाँ बताउनुहुन्छ । गाउँमा खाली जग्गामा पनि विस्तारै तरकारी खेती हुन थालेको कँडेलको भनाई छ ।

“विगतमा यहाँका जनताको अवस्था कस्तो थियो, अहिले कस्तो भयो हामी चकित पर्छौँ, लगनशीलता र परिश्रमले जीवन फेरिदो रहेछ, पहिले धेरै जसोले मजुदरी गरेरै जीविकोपार्जन गर्नु पथ्र्यो, अहिले आफ्नै बारीमा पैसा फलेको छ” उहाँले भन्नुभयो, “बजारको समस्या छैन, गाउँमै मोटरबाटो आएको छ, त्यसले गर्दा व्यापारीहरु बारीमै तरकारी खरिद गर्न आउँछन् ।”

स्थानीय जनकराज पाण्डेले तरकारी खेतीबाट वार्षिक तीन लाख बढी आम्दानी गर्ने गरेको बताउनुभयो । आफ्नो बारीमा ११ वटा अस्थायी एउटा स्थायी टनेल निर्माण गरेर तरकारी खेती गर्दै आएको पाण्डेलको भनाई छ । उहाँले कृषि ज्ञान केन्द्र बागलुङले तीन लाख सहयोग गरेको भन्दै त्यसबाट तरकारी खेती विस्तारमा ठूलो राहत मिलेको बताउनुहुन्छ ।

पाण्डे भन्नुहुन्छ, “मेरो तरकारी फर्म केही लेकमा पर्छ, टनेलमा खेती गर्दा राम्रै उत्पादन हुँदो रहेछ, मैले बाह्र वटा टनेलमा तरकारी खेती गरेको छु, वार्षिक तीन लाख आम्दानी हुने गरेको छ, गाउँमा अरु किसानहरुले पनि राम्रो आम्दानी गर्नु भएको छ, पहिले यस्तो तरकारी खेती गर्ने चलन थिएन, मोटरबाटो आएपछि मात्रै यसरी व्यवसायिक रुपमा खेती हुन थालेको हो ।”

कृषकले उत्पादन गरेको तरकारीले उचित मूल्य पाउन नसकेको पाण्डेले गुनासो गर्नुभयो । उहाँले बजारको समस्या रहेको हुँदा व्यापारीले भनेकै मूल्यमा विक्री गर्नु पर्ने अवस्था रहेको बताउनुभयो । पाण्डेले हिउँदको समयमा तरकारी बजार पु¥याउन सहज भए पनि बर्खामा ठूलो समस्या पर्ने गरेको बताउनुहुन्छ ।

“यहाँ उत्पादन भएको तरकारी सबै बुर्तिबाङ बजारमा पु-याउँछौँ, बजारमा भारतबाट आएका तरकारीले गर्दा हाम्ले उत्पादन गरेको तरकारी कम मूल्यमा विक्री गर्नु पर्ने अवस्था छ, व्यापारीहरुले भनेको मूल्यमा दिनु पर्ने अवस्था छ,” उहाँले भन्नुभयो, “खोलामा पुल छैन, बर्खाको समयमा ढोकोमै बोकेर बजार पु¥याउनु पर्ने अवस्था छ, असार लाग्यो भने बाटो बन्द हुन्छ, असोज कार्तिकसम्म बोकेरै बजार पु-याउनु पर्छ, तरकारीको ठूलो सिजन पनि त्यही हो ।”

स्थानीय शालिकराम कँडेलले तरकारी खेती गरेपछि आर्थिक समस्या भोग्न नपरेको बताउनुभयो । तरकारी खेतीबाट परिवार चलाउन सहज भएको बताउनुभयो । उहाँले कृषि ज्ञान केन्द्रबाट चार लाख अनुदान प्राप्त भएको भन्दै त्यसबाट टेनल व्यवस्थापन गरि थप खेती विस्तार गरेको बताउनुभयो । ज्ञान केन्द्रले सहयोग गरे पनि ढोरपाटन नगरपालिकाबाट अहिलेसम्म सहयोग प्राप्त नएको उहाँको भनाई छ ।
कँडेल भन्नुहुन्छ, “सिंगो गाउँनै तरकारी खेतीमा लागेको छ, तर हाम्लाई नजिकको सरकार नगरपालिकाले सहयोग गरेको छैन, किसानहरुका थुप्रै समस्याहरु छन्, केही सहयोगको अपेक्षा त हुँदो रहेछ तर भएन, तरकारी खेतीले सानो सानो रकम कसैलाई माग्न परेको छैन, परिवार सजिलैसँग चलाउन सकिएको छ ।”

अधिकारीचौर र नाथुरी गाउँ तरकारी खेतीका लागि उर्वर भूमि रहेको हुँदा कृषकहरु पनि सक्रिय भएर लागेका छन् । गाउँका सबै स्थानीय तरकारी खेतीमा आवद्ध हुँदा वार्षिक गाउँमा पचास लाख बढी भित्रिने गरेको छ । कृषकलाई समय-समयमा परामर्श, तालिम तथा आवश्यक अनुदानसमेत दिँदै आएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो ।

उहाँले यहाँका कृषकले निकै मेहनतका साथ तरकारी खेती गरेको बताउनुभयो । यहाँको माटो र वातावरण तरकारी खेती सुहाउँदो भएको हुँदा उत्पादन पनि राम्रो हुने गरेको भट्टराई बताउनुहुन्छ । कृषि ज्ञान केन्द्रले यहाँ तीन सयभन्दा बढी प्लास्टिक टनेल निर्माण गरि दिएको उहाँको भनाई छ ।

“अधिकारीचौरका किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण प्रयोजना अन्तरगत व्यवसायिक कृषि उत्पादन केन्द्र तरकारी ब्लकबाट दुई वर्षमा पचास लाखको सहयोग गरि सकेका छौँ, यहाँका धेरै किसानहरु तरकारी खेतीमा आवद्ध हुनुहुन्छ” भट्टराईले भन्नुभयो, “उहाँहरु निकै मेहनतका साथ लाग्नु भएको छ, ज्ञान केन्द्रको सहयोगले उहाँहरुलाई ठूलो राहत पुगेको छ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?