चित्तवृत्ति अनुसारै हुन्छन् क्रियाकलाप

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 18 mins

गीतामा श्रीकृष्ण पटकपटक ‘योगक्षेमो वहाम्यऽहम्’ भन्छन् । योग, क्षेम, वहामि, अहम् चारवटा शब्द एउटा वाक्यमा परिणत भएर त्यो वाक्य बनेको देखिन्छ । योगको हामीले जानेको अर्थ जोड्नु भए पनि यहां योगको अर्थ हो योग्य, कुशल उत्तमोत्तम । प्राप्त वस्तुलाई उत्तम प्रकारले म रक्षा गर्छु, पालन गर्छु धारण गर्छु भन्ने किसिमका प्रसंगानुसारका अर्थहरू निक्लन्छन् । योगश्चित्तवृत्ति निरोधः भनियोस् या योगश्चित्तवृत्तिप्रवृत्तिः भनियोस् । फरक पर्दैन किनभने योगः कर्मसु कौशलम् पनि त भनिएको छ नि । कृष्ण त्यो बेलाको युगपुरुष थिए । युगका आवश्यक्ता र चाहनाको आपूर्ति गर्नसक्ने क्षमता भएका व्यक्तिलाई युगपुरुष भनिन्छ ।

यसरी हेर्दा यो युग जुन युगमा हामी बाँचिरहेका छौं यो युगका युगचिन्तक पनि तीन जना छन् । पहिला हुन् फ्रायड जसले हाम्रा मनोधरातलमा हुने गतिविधिलाई खास कुनै विधिका माध्यमले बुझाउने प्रयत्न गरे । विशेष गरी त्यो शक्तिको खोज गरे जुन हामी जन्मदा नै हामीसँग आएको हुन्छ । यो विश्वमा त्यसलाई कसैले दमन गरेर मानव ऊर्जा पाइन्छ भने । कसैले त्यसको पशुबत् उपभोगमा नै हाम्रो मन प्रसन्न भएर ऊर्जा प्रकट गर्नसक्षम हुन्छ भने । जे होस् ‘धर्माथकाममोक्षाणाम्’ भनेर चार पुरुषार्थका रूपमा काम हेय होइन पूज्य भोग्य र वरेण्य छ भनेर उद्घोष गरे । यसैलाई इड, इगो, सुपर इगो (अव्यक्तमन, अर्धव्यक्तमन र पूर्णव्यक्तत या सचेत मन) भनेर तिनले व्याख्या गरे ।

यता कामलाई दमन गर्न लाग्दा विश्वामित्र र मेनकाबाट शकुन्तला जन्मेका घटना, महादेव मोहिनीका पछि उन्मत्त भएर कुद्दा सुन, हीरा मणि, माण्क्यिादिका साथै फलाम, पित्तल आदि बनेका मिथकीयाख्यान प्रशस्त बने । मान्छेले मनलाई पूर्वमा मूढावस्था, क्षिप्तावस्था, विक्षिप्तावस्था, एकाग्रावस्था र निरुद्धावस्था समेत गरी पाँच प्रकारमा राखेर अध्ययन गरेको देखिन्छ । मानव शरीर त्रिगुणी छ । सत्व, रज्, तमस् नामका तीनवटा गुणले भरिपूर्ण हुन्छ प्राणीको शरीर ।

नेपालको राजनीति, राज्यव्यवस्था, शिक्षा, स्वास्थ्यका सम्बन्धमा योगशास्त्रका लक्षणअनुसार कुरा गर्ने हो भने अलिकति घुमाउरो पारामा गर्नुपर्ने हुन्छ किनभने राजनीति र राज्यव्यवस्था भनेको प्रवृत्ति मार्गका कुरा हुन् । यसो भएको हुँदा यसमा तमस् र रजस्को प्रधानता हुन्छ ।

‘त्रैगुण्याविषया वेदा निस्त्रैगुण्यो भवार्जुन’ विषयहरू सबै त्रिगुणयुक्त छन् तिमी त्रिगुणविहीन बन हे अर्जुन ! सत्वगुणले सत्य, आनन्द, साधना, श्रम, परोपकार, निर्लाेभजस्ता प्रवृत्तिको विकास गराउँछ मान्छेमा । रजस्ले काम, भोग, नवसृजन आदिमा प्रवृत्त गराउँछ । तमस्ले अल्छी, निद्रा, रिस, क्रोध, इष्र्या, आक्रमण जस्ता अकर्तव्यतिर प्रवृत्त गराउँछ । यी गुणमध्ये कुनै दुई गुणविना केही गराउँन सक्दैनन् । मूढावस्थामा तम प्रधान हुन्छ । सत्व र रज दबिएर रहेका हुन्छन् । यसो भएको हुनाले यस अवस्थाको मान्छे कामी, क्रोधी, लोभी र मोहयुक्त हुन्छ । यस प्रकारको चित्तका कारणले मान्छेको प्रवृत्ति अज्ञान, अधर्म, राग र अनैश्वर्यतिर लाग्छ । यस अवस्थाको मान्छे नीच गनिन्छ ।
यो अवस्था भनेको पशुका मनको अवस्था हो । काम र भोक मात्र जान्ने अवस्था हो यो । अधिकांश मान्छेले काम र भोकमात्रै बुझेका हुन्छन् पनि । कुनै कारणले यो अवस्थाको मान्छे राम्रो ठाउँमा पुगो आर्थिक प्रगति भयो भने पनि यसले अन्ततः सामाजिक अप्रतिष्ठा र पारिवारिक अपहेलना पनि व्यहोर्नै पर्छ । अहिलेको नेपालका सांसद, मन्त्री, सचिव, प्रधानमन्त्री, प्रहरीप्रमुख, सेनाप्रमुख आदिको अवस्था यस्तै छ कि छैन ? कुनै पनि अड्डा प्रमुख यस्तै छन्/देखिन्छन् ।

नेपालको राजनीति, राज्यव्यवस्था, शिक्षा, स्वास्थ्यका सम्बन्धमा योगशास्त्रका लक्षण अनुसार कुरा गर्ने हो भने अलिकति घुमाउरो पारामा गर्नुपर्ने हुन्छ किनभने राजनीति र राज्यव्यवस्था भनेको प्रवृत्ति मार्गका कुरा हुन् । यसो भएको हुँदा यसमा तमस् र रजस्को प्रधानता हुन्छ । जो बल, हिंसा, हत्या र ग्रहण, भोग, दुराचार, अपचाल, भ्रष्टाचार चाहिँ संगतियुक्त जस्ता लाग्दछन् । इतिहासदेखिकै कुरो गर्दा सिंहप्रताप शाह यस्तै राजा थिए । राजकुमार बहादुर शाह भने विपरीत धर्मी थिए । उनैका दूरदृष्टि र कर्तव्यनिष्ठा एवं माटोभक्तिका कारण देश तिष्ठादेखि किल्ला काँगडासम्म फैलेको थियो ।

उनीपछि सबै भुस्याहा घुस्याहा र विलासीमात्रै भए । रणबहादुर शाह त बौलाहा नै थिए । उनले एउटी नारीका निमित्त सम्भव भएका सारा अपकर्म गरेथे । जंगबहादुर बहादुर हुन् तर शक्तिकामी, बहुपत्नीगामी आजका भर्खरै पूर्व भएका र भर्खरै सत्तासीन गृहमन्त्रीद्वय जस्तै । राजेन्द्र र सुरेन्द्रको कुरै नगरौँ यी दुई महाभारतका चित्रवीर्य र विचित्रवीर्यजस्तै नालायक नादान र स्त्रैण थिए । यसै मौकामा जंगबहादुरको उदय भएको थियो त्यो पनि स्त्रैणवृत्तिका कारणले थापा र पाण्डे खलकको द्वन्द्वलाई आधार बनाएर ।

यसपछि त्रिभुवनलाई नेपाली कांग्रेसले राणाका खोपाबाट निकालेर दिल्लीदरबार के देखाएको थियो वार्षिक पचास लाख भारुमा नेहरूलाई नेपाल १०० वर्षका निमित्त बेच्न ठीक पारेपछि बीपी र मातृकाप्रसाद कोइराला गएर राजालाई जयप्रकाशनारायण तथा राममनोहर लोहिया लाएर फकाउने र नेहरूलाई झपार्ने काम गरेर फिर्ता ल्याएका थिए भन्ने कुरो जान्न ‘पण्डितजी को मोहरा हाथ लगा’ भन्ने पुस्तक पढ्नोस् । बीपीमाथि नेहरूले २०१७ सालमा यही रिस साधेका थिए महेन्द्रसँग मिलेर ।

राजाले बेचे पनि हामीले निखनीहाल्यौँ अहिले तत्काल राजासँग द्वन्द्व नगरौँ भन्ने मातृकाप्रसाद कोइराला र जनता हुन् देशका असली मालिक अतः देशको माया नभएको राजाका पक्षमा धेरै काम गर्न सकिँदैन भन्ने बीपीको विचारको द्वन्द्व नै २००९ सालको कांग्रेस विभाजनको भित्री कारण थियो कि ? देशको प्रधानमन्त्री भएको मान्छे पछि अमेरिकामा राजाले राजदूत बनाउँदा राजदूत बन्ने मातृकाप्रसाद कोइराला जस्ता २००७ सालका सर्वोच्च कमाण्डरको मनोविज्ञान बुझिनसक्नाको देखिएको थियो । मातृका र बीपी दुवै सत्ववृत्तिप्रधान राजनेता थिए तर रजोगुणबहुल तमस्समर्थित राजनीतिमा लागेको चित्तवृत्तिका कारणले यो अवस्थामा परिणत गराएको देखिन्छ । संगात्सन्जायते कामः, संगको रंग लाग्छ नै ।

राजा महेन्द्र रजोगुणयुक्त तमोगुणी चित्तवृत्तिका थिए । रजोगुणयुक्त तमस्पर्शितसत्वको छायाँ परेको चित्तवृत्ति थियो सुवर्णजीको । यदि सुवर्ण प्रधानमन्त्री बनेका भए कतै न कतै मेल हुन पनि सक्थ्यो कि ? महेन्द्रको महत्वाकांक्षाले बीपीलाई आफ्ना उन्नतिमा सगरमाथा जस्तै दुर्लङ्घ्य देखेको हुनाले मेल नभएर झनै द्वन्द्व हुन पनि सक्थ्यो किनभने राजा र बीपीका बीचमा सुवर्ण रहने थिए । तमोगुणले क्रोध बढाउँछ र जालझेल कपट हानमार सबै प्रकारलाई क्रियान्वयन गराउँछ । त्यसलाई घिउ या पेट्रोल झैँ प्रज्वलित बनाउन मद्धत गर्दछ रजोगुणले । किशोरी गिरि महेन्द्र र बीपीलाई भिडाउन यस्तै संसाधन बनाइएकी थिइन् ।

डा. गिरि राजातिर लागेर इन्द्रले तिलोत्तमा र उर्वशी पठाए झैँ पठाइएकी थिइन् किशोरी गिरि । जुलिया चाङ ब्लकले डा. आरजु र शेरबहादुर देउवालाई जोडी मिलाएकै बेलातिर भारतीयको खोर्सानीबारी होइन नेपाल । शेरबहादुरजी तपाईं पश्चिमा मुलुकलाई हाम्रो अवस्था बुझाउनुस् भनेर गिरिजाप्रसाद कोइरालाले अराउनु, जुलियाचाङमार्फत वैवाहिक कुरो अघि बढ्नु, देउवा, शिवबहादुर, विपिन कोइराला आदि पञ्चायतमा प्रवेश गर्न हतारिएको चाल पाएपछि कृष्णप्रसाद भट्टराईले गिरिजाप्रसादसँग भिड्ने हनमेर्नु सकिने भयो भनेर गिरिजाप्रसादले देउवालाई भनेकै कुरा अघि सारेर बेलायत पठाए । किसुनजीमा सत्व र रजस्को द्वन्द्वात्मक चित्तवृत्ति थियो ।

त्यसैले उनका बाहृयाचरण र भिœयाचरण मिल्दैनथे । उनी मुखले विनोदप्रिय थिए । आचरणमा गीतापाठी ब्राहृमण तर राजामहाराजाका घनघोर विरोधी । बुद्धिमा, खानपानमा, आमोदप्रमोदमा राजासँग विनम्र देखिने तर भयानक टक्कर लिन्थे किसुनजी । २२ जर्नेल थर्काएका कुरा र अधिराजकुमारलाई श्री ५ दिने कुरामा भूतपूर्व श्री ५ नै राख्न हुकुम हुन्छ भने पनि मलाई आपत्ति छैन सरकार भनेर अन्तरिम प्रधानमन्त्री श्रीकृष्णप्रसाद भट्टराईले भनेको सुनेपछि मदन भण्डारीले राजा आँखा नझिम्क्याऊ भनेका थिए । उत्तमगुणीले जे गर्छ आफैँ गर्छ, मध्यमगुणीले अर्काको देखासिकी गर्छ ।

अधमगुणीले जालझेल अप्राकृतिक गठबन्धन आदि गर्न लाग्छ राजनीतिमा । अधम गुणी भनेको अर्काका भरमा हिँड्ने, अर्काको विचार बोक्ने, सानालाई दबाउने र ठूलाको पाउ मर्दन गर्ने हुन्छ । अहिलेको नेपालको चतुर चलाख खेलाडी ठानिएका प्रचण्ड पनि तमस् प्रधान बनेर सहयोगी गुण रजस् भएको चित्तवृत्तिवान् मान्छे हुन् । अतः यिनीबाट इमान, जमान र अहिंसात्मक आचरण सम्भव छैन । स्थिरता पनि त्यत्तिकै टाढा हुन्छ ।

अहिलेका नेपालका मुख्य राजनीतिक दलका प्रमुख प्रमुख व्यक्तिको चित्तवृत्तिलाई पातन्जल योगशास्त्रका दृष्टिले मूढावस्थाको चित्तवृत्ति भएका भनेर विश्लेषण गर्न सकिन्छ । फ्रायडीय मनोविज्ञानका दृष्टिले पनि यिनीहरू इदको अभिप्रेरणा प्रबल भएका इगोग्रस्त व्यक्ति हुन् भन्न सकिन्छ ।

इष्र्याभाव मनमा रहेको हुन्छ । मौका पर्नासाथ यिनी निर्मम बनेर प्रकट हुन्छन् । यो तमस्को स्वभाव हो भने त्यसलाई प्रज्वलित बनाउने काम रजस् र राजकीय शक्तिले पनि गर्दछ । केपी शर्मा ओली आपराधिक चित्तवृत्तिका छन् । उनी दबाउन पाए भने मरणान्त बनाउँछन् । यसको मतलव के हो भने तमस् गुण प्रधान र रजस् गुण पनि त्यत्तिकै बलियो बनेर आएको छ र सत्वगुण बेस्सरी दबिएको छ । यसैले उनी जसरी वाक्बाण चलाउँछन् त्यसैगरी कर्मबाण पनि चलाउँछन् । लरतराले उनीसँग बदला त के सम्बन्ध राख्न पनि मुस्किल पर्छ नीतिशास्त्र भन्छ-
यौवनंधनसम्पत्तिप्रभुत्वमविवेकिता
एकैकमप्यद्रनार्थाय किमु यत्र चतुष्टयम्
अर्थात् यौवन, धन, अचल या जन सम्पदा, मालिक्याइँ र विवेकशून्य अवस्थाहरूमध्ये कसैमा एउटामात्रै भयो भने पनि अनर्थ काम गर्नका लागि पर्याप्त हुन्छ भने यदि कसैमा यी चारवटै कुरा छन् भने त केही भन्न सकिँदैन त्यसले कतिसम्म गर्छ या गर्ला भन्ने विषयमा । यसरी हेर्दा ओलीमा युवावस्थाबाहेक सबै कुरा छन् । अहिलेका नेपालका मुख्य राजनीतिक दलका प्रमुख प्रमुख व्यक्तिको चित्तवृत्तिलाई पातन्जल योगशास्त्रका दृष्टिले मूढावस्थाको चित्तवृत्ति भएका भनेर विश्लेषण गर्न सकिन्छ । फ्रायडीय मनोविज्ञानका दृष्टिले पनि यिनीहरू इदको अभिप्रेरणा प्रबल भएका इगोग्रस्त व्यक्ति हुन् भन्न सकिन्छ ।

इद र इगोले सधैँ द्वन्द्व, अपराध, भोगको भावना, पाशविक आचरणमा जिउन विवश गर्दछन् । सत्वको उद्रेक या सत्वगुणको उदय नै हुन पाउँदैन । सत्व उध्र्वमुखी हुन्छ, परोपकार, कोमलता, कारुण्य, उद्यमशीलता, निस्कापट्य, दानशीलताजस्ता उदार गुणतिर यसले लैजान्छ । यो ऋषिजीवनको उद्भावक तत्व मानिन्छ । राजा जनक, राजा रघु, राजा पृथु, योगी बुद्ध, महात्मा गान्धी, बीपी कोइराला, मनमोहन अधिकारीजस्ता केहीमा मात्रै उत्तराद्र्धमा तमस् दबिएर सत्व र रजोगुणको प्राबल्य प्रकट भएको देखिन्छ ।

अतः पर्सि बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिले पनि खासै केही उत्साहजनक निर्णय नगर्न सक्छ । किनभने अहिलेको केन्द्रीय समितिमा पनि तमोगुणको चित्तवृत्ति भएका तमस् सेवीको प्रभुता रहेको देख्छु । विभिन्न पुस्तक नपढ्ने, स्वयं पुस्तक नलेख्ने, आफ्ना गोडाले डुलेर जनताको अवस्था नांगा आँखाले अवलोकन नगर्ने मूढधीले कुनै पनि चमत्कार पैदा गर्न सक्दैनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?