साताभर १९ अर्बको सेयर कारोबार

Read Time = 3 mins

काठमाडौं । यस साता सेयर बजार ११४.७५ अंकले बढेको छ । गत साताको अन्तिम कारोबारपछि २०२९.०३ अंकमा बन्द भएको नेप्से यस साता २१४३.९३ अंकमा कायम रहेको छ । नयाँ सरकार गठनसँगै नयाँ अर्थमन्त्री आउनु, बैंकिङ प्रणालीमा तरलता बढ्दै जानु र ब्याजदर घट्ने संकेतले लगानीकर्तामा सकारात्मक मनोबल बढ्दा समग्र बजार बढ्दो क्रममा रहेको छ । साताको पहिलो दिन नेप्से १७.२६ अंकले बढेर चार अर्ब चार करोडको कारोबार भएको थियो भने दोस्रो दिन सोमबार नेप्से १७.५६ अंकले बढेर दुई अर्ब ९६ करोडको सेयर कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार ३.०३ ले घटेर तीन अर्ब ४५ करोड, बुधबार ६४.८७ अंकले बढेर तीन अर्ब ५० करोड र बिहीबार १८.०९ अंकले बढेर पाँच अर्ब चार करोड गरी साताभर कुल ११४.७५ अंकले बढेर १८ अर्ब ९९ करोड सेयर कारोबार भएको थियो । साताका पाँच कारोबार दिनमध्ये एक दिनमात्रै सेयर बजार सामान्य अंकले घटेको हो । यस साता सेन्सेटिभ इण्डेक्स ५.०९ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ५.७७ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.४३ प्रतिशत बढेको छ । यस साता नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

दैनिक औसतमा तीन अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । गत साता दैनिक औसत दुई अर्ब ७५ करोडको सेयर कारोबार भएको थियो । गत साता दुई खर्ब ३४ अर्ब रुपैयाँ बढेर २९ खर्ब ३४ अर्ब रुपैयाँमा कायम रहेको सेयर बजार यस साता बढेर ३१ खर्ब एक अर्ब ४५ करोडमा पुगेको हो । १३ सूचक समूहमध्ये व्यापार सूचकको सर्वाधिक २०.०६ प्रतिशत बढेको छ भने अन्यको सबैभन्दा कम ०.८६ प्रतिशत बढेको छ । व्यापारपछि सर्वाधिक होटल तथा पर्यटनको १४ प्रतिशतले बढेको छ । तेस्रो स्थानमा रहेको लघुवित्तको ११.५ प्रतिशतले बढेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?