लुम्बिनी अल स्टार्स फाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । लुम्बिनी अल स्टार्सले पहिलो संस्करणको नेपाल टि-२० लिगको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै लुम्बिनी उपाधि नजिक पुगेको हो । त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा जितको लागि १४४ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रनमात्रै बनाउन सक्यो ।

जनकपुरका समिउल्लाह शिनवारीले ३१ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४५ रन बनाउनुभयो । यस्तै ओपनर शराफुद्दिन अशरफले १९ बलमा ४ चौका र १ छक्कासहित २४ रन, कप्तान ट्रेभोन ग्रिफिथले १०, दीलिप नाथले १० रन जोड्नुभयो । जनकपुरलाई अन्तिम १२ बलमा जितको लागि ३३ रन चाहिएको थियो । १९ औं ओभरमा जनकपुरले २३ रन जोडेपनि अन्तिम ओभरमा १० रन जोड्न नसक्दा रोकिन पुग्यो । पवन सरार्फ १९ बलमा २ चौका र २ छक्कासहित ३० रनमा अविजित रहनुभयो ।

लुम्बिनीका विपुल शर्माले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिनुभयो । सागर ढकालले ३ ओभरमा २० रन खर्चेर २ तथा दीपेन्द्रसिंह ऐरीले ३ ओभरमा १ मेडनसहित ९ रन खर्चेर २ विकेट हात पार्नुभयो । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो । लुम्बिनीका ईशान पाण्डेले ३९ बलमा ३ चौका र १ छक्कासहित ३८, लाहिरु मिलान्थाले १६, दीपेन्द्रसिंह ऐरी १० रनमा आउट हुनुभयो ।

जनकपुरका सोमपाल कामीले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ तथा अशान प्रियन्जनले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिनुभयो । अब प्रतियोगितामा सोमबार एलिमिनेटर खेलमा विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले मंगलबार दोस्रो क्वालिफायरमा जनकपुरसँग खेल्नेछ । फाइनल बुधबार हुनेछ ।

प्रतियोगिताको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख पाउने आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । तेस्रो हुनले १० लाख र चौंथोले पाँच लाख पाउने क्यानले जनाएको छ । त्यस्तै प्लेयर अफ द सिरिजले पाँच लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले दुई लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले एक लाख ८० हजार पाउने क्यानले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?