आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस, सरकारद्वारा सार्वजनिक बिदा

कृष्ण भुसाल
Read Time = 11 mins

काठमाडौं । आज (बुधबार) ३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । आधुनिक नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । हरेक वर्ष पुस २७ मा उहाँको योगदानको स्मरण गरेर यो दिवस मनाउने गरिन्छ ।

यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकोमा पछिल्लो समय कटौती गरिएकामा पुनः यो वर्षदेखि बिदा दिइएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको हो । विगतका वर्षमा पृथ्वीजयन्ती राष्ट्रिय रूपमा सार्वजनिक बिदा नदिएको भए पनि गोरखालगायत केही स्थानीय तहले सार्वजनिक बिदा दिएका थिए । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको स्मरणमा सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि त्यसको विभिन्न क्षेत्रबाट स्वागत भएको छ ।

पृथ्वीनारायण शाहको दूरदर्शिताको कदरका लागि भए पनि दिवस मनाउनुपर्ने इतिहासविद्हरूको भनाइ रहँदै आएको थियो । पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन र राष्ट्रिय पर्व घोषणा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि माग गर्दै आएको थियो । सत्ता साझेदार दल राप्रपाले पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने अडान राख्दै सरकारमा सामेल हुन यसलाई अनिवार्य शर्त बनाएको थियो ।

दोस्रो जनान्दोलन अगाडिका सरकारले जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुका साथै उक्त दिन सार्वजनिक बिदा दिने गरेकामा विसं २०६२/६३ को राजनीतिक परिवर्तनसँगै त्यो प्रचलनको अन्त्य गरिएको थियो । आन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पृथ्वीजयन्तीमा बिदा कटौतीको निर्णय गरेको थियो ।

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं १७७९ पुस २७ गते गोरखामा जन्मिनुभएका पृथ्वीनारायण शाहले स-साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमासमेत दिने गरिएको छ । उहाँको वि.सं. १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा निधन भएको थियो ।

पृथ्वीनारायण शाह २० वर्षमा गोर्खाका राजा हुनुभएको थियो । शाहले राजगद्दीमा बसेलगत्तै नेपाल एकीकरण अभियानको सुुरुवात गर्नुभएको थियो । विसं १८०१ असोज १५गते नुवाकोटमाथि विजय हासिल गरेर उहाँले नेपाल एकीकरणको अभियान प्रारम्भ गर्नुभएको थियो । त्यसपछि कीर्तिपुर, कान्तिपुर, पाटन, भक्तपुर, मकवानपुर हुँदै उहाँले एकीकरण अभियानलाई पूर्वका चौदण्डी र विजयपुर हुँदै टिष्टासम्म पु¥याउनुभएको थियो । शाहले देशको पश्चिमी क्षेत्रमा पनि एकीकरण प्रयास गर्नुभएको थियो तर त्यो पूर्ण हुन सकेन जे होस् नेपाल एकीकरण महान् अभियान उहाँले सुरुवात गर्नुभएको थियो । यस अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा दलका नेताहरूले शुभकामना व्यक्त गर्नुभएको छ ।

पृथ्वीनारायण शाहका दिव्य उपदेश जुन अहिले पनि उत्तिकै सान्दर्भिक
पृथ्वी नारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यी दिव्य उपदेश पढ्दा उहाँ दूरदर्शी राजा भएको प्रष्ट हुन्छ । विसं. १८३१ (सन् १७७४) मंसिरको मध्यतिर जाडो छल्न नुवाकोट जानुभएका पृथ्वीनारायण शाह नुवाकोट दरबारमा बिमारी पर्नुभयो । स्वास्थ्य झनझन् खराब हुँदै गएपछि उहाँकै इच्छाअनुसार त्यहाँको देवीघाट लगियो । नौ दिनसम्म घाटमै रही माघ १ गते ५२ वर्षको उमेरमा उहाँको निधन भयो । घाटमै राखिएको बेला उहाँले नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा उपदेशहरू दिनुभएको थियो, जसलाई दिव्य उपदेश भनिन्छ ।

यस्ता छन् दिव्य उपदेश

  • मुलुकमा अन्याय हुन नदिनु ।
  • सधैँ गुणको होइन नुनको पछि लाग्नु ।
  • सुरक्षा निकाय र जनताप्रति बफादार रहनु ।
  • जनता मोटाउनु भनेको दरबार बलियो हुनु हो ।
  • आफ्नो संस्कृतिको संरक्षण र जगेर्ना गर्नु अत्यावश्यक छ ।
  • सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नु ।
  • नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु ।
  • काठमाडौं निकै संवेदनशील क्षेत्र हो, सिमानामा सुरक्षा व्यवस्था कडा बनाउनु ।
  • अदालतको पैसा दरबारमा नलैजानु र त्यसको सदुपयोग, जोगी, संन्यासीलाई भोजन गराउनु ।
  • खानी भएको ठाउँमा गाउँ भए पनि गाउँलाई अन्यत्र सारेर खानी चलाउनुपर्छ र उब्जनीयोग्य जमिनमा बनेको घर भत्काएर भए पनि त्यहाँ खेतीपाती गर्नुपर्छ ।

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँरहदा पछिल्लो समय विभिन्न टीका–टिप्पणी हुने गरेका छन् । यस्ता टीका-टिप्पणीप्रति विभिन्न भनाइ सार्वजनिक भइरहेको पाइन्छ ।

कसैले माने पनि नमाने पनि पृथ्वीनारायण शाह नेपाल राज्यका एकीकरणकर्ता र राष्ट्रनिर्माता भएको राजनीतिक विश्लेषक तथा अनुसन्धानकर्ता पेशल आचार्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘विगतलाई गाली गरेरभन्दा उसबाट पाठ सिकेर आगतलाई स्वर्णीम बनाउनु नै समाजका अभियन्ता र राजनीतिज्ञको काम हो । जनमानसले त गुणदोषका आधारमा हरेक ऐतिहासिक पात्रको छवि आफ्ना मनमा बनाएको हुन्छ । त्यो बन्न पनि समय लाग्छ र मेटिन पनि समय लाग्छ ।’ पृथ्वीनारायण इतिहास भएको भन्दै ‘इतिहासलाई सम्मान गर्नुपर्छ, पुर्खाको नासो र धरोहरकै रूपमा आज हामीले पाएको देश अझ अघि बढाउनुपर्छ’, उहाँ बताउनुहन्छ  ।

राजनीतिक विश्लेषक प्राडा. सुरेन्द्र केसी पृथ्वीनारायण शाहलाई अमुक धर्म वा प्रणालीभन्दा पनि सबैको साझा धरोहर बनाई अपनाउनु नै साँचो अर्थमा उहाँप्रतिको सद्भाव हुने बताउनुहुन्छ  । ‘उहाँको नाममा व्यापार र वृत्ति चलाउनेले उहाँको उचाइ घटाएका छन्’, उहाँले भन्नुभयो ।

यस्तै, लेखक तथा राजनीतिक विश्लेषक आरसी न्यौपाने आधुनिक राष्ट्र नेपाल निर्माणको अभियानबारे ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट मूल्यांकन गर्दा तत्कालीन वस्तुगत परिस्थितिको टड्कारो आवश्यकता एवं अपरिहार्यताको रूपमा महत्वपूर्ण कदम भनेर बुझ्नु नै युक्तियुक्त र वैज्ञानिक हुने बताउनुहुन्छ ।

विश्व मानचित्रमा नेपालको अस्तित्व र संसारभरि नेपालीहरूको महत्वलाई उच्च सम्मान र सहअस्तित्व कायम गराउने राष्ट्र निर्माता पृथ्वीनारायण शाह हुनुहुन्छ । यदि नेपाल देश नभएको भए हामी अहिले नेपाली पहिचानले परिचित हुन सक्ने थिएनौँ । पृथ्वीनारायणको दिवसका सन्दर्भमा हामीले नेपाल नेपालीको बृहत् हित अनुकूल सोच्ने बानी बसाल्नु नै पृथ्वीनारायणप्रतिको सच्चा श्रद्धाञ्जलि र उहाँलाई हेर्ने दृष्टिकोण र मूल्यांकनको सही आधार हुन सक्छ । यसमा कुन जाति, धर्म र व्यक्तिलाई कति मर्का पर्‍यो त्यो कदापि पहिलो विषय रहन जाँदैन दोस्रो मात्र हुन जान्छ किनभने व्यक्ति वा जाति धर्मभन्दा राष्ट्र जहिल्यै पनि माथि हुन्छ । पृथ्वीनारायण शाहले इतिहासमा व्यक्त गरेको पनि यो नै हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?